काठमाडौं, कात्तिक ८-
मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले अर्को बर्षको सुरु देखि नै विदेशी श्रमिकलाई पनि सामाजिक सुरक्षा(सोस्को) को दायरामा ल्याइने बताएका छन् । विहिवार यसको घोषणा गर्दै कुलासेगरनले अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ) को मापदण्ड अनुरुप मुलुकको कानूनी व्यवस्था मिलाउने तयारी भएको जानकारी गराएका हुन् ।
उनले हाल मलेसियामा वैधानिक रुपमा कार्यरत १९ लाख विदेशी श्रमिकले १९५२ को वर्कमेन्स कम्पनसेसन कानून अन्तर्गत सुविधा पाउँदै आएकोमा अव त्यसले बदलिंदो समयको मागलाई सम्वोधन गर्न नसक्ने भएको धारणा राखे । हाल सोही कानून अनुरुप रोजगारदाताहरुले आफ्ना श्रमिकको बीमा गराउँदै आएका छन् ।
उनले सोस्को मार्फत गरिने नयाँ व्यवस्थाले हाल प्रदान गरिंदै आएको सिमित क्षतिपूर्तिको दायरालाई फराकिलो बनाउने बताएको मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ । सो कोषमा सहभागि श्रमिकले विरामी भएर अस्पतालमा उपचार गराउँदा पाउने रकममा बृद्धि हुनेछ भनें बीमा वापतको सुविधामा पनि बृद्धि हुनेछ । तर सो कोषमा सहभागिताका लागि प्रतिकामदार १४ देखि १५ रिंगिटसम्म शुल्क बुझाउनु पर्ने मन्त्री कुलासेगरनले बताए । सो रकम रोजगारदाता वा श्रमिक कसले व्यहोर्ने भन्ने प्रष्ट नबनाइए पनि सामान्यतया यस्तो शुल्क रोजगारदाताले बुझाउने अन्तराष्ट्रिय अभ्यास छ ।
नेपालले मलेसियासँग गर्न लागेको एमओयूमा पनि मलेसियन नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा अनुरुप नै नेपाली श्रमिकले पनि सुविधा पाउनु पर्ने र २४ घण्टे बीमाको व्यवस्था हुनुपर्ने विषयलाई महत्वका साथ उठाएको छ । सो विषयमा मलेसियाले यसअघि नै सकारात्मक जवाफ दिएको छ ।
यो पनि पढ्नुहोस् सावधान, यस्ता लक्षण देखिएमा आफूले सेवन गरेको मदिरा ज्यानमारा हुनसक्छ
