
काठमाडौं, कात्तिक १७-
बेरोजगार युवालाई लक्ष्य गरी चौरपाटी गाउँपालिकाले आयोजना गरेको रोजगार मेलामा ८ सय ४१ युवाले फाराम भरेका छन् । बेरोजगार युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले चौरपाटी र चौखुट्टेमा उक्त मेला आयोजना गरेको हो ।
बुधबार चौरपाटीमा ५ सय ६ जना तथा बिहीबार चौखुट्टेमा १ सय ७८ जनाले बेरोजगारी फाराम भरेका हुन् । यस्तै धनलक्ष्मी रोजगार कार्यक्रममा चौरपाटीमा ४३ र चौखुट्टेमा २८ जनाले तथा धनलक्ष्मी बायो टेक्नोलोजीतर्फ चौरपाटीमा ६४ र चौखुट्टेमा २२ जनाले आवेदन दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी दिए ।
गाउँपालिकाले श्रम तथा रोजगार कार्यालय धनगढी र स्थानीय गैरसरकारी संस्था वाक नेपालसँगको प्राविधिक साझेदारीमा आयोजना गरेको युवा रोजगार मेलामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन, आत्मनिर्भर र स्वरोजगार बनेका युवाका स्थानीय उत्पादन प्रदर्शनी, युवा प्रशिक्षण तथा खुला अन्तरकृया कार्यक्रम गरिएको थियो ।
मेलामा युवालाई व्यावसायिक बन्नका लागि प्रशिक्षण, बेरोजगारको तथ्याङ्क विष्लेषण, युवासँग खुला अन्तक्र्रिया, उद्यमशीलताबारे जानकारी र लघु तथा घरेलु उद्योगका विषयमा बृहत्रुपमा छलफल गरिएको थियो । (रासस)