
युएई, कात्तिक १-
युएई सरकारले भिजिट (टुरिस्ट) भिसा थप गर्न सकिने नयाँ नियम जारी गरेको छ ।
अक्टोबर २१ बाट लागु हुने गरी भिजिट भिसामा एक पटकमा ३० दिन गरी बढीमा २ पटक अर्थात ६० दिन भिसा थप गर्न पाईन्छ । नयाँ नियम लागु भए पछि पहिलेको जस्तो भिसा थप गर्न ओमान वा अन्य कुनै देश ‘एक्जिट’ गईरहनु पर्दैन । युएईले हाल ३० दिन र ९० दिनको गरेर २ किसिमको भिजिट भिसा जारी गर्ने गरेको छ ।
३० दिनको र ९० दिनको भिजिट भिसामा २ पटक गरेर ६० दिन थप गर्न सकिनेछ । तर एक पटकमा ३० दिन मात्र थप हुनेछ । ३० दिनको भिसा भए बढीमा ९० दिन र ९० दिनको भिसा भए बढीमा १५० दिनसम्म युएई बस्न पाईनेछ ।
भिजिट भिसामा युएई आएर काम खोज्न सजिलो होस् भनी यो नियम परिमार्जन गरिएको युएईबाट प्रकाशित समाचारहरुले जनाएका छन् । यस नियमबाट काम लगाइदिने आश्वासनमा गरिने मानव तस्करी अझ बढ्ने अनुमान गरिएको छ । नेपाल सरकारले खाडी मुलुकहरुमा भिजिट भिसामा जान कडाई गरेपछि बिभिन्न सरकारी निकायहरुकै मिलेमतोमा मानव तस्करी हुँदै आएको छ ।
त्यसैगरी युएईमै १२ कक्षासम्म अध्ययन गरेका विद्यार्थीहरुको लागि पनि युएई सरकारले एक बर्षको भिसा जारी गर्ने भएको छ । त्यसको लागि कुनै स्पोन्सर नचाहिने भएको हो । सरकार आफैंले उक्त भिसा प्रदान गर्नेछ ।
युएई सरकारले सम्बन्ध बिच्छेद गरेका र बिधवा महिलाहरुको लागि पनि एक बर्षको भिसा सुबिधा दिएको छ । पहिलेको कानुन अनुसार श्रीमानको भिसामा हुनेहरुले सम्बन्ध बिच्छेद वा श्रीमानको मृत्यु भएमा मुलुक छोड्नु पर्ने हुन्थ्यो । नयाँ कानुनले उनिहरुलाई थप एक बर्ष बस्न कुनै स्पोन्सर नचाहिने भएको छ । एकल तथा बिधवा महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा सबल बनाउन नयाँ नियम जारी गरिएको जनाईएको छ ।
यो पनि पढ्नुहोस् २८ अक्टोबर पछि कतार छोड्न खुरुज (एक्जिट पर्मिट) नचाहिने