नेपाल फर्काउने नाममा दलालले खाइदिए २ लाख ४२ हजार

काठमाडौं, कात्तिक ३०-

मलेसियामा अवैधानिक रुपमा बसेको अभियोगमा पक्राउ परेका एक नेपालीलाई नेपाल फर्काइदिने भन्दै एक दलालले २ लाख ४२ हजार खाइदिएका छन् । प्रहरीले पक्रिएका धनुषाको ढल्केवरका मन्सीकुमार महतोलाई जेलबाट छुटाएर नेपाल पठाइदिने भन्दै सो दलालले महतोको परिवारबाट सो रकम उठाएका हुन् । रकम खाने दलाल को हुन् भन्ने महतो परिवारलाई थाहा छैन ।

डेढ बर्षअघि रोजगारीका लागि मलेसिया पुगेका महतो एक फर्निचर कारखानामा काम गर्दथे । उनले नेपालमा भनिएअनुसार काम तलव नपाएको भन्दै स्वदेश फर्किन खोज्दा कम्पनीले ५ हजार रिंगिट क्षतिपूर्ति तिरेर मात्र फर्किन पाउने बताएपछि कम्पनी छोडेर भागेका थिए । त्यसपछि गम फ्याक्ट्रीमा काम गर्न पुगेका उनी दुई महिनापश्चात नै समातिए ।

पक्राउ गरेपश्चात प्रहरीले नै घरपरिवारमा सम्पर्क गराउन भन्दै एक नेपाली दलाललाई फोनमा महतोलाई कुराकानी गराइदिएको थियो । उनले परिवारको फोन नम्वर दिन आनाकानी गरेपनि तिनै दलालले महतोको नेपालको ठेगाना पत्ता लगाएर परिवारसम्म पुगेका थिए । ति दलालले महतोका भतिजालाई फोनमा कुरा गराएपछि उनले रकम नदिन आग्रह गरेका थिए । तर रकम नदिए मन्सीकुमार बर्षाै जेलमै थुनिने भन्दै परिवारबाट पटक पटक गरी २ लाख ४२ हजार रकम असुलेका थिए । महतो परिवारले विभिन्न समयमा गरी आइएमई मार्फत पठाएको रकमको रसिद सुरक्षित राखेका छन् । नेपालको सुनसरी तथा झापाको ठेगानामा दुई फरक व्यक्तिको नाममा सो रकम पठाइएको छ ।

यसरी दलालले रकम असुलिसकेपछि पनि महतो नेपाल फर्किन पाएनन् । मन्सीका दाजु हनराज महतोले ३२ हजारमा टिकट काटेर पठाएपछि उनी विहिवार साँझ नेपाल आइपुगेका छन् । उसको नाममा जम्मा डेढ कठ्ठा जमिन छ, चारजना छोराछोरी सहितको परिवार पाल्नुपर्ने जिम्मेवारी छ मन्सीका दाजु हनराजले भने अव कसरी उसले परिवार पाल्नु ?

महतोले आफूलाई मलेसियामा पक्राउ परेर जेल बस्दा नेपाली दूतावासबाट कुनै सहयोग नभएको गुनासो गरे । उनले प्रहरी र दलालले मिलेर रकम उठाउने र यसमा दूतावास समेत मिलेको आरोप लगाए । म चोरी भिषामा गएको थिइन, मलाई जवर्जस्ती भाग्न बाध्य बनाइएको हो मन्सीले भने हाम्रो सरकार छ भनें उसले ठगलाई कारवाही गरेर देखाओस् । उनी १ लाख १५ हजार तिरेर २०१७ अप्रिल ८ मा मलेसिया गएका थिए ।

मन्सी सहित यसरी नै विभिन्न आरोपमा जेल परेका अन्य ६ जना विहिवार नै काठमाडौं उत्रिएका छन् । उनीहरु अहिले न्याय माग्दै काठमाडौंमा भौंतारिइरहेका छन् ।

यो पनि पढ्नुहोस् जसलाई मलेसियामा प्रहरीले जवर्जस्ती लागु औषध कारोवारी बनायो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: