जनवरी १ देखि मलेसियामा विदेशी कामदारलाई पनि सोस्कोको सुविधा

क्वालालम्पुर, मंसीर ६-

मलेसियामा कार्यरत आप्रवासी कामदारले पनि आगामी जनवरी १ देखि सोसियल सेक्यूरीटी अर्गनाइजेसन(सोस्को) को सुविधा पाउने भएका छन् । मलेसिया सरकारले आगामी जनवरी १ देखि लागु हुनेगरी आप्रवासी कामदारलाई पनि सोस्को अन्तर्गत उपचार, क्षतिपूर्ति तथा राहत सुविधा उपलव्ध गराउने निर्णय गरेको हो । यसले स्वदेशी र आप्रवासी कामदार दुवैले समान रुपमा उपचार तथा क्षतिपूर्ति पाउने अन्तराष्ट्रिय प्रावधान पुरा हुने मलेसियाको मानव संशाधन मन्त्रालयले जनाएको छ ।

मानव संशाधन मन्त्री एम कुलासेगरनले विज्ञप्ती जारी गर्दै आइएलओको महासन्धि अनुरुप यस्तो व्यवस्था गरिएको जनाएका छन् । मन्त्री परिषदले पारीत गरेको निर्णय अनुसार अव देखि हरेक रोजगारदाताले आफू मातहत काम गर्ने कामदारको उपचारका लागि उनीहरुलाई सोस्कोमा दर्ता गर्नुपर्नेछ र त्यसवापत रोजगारदाताले सो वापतको रकम बुझाउनु पर्नेछ । यो एक प्रकारको बीमा जस्तै हो जसबाट यसरी दर्ता गरिएका कुनै पनि व्यक्ति दुर्घटनामा परेमा उनीहरुको उपचार, अल्पकालिन रुपमा काम गर्न नसक्ने भएमा त्यसवापतको क्षतिपूर्ति तथा पूर्ण रुपमा काम गर्न नसक्ने भएमा अंगभंगको प्रकृति अनुरुप क्षतिपूर्ति उपलव्ध हुनेछ । यसैगरी लामो समय उपचार गर्नुपर्ने भएमा पनि यहि सुविधा अन्तर्गत खर्च प्राप्त हुनेछ ।

यसैगरी पुर्नस्थापना तथा अंगभंग भएर स्वदेश फर्काउनु परेमा वा दुर्घटनामा परेर कसैको मृत्यु भएमा लाश सो मुलुक पठाउन ६ हजार ५ सय रिंगिट सोस्कोले उपलव्ध गराउनेछ । 

मन्त्रालयले मलेसियाका सोस्कोका ५४ वटा शाखा मध्ये जुनसुकै कार्यालयमा गएर पनि आफ्ना कामदार दर्ता र सो वापतको शुलक बुझाउन आग्रह गरेको छ । यसअघि मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले आप्रवासी कामदारलाई पनि स्वदेशी कामदारलाई जस्तै सोस्को अन्तर्गतको सुविधा उपलव्ध गराउन लागिएको बताएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: