‘मलेसिया कहिले जान थाल्छन्, नसोध्नुस्’

काठमाडौं, मंसीर १८-

श्रम मन्त्री गोकर्ण विष्टले स्वदेशको रोजगारी नै वर्तमान सरकारको प्राथमिकता भएको बताएका छन् । उनले यसका लागि स्वदेशमा नै रोजगारीको सम्भावनाको अध्ययन भइरहेको, थप रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भनेर प्रयत्न भइरहेको भन्दै बैदेशिक रोजगारलाई निरुत्साहित गरिनुपर्ने बताए ।

प्रविधि पत्रकार समाजले राजधानीमा आयोजना गरेको सुचना प्रविधि क्षेत्रमा रोजगारीको अवसर कार्यक्रममा बोल्दै मन्त्री विष्टले मलेसियाको नाम नलिइन भने “पत्रकार साथिहरुले फलानो(मलेसिया) देशको रोजगारीमा कहिले देखि नेपाली जान थाल्छन् भनेर सोध्नुहुन्छ तर मेरो आग्रह छ त्यो कुरा नसोध्नुस् । बरु नेपालमा कति नेपाली युवालाई रोजगारी दिने सरकारको कस्तो योजना छ भनेर सोध्नुस्।”

मन्त्री विष्टले बैदेशिक रोजगारले मुलुकमा कहिल्यै विकास नहुने भन्दै स्वदेशमा नै रोजगारी सिर्जना अहिलेको आवश्यकता भएको धारणा राखे । “नेपालमा नै लाखौं व्यक्तिका लागि रोजगारी सिर्जना सम्भव छ” मन्त्री विष्टले भने “आउँदो बर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा रोजगारी सिर्जनाको कार्यक्रम आउँछ ।”

सुचना प्रविधि क्षेत्रमा झण्डै ८५ हजार थप रोजगारी सिर्जना हुन सक्ने यसअघि नै मन्त्रालयद्धारा गठित एक कार्यदलले निश्कर्ष निकालिसकेको छ । मन्त्री विष्टले यस क्षेत्रमा लाखौं व्यक्तिका लागि रोजगारी सिर्जना हुन सक्ने भन्दै सरकारले यसमा पहल गर्ने बताए । काम गर्ने उमेरको जनशक्तिलाई स्वदेशमा नै टिकाउने प्रयास गरिनु पर्ने भन्दै उनले यसमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका हुने धारणा राखे ।

कार्यक्रममा सुचना प्रविधि क्षेत्रका जानकारहरुले नेपालमा सुचना प्रविधिको क्षेत्रमा अन्तराष्ट्रिय क्षेत्रको काम ल्याएर समेत गर्न सकिने पर्याप्त सम्भावना रहेको औंल्याएका थिए । हरेक बर्ष २ हजार ५ सय व्यक्ति सुचना प्रविधिको क्षेत्रमा स्नातक हुने गरेको नेपालमा एक हजारको हाराहारीमा सुचना प्रविधि सम्वन्धि काम गर्ने कम्पनीहरु छन् । यसैगरी ५ हजार व्यक्तिले यस क्षेत्रमा स्वतन्त्र रुपमा काम गरिरहेको अनुमान छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय