
काठमाडौं, कात्तिक १२-
नेपाल र मलेसियाबीचको श्रम समझदारीले मलेसियामा कार्यरत नेपालीको काम गरेवापतको ज्याला सुरक्षामा जोड दिएको छ । दुई देशबीच सोमवार भएको समझदारी अनुसार अव मलेसियामा कार्यरत नेपाली श्रमिकको तलव रोजगारदाताले बैंक खाता मार्फत भुक्तानी गर्नुपर्नेछ । यसले मलेसियामा कार्यरत नेपाली श्रमिकले काम गरे वापत तलव नपाउने समस्या अन्त्य हुने अपेक्षा नेपालले गरेको छ ।
श्रम समझदारी पत्रमा हस्ताक्षरपछि बोल्दै श्रम मन्त्री गोकर्ण विष्टले समझदारी पत्रमा श्रमिकको तलव बैंक मार्फत भुक्तानी हुने र हरके महिना ७ तारिख भित्र तलव भुक्तानी गरिसक्नु पर्ने व्यवस्था गरिएको जानकारी दिए ।
यसैगरी समझदारी पत्रमा रोजगारदाता कम्पनी विघटन भएमा वा रोजगारदाताले कामदारलाई दुव्र्यवहार गरेमा वा कुनै प्रकारको शारिरीक वा मानसिक हिंसा गरेमा कामदारले अर्को काम खोज्न पाउने अधिकार सुनिश्चित गरेको मन्त्री विष्टले बताए ।
दुई देशबीचको समझदारी पत्रमा मलेसियामा कार्यरत रहेको अवस्थामा कुनै श्रमिकको बाबु, आमा, श्रीमान् वा श्रीमति वा छोराछोरी कसैको मृत्यु भएमा १५ दिनको किरिया विदा पाउने व्यवस्था समेत समेटिएको छ । मन्त्री विष्टले समझदारीमा महिला कामदारका विषयमा विशेष व्यवस्था गरिएको बताएपनि त्यो विशेष व्यवस्थाका बारेमा थप प्रष्ट्याएनन् ।
कुनै नेपाली श्रमिकको मृत्य भएमा त्यसको जनाकारी दूतावासलाई दिनुपर्ने र शव नेपाल पठाउने दायित्व सम्वन्धित रोजगारदाताको हुने दुई देशबीच समझदारी भएको छ । मलेसियाले भविष्यमा कुनै बीमा सम्वन्धि व्यवस्था गरेमा नेपाली श्रमिकले पनि सो सुविधा पाउने दुई देशबीच समझदारी भएको छ ।
यो पनि पढ्नुहोस् मलेसिया जान अव कुनै शुल्क तिर्नु नपर्ने, श्रम समझदारीमा हस्ताक्षर