खलिफा अस्पताल, वेड नम्वर २२

लक्ष्मण सापकोटा, युएई, मंसिर ४-

युएईको राजधानी आवुधावीस्थीत खलीफा हस्पिटलको वेड नम्वर २२ । सोही बेडमा विगत एक हप्तादेखी एक नेपाली युवा मृत्यु जित्न संघर्ष गर्दैछन् ।

चितवनको रत्ननगर नगरपालिका टाँडीका सुमन परियार विगत साढे २ वर्षयता युएईमा कार्यरत थिए । ज्यानले सकुञ्जेल उनी काममा जोतिएकै थिए । खान मन नलाग्ने र वाकवाकी लाग्ने भएपछि ग्याष्ट्रिकले हुनुपर्छ भन्दै उनी सहँदै गए । तर जव  चारपाँच दिनसम्म लगातर उल्टी भइरह्यो अनी उनका साथिले अस्पताल पुर्याए उनलाई ।

अस्पतालमा सामान्य रगत जाँच्न दिएर फर्किंदा पनि आफूलाई असाध्य रोगले गाँजिसकेको उनलाई लागेको थिएन । तर राती नै अस्पतालले तुरुन्त आउनु भनेर बोलायो । अस्पताल पुग्नासाथ आकस्मीक कक्षमा राखेर उनको उपचार सुरु भयो । अनी मात्र थाहा भयो उनका दुवै मृगौलाले काम गर्न छोडिसकेका थिए ।

यो थाहा पाएपछि छाँगाबाट खसे झैं भयो उनलाई । दुईतीन दिनसम्म त घरमा भन्ने साहस पनि जुटाउन सकेनन् उनले । तर नभनी उपाय पनि त थिएन ।

उमेर भर्खरै २५ बर्ष भयो । केहि महिना अघि छुट्टीमा नेपाल गएर विहे गरे । तर कमाएर परिवारको गुजारा चलाउनु पर्ने दायित्व भएका उनी श्रीमति र आमाबाबुलाई स्वदेशमा छोडेर युएई आइपुगेका हुन् । तर धन कमाउनु त परको कुरा ज्यान पनि अव कसरी बचाउने बन्ने अप्ठ्यारोमा छन् उनी ।

परिवारमा कमाउने उनी एक्ला पात्र हुन् । त्यसैले विरामी भएर सुमन अस्पतालको बेडमा पुगेपछि परिवारको आम्दानीको बाटो बन्द भएको छ । परिवारको गुजारा कसरी चल्छ भन्ने पीर त छँदैछ, उपचार कसरी गर्ने भन्ने समस्या समेत थपिएको छ उनलाई ।

एक हप्तादेखी अस्पतालको शैयामा रहेका सुमनको अहिलेसम्म पाँच पटक डायलासिस भइसकेको छ । यो त बचाईराख्ने उपाय मात्रै हो । मृगौला प्रत्यारोपण नगरी सुख छैन । त्यसैले उनी नेपाल फर्केर परिवारको निगरानीमा मृगौला प्रत्यारोपण गर्न चाहन्छन् ।

मृगौला त परिवारकै कसैले देला । परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण उपचार खर्च जुटाउनै मुस्किल छ । त्यसैले अस्पतालको शैयाबाटै सुमनले देश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाई सहयोग गरिदिन अपिल गरेका छन् ।

उनलाई सहयोग गर्न चाहनेले चितवनमा सुमनका बाबु शितलबाबु परियारलाई ९८४५४०६३५४ र आमा चन्दा परियारलाई ९८४५५२३३१९ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस् विदेशबाट फर्केकाहरुलाई दिने ऋणको व्यवस्थामा सुधार्नुपर्ने कुरा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय