
अर्जुन काफ्ले-
स्वदेशमा नै नेपाली युवालाई रोजगारीका अवसर बृद्धि गर्न वर्तमान सरकारले केहि कार्यक्रमहरु अगाडी सारेको छ । यसका लागि गएको भदौ २१ गते नेपाल सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदान सम्वन्धित एकिकृत कार्यविधि, २०७५ पारीत गर्यो । सो कार्यविधिले शिक्षित बेरोजगारलाई रोजगारी सिर्जना गर्ने देखि बैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशमा नै रोजगारीमा जुट्ने वातावरण निर्माण गर्न खोजेको देखिन्छ । यो आलेखमा पंक्तिकारले आफूलाई बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि छुट्याइएको ऋण सम्वन्धि कार्यक्रममा केन्द्रीत राख्ने प्रयास गरेको छ ।
पछिल्लो तीन बर्षभित्रमा बैदेशिक रोजगार टुँग्याएर नेपाल फर्केका नेपाली जो स्वदेशमा नै अव केहि गर्छु भनेर आँट्दैछ त्यसलाई १० लाखसम्म ऋण दिने कार्यक्रम ल्याइनु पक्कै पनि सुखद हो । यसले स्वरोजगार हुन चाहने तर व्यवसाय सञ्चालनका लागि पर्याप्त पुँजी नभएका युवालाई पुनः देशमै रोजागारीको अवसर दिएर देशमै टिकाउन मद्धत गर्न सक्छ ।
सुन्दा चिटिक्क परेको यो घोषणालाई लिएर धेरै नेपाली युवाले नेपालमै वसेर केहि गर्न सहज हुने सोचेका छन । बैंकमा आफुले पेश गरेको प्रस्तावनापत्र नै धितोका रुपमा रहने र त्यसैको माध्यमबाट व्यवसाय गर्न सहज हुने धेरै नेपाली युवाको बुझाई छ । यसरी व्यवसाय गरेपछि वा स्वरोजगार भएपछि रोजगारीकै लागि खाडी, मलेसिया लगायतका मुलुकहरुमा जानेको संख्यामा कमी आउने आँकलन सरकारको हुन सक्छ ।
विदेश गएर फर्किएका युवालाई देशमै रोक्न सकिए पनि वैदेशिक रोजगारीका लागि विदेशीने युवाको संख्यामा कमी ल्याउन सकिन्छ यो सत्य हो । किनकी पहिलोपटक विदेश गएको युवा अव देशमै केहि गर्न सकिएला भन्ने सोचले नेपाल आउँछ । पहिलोपटक विदेश पुगेर दैनिक १६ देखि १८ घण्टा खटिंदा पाइने सास्ती र मेहनत नेपालमै गर्दा कसो नेपालमै केहि नहोला भन्ने सोचाइ मनमा उत्पन्न भएको हुन्छ । तर नेपालमै केहि गर्ने उसको उर्जा, उसको शक्ति त्यहि वेला कमजोर हुन्छ जति वेला उ काम नपाएर वा भनेजस्तो कमाई नभएपछि फेरी वैदेशिक रोजगारीकै लागि हानिन्छ ।
एउटा वास्तविकताको कुरा गरौं । विदेशमा गएर कमाउने भनेको थोरैतिनो हो । एउटा परदेशी स्वदेश फर्किंदा उसले आफूले विदेशमा दुःख गरेर कमाएको केहि रकम लगानी गरेर स्वदेशमा नै बस्ने योजना बनाएको हुन्छ । तर नेपालमा आइपुगेपछि वा आउनु अघि नै उसका आवश्यकता फरक हुन्छन् । घर बनाउने, जग्गा किन्ने कामका उसको कमाईको बहुसंख्यक हिस्सा खर्च भइसक्छ । यसले उसँग अन्य विकल्प हुन्न र नचाहँदा नचाहँदै पनि उ विदेशिन बाध्य हुन्छ ।
हरेक नेपालीको सपना विदेशबाट धन कमाएर ल्याउने र त्यहि पैसाले सुखी र खुसी परिवार वनाउँ भन्ने नै हुन्छ । तर त्यो सोचेजस्तो हुन्न जसका कारण बैदेशिक रोजगार नेपालीका लायिग चक्र जस्तै बनिरहेको छ । यो अवस्थामा बैदेशिक रोजगारबाट फर्केका युवालाईउ सरकारले स्वदेशमा नै टिकाउन ल्याएको कार्यक्रम स्वागतयोग्य छ । तर यो जति स्वागतयोग्य छ, यसको प्रभावकारी कार्यान्वयनमा कम चुनौति भनें छैनन् ।
ऋण प्रदान कसरी गर्ने ? यो मुख्य चुनौतिको कुरा हो । सरकारले वैदेशीक रोजगारमा गएर कम्तीमा ६ महिना काम गरेर फर्केको र नेपाल फर्केको तीन बर्ष नकटेका व्यक्तिलाई ऋण दिने भनेको छ । तर भारतको रोजगारीबाट फर्केकाहरुको हकमा भनें केहि बोलिएको छैन । बैदेशिक रोजगार ऐन, २०६४ ले भारतको रोजगारीलाई बैदेशिक रोजगार मान्दैन । तसर्थ भारतमा जतिसुकै बर्ष श्रम गरेर बसेको भएपनि त्यस्ता नेपाली यो सुपिधाबाट वञ्चित हुनेछन् । यसले बैदेशिक रोजगारमा जाने एउठा ठूलो समुहले सरकारले स्वदेशमा नै स्वरोजगार हुन ल्याएको यो कार्यक्रममा सहभागिता जनाउन पाउने छैन ।
त्यो वाहेक विदेशमा सीप सिकेर आएकाहरुलाई उनीहरुकै सीपका आधारमा काम गर्न ऋण दिने भनिएको छ । एउटा उदाहरण यहाँ हेरौ । मलेसियाको एक एयर फिल्टर कम्पनीमा काम गरेर फर्किएका युवालाई फर्निचरको काम आउँछ । उनी रकम अभावकै कारण फेरी विदेशीने तरखरमा छन् । उनलाई काष्ठ उद्योगका लागि पैसा दिने कि विदेशमा सिकेको सीपका आधारमा लगानी गर्ने ? यस्ता प्राविधिक समस्याले पनि नेपाली युवाले सजिलै ऋण नपाउने समस्या छ । अनी यो कार्यक्रम यसअघि ल्याइएको युवा स्वरोजगार कार्यक्रम जस्तै अलपत्रे वा कार्यकर्ता पाल्ने कार्यक्रम हुने खतरा छँदैछ । वास्तविक रुपमा ऋण आवश्यक भएका व्यक्ति पहिचान गरी ऋण दिने व्यावस्था गरिनु आवश्यक छ ।
मलेसियामा धेरै नेपालीको माग हुने क्षेत्र भनेको सेक्युरेटी गार्डको हो । तसर्थ सो काम गरेर फर्केकाहरुले नेपालमा स्वरोजगार हुन के काममा ऋण पाउने ? वा उद्योगमा काम गरेर फर्केकाहरु जसले त्यहाँ गरेको काम अनुरुपको काम नेपालमा नहुन सक्ने सम्भावना धेरै छ । उनीहरुले के काम गर्न ऋण लिने ? त्यसैले कार्यक्रम सफल वनाउन र नेपाली युवालाई नेपालमै स्वरोजगार वनाएर देशमै टिकाउन अहिले देखि नै विशेष ख्याल गर्नुपर्छ ।
बैदेशिक रोजगारबाट फर्केकाहरुले गरेका धेरै काम पछिल्लो समयमा सफल भएका छन् । विशेषगरी विदेश बसाईमा सिक्ने परिश्रमको मूल्य र मेहनतको आवश्यकताले नै त्यो सफलता प्राप्त भएको हो । यो अवस्थामा परियोजना धितोमा राखेर दिइने ऋण ५ वर्षसम्ममा चुक्ता गर्नु पर्ने जुन विशेषता छ त्यो एकदमै सकारात्मक हो । यसले बैदेशिक रोजगारबाट फर्केकाहरुलाई उद्यमी बनाउन थप मद्धत गर्छ । तर यसमा विदेशमा सिकेको ज्ञान सीपका आधारमा व्यवसाय सञ्चालन गर्न ऋण दिने भन्दा पनि उसको भएको व्यावसायीक दक्षताका आधारमा ऋण दिनु मुनासिव हुन्छ ।
(काफ्ले वैदेशिक रोजगारका विषयमा कलम चलाउछन्)
यो पनि पढ्नुहोस् यसो भएमा मात्र मलेसियासँगको श्रम समझदारी नेपाली श्रमिकलाई फाइदाजनक