जसलाई मलेसियामा प्रहरीले जवर्जस्ती लागु औषध कारोवारी बनायो

काठमाडौं, कात्तिक ३०-

प्रहरी अर्थात रक्षक । तर त्यहि रक्षक नै भक्षक भएपछि के हुन्छ ? यहि कुरा भोगेर मलेसियाबाट फर्केका छन् नवलपरासीका राकेश वस्ती ।

दलदलेका २२ बर्षे राकेश २०१५ मे मा मलेसिया पुगेका थिए सेक्यूरिटी गार्डको काममा १ लाख ८० हजार बुझाएर । मासिक १५ सय रिंगिट तलवमा गएका उनले तलव पनि भने अनुसार नै पाइरहेका थिए । त्यसैले दाम र काममा खास गुनासो थिएन उनलाई । तर यति हुँदा हुँदै पनि एकदिन उनी प्रहरीको जालमा परे । 

२०१८ मे १६ तारिख । रातीको समयमा ड्युटीमा थिए उनी । काम थियो विद्यार्थीहरु बस्ने ५ वटा होष्टलको सुरक्षा गर्ने । उनको ड्युटी भएको ठाउँमा एउटा गाडी रोकिएको थियो जसको अलार्म बजिरह्यो । उनी हेर्न पुगे । उनले सो गाडी मालिकको कोठा ढक्ढक्याए । तर जव कोठा खुल्यो एउटा ठूलो संकटले पर्खिरहेको थियो उनलाई । सो कोठाभित्र प्रहरी थियो जसले त्यहाँ लागु औषधको कारोवारीहरुलाई समात्दै थियो । राकेशलाई पनि पक्राउ गर्यो प्रहरीले । गोजीमा २५ ग्राम गाँजा हालिदियो र बनाइदियो लागु औषधको कारोवारी । अव सुरु भयो उनको दुर्दिन ।

पक्राउ पर्दा उनको साथमा १ हजार ४ सय ५० रिंगिट पैसा र मोवाइल थियो जुन तिनै पक्राउ गर्ने प्रहरीले लगे । सो पैसा र मोवाइल फिर्ता भएन । हिरासतमा ७ दिन विताएपछि उनी जेल परे । ३ बर्षसम्म मुद्धा लड्नै समय लाग्ने भन्दै वकिलले १० हजार रिंगिट(झण्डै तीन लाख) दिएमा छिट्टै घर फर्काईदिने भन्दै दलाली सुरु गर्यो । उनले साथि मार्फत ३ हजार रिंगिट बुझाए पनि । तर उनी जेलमै रहे । 

मलेसियामा खुरुखुरु काम गरिरहेका उनलाई न जलान कार्ड(परिचयनपत्र) बनाइदिएको थियो कम्पनीले न त भिषा नविकरणनै गरिदिएको थियो । एकातिर लागु औषधको मुद्धा त अर्कातिर अवैधानिक बसेको अभियोग लाग्यो उनलाई ।

यसरी नै झण्डै ६ महिना वित्यो उनको । “जेलमा साह्रै अत्याचार गर्छ” उनले मलेसियाको जेल बसाई सम्झिंदै भने “न खान राम्रोसँग दिन्छ न त पिउनयोग्य पानी नै पाइन्छ । ट्वाईलेटको पानी खाएर विरामी पर्दा औषधी माग्दा उल्टै तीनचार पटक कुटाई खाएँ” उनले भने- औषधी माग्दा बाहिर निकालेर पैतालामा प्लाष्टिकको पाइपले २०-२५ पटक पिटिन्थ्यो । जेलमा राती ११ बजे प्रहरीको अन्तिम गस्ती आउँदा कसैले खोक्यो भनें बाहिर निकालेर कुटपीट गरिने उनी बताउँछन् । दूषित पानी र न्यून पोषणयुक्त खानका कारण धेरै कैदी विरामी पर्ने गरेको उनी बताउँछन् । 

यहिबीचमा १ कोर्रा हानियो उनलाई जसको पीडा अहिले पनि छ उनको अनुहारमा । कम्पनीले गरेको बदमासी र प्रहरी नै लागेर फसाइएका राकेशको समस्या यतिमै सकिएन । जेलबाटै प्रहरीले कुनै नेपाली दलाललाई राकेशसँग सम्पर्क गराइदिए । त्यहाँका प्रहरी यसरी थुनामा परेका नेपालीबाट पैसा खान नेपाली दलाललाई यसरी सुचना दिने र सम्पर्क गराइदिने गरेको भुक्तभोगिहरु बताउँछन् । राकेशको अनुभवले पनि त्यहि भन्छ । अनी सुरु भयो उनको परिवारबाट पैसा उठाउने अर्को चक्कर ।

कमाउन गएको छोरो परदेशमा पक्राउ परेर जेल परेको खवर त्यहि नेपाली दलाललाई मार्फत आइपुगेपछि घरपरिवार आत्तियो । त्यसैले दलालले जसोजसो भन्यो उसैउसै गरी पैसा पठाए उनीहरुले । नेपालमा नै कुनै व्यक्तिको नाममा रकम जम्मा गराइयो । यसरी वस्ती परिवारले १ लाख ४८ हजार बुझायो दलाललाई राकेश घर फर्किने आशमा । तर त्यो पैसा त्यत्तिकै खेर गयो । परिवारले अन्तिममा ३२ हजारमा आफैं हवाई टिकट काटेर पठाएपछि विहिवार राती उनी काठमाडौं उत्रिएका छन् ।

“मैले कुनै गल्ती गरेको थिइन” राकेश भन्छन् “तर जनावरलाई जस्तै व्यवहार व्यहोरेर फर्किएँ ।” जेलको बसाई सम्झिंदै उनले भने “हामी त ब्रोइलर कुखुरा जस्तै हुँदा रहेछौं जेलमा जहाँ मान्छे माथि मान्छे कोचेर राखिन्छ ।” परदेशमा यसरी अप्ठ्यारोमा पर्दा नेपाली दूतावासले सोधिखोजि नगर्ने गरेको उनको गुनासो छ । उनीसहित अरु ६ जना विहिवार राती काठमाडौं उत्रिएपछि आफूहरुलाई परेको अन्यायका बारेमा आवाज उठाइदिन आग्रह गर्दैछन् ।

बैदेशिक रोजगारमा गएका कामदारलाई अप्ठ्यारोमा मद्धत गर्ने संस्था प्रवासी नेपाली समन्वय समितिको सहयोगमा काठमाडौंमा रहेका उनी सहितका पीडितहरु आफूहरुलाई ठग्ने दलाल पक्राउ परेमा आफूहरुलाई आत्मसन्तोष मिल्ने बताउँछन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: