आर्जन गरेको ज्ञान र सीपलाई  मुलुकको समृद्धिका लागि प्रयोग गरौ

उपेन्द्र महतो-

साढे एक दशक पहिलेसम्म विदेशमा बस्ने हामी नेपालीहरु नेपाल र नेपालका लागि केही गर्नुपर्छ भनेर व्यक्तिगत रुपमा अलग अलग बसी चिन्तनमनन गथ्र्यौं । तर, त्यस्ता कुनै पनि प्रयत्न गैरआवासीय नेपालीहरुलाई जोड्ने कडी हुन सकेनन् । त्यसैले एउटा सामूहिक या संस्थागत अभियानको आवश्यकत्ता खड्किरह्यो ।

विदेशमा बसेर हामी जे जस्तो पौरख गरिरहेका छौं या दुःख पाइरहेका छौं, अब पनि देशलाई अगाडि बढाइएन या समृद्ध बनाइएन भने हामी मात्र होइन, हाम्रा सन्तानदरसन्तानले सन्ततिले सधैंभरि दुःख पाइरहने भए । त्यही भावनालाई कसरी सही र मूर्त रुप दिने भनेर एकखाले छटपटी भइरह्यो ।

देशलाई समृद्धिको बाटोमा अगाडि लैजाने संयुक्त प्रयास के हुन सक्छ त ? हामीले मस्कोमा बसेर गहन छलफल गर्यौं । र, विभिन्न देशमा बसिरहेका साथीहरुसँगको भलाकुसारी र सरसल्लाहपछि मनको अन्तरकुन्तरमा एउटै कुरा भेटियोएउटा संस्था या एउटा अभियान जरूरी छ । त्यही महसुस गरेर सन् २००३ को अक्टोबरमा गैरआवासीय नेपालीहरुको पहिलो सम्मेलन भयो, नेपालमा ।

अक्टोबर छानिनुको कारण के हो भने विदेशमा बस्ने नेपाली लामो समय घर फर्किएका हुन्नन् । फेस्टिभ मुडमा परिवारसँग बसेर दसैं, तिहार मनाउने चाहना जो कोहीलाई हुन्छ । चाडबाडमा सबैलाई नेपाल जान मन लाग्ने र फर्किने सिजन पनि भएकाले अक्टोबर जति  सुहाउँदो महिना अरु के हुन सक्थ्यो ?

गैरआवासीय नेपालीको मर्म, उद्देश्य अनि सही रुपमा अगाडि बढाउन खोजिएका कामबारे नेपाल सरकारसँगै नेपाली दाजुभाइ, दिदीबहिनी जानकार छन् । उनीहरुले के महसुस गरिसकेका छन् भने एनआरएनए वास्तवमै पवित्र सामाजिक संस्था हो ।

नेपालीको हित अनि नेपालको समृद्धि र विकासका लागि केही गरौं भन्ने एक मात्र भावनाले नै यो संस्था अगाडि बढेको छ । र, गैरआवासीय नेपालीले केही गर्न खोजेका छन्, केही गर्न सक्षम छन् र अति नै इमानदारी र संवेदनशीलताका साथ त्यसमा अगाडि बढिसकेका छन् भनेर नै नेपाल सरकारले ११ अक्टुबरलाई गैरआवासीय नेपाली दिवस मनाउने निर्णय गर्यो । यो गैरआवासीय नेपालीका लागि गौरवशाली दिन हो । र, ठूलो जिम्मेवारीको दिन पनि हो । यसले प्रत्येक गैरआवासीय नेपाली मित्रहरुको जिम्मेवारी बढाइदिएको छ । यसमा तपाईंहरुको साथ सदैव आवश्यक छ ।

हामीले संसारभर नै गैरआवासीय नेपाली दिवस मनाउँदै आएका छौं । गैरआवासीय नेपाली दिवस फेस्टिभलका रुपमा मात्र होइन, मातृभूमिप्रतिको माया, जिम्मेवारीका साथै केही गर्न सकिन्छ कि भनेर छलफल गर्ने प्लेटफर्मपनि भएको छ ।

एनआरएनएमा लामो समयसम्म पुँजी मात्रै बहसको विषय बन्थ्यो । तर, नेपालको पछौटेपनमा पैसाको मात्र अभाव हो जस्तो मलाई लाग्दैन । हामीले आर्जन गरेका अथाह ज्ञान र सीपलाई अब मुलुकको समृद्धिका लागि प्रयोग गर्नु जरुरी छ । त्यसैले ज्ञान, सीप तथा प्रविधिबारे बहस सुरु गरौं भनेर यसपालि नयाँ अवधारणा अघि सारेका छौं, विज्ञ सम्मेलन ।

अहिले संसारमा दुईवटा कुराको अति नै महत्व छ, एउटा पैसा र अर्को इनोभेटिभ आइडिया । गैरआवासीय नेपालीहरु अहिले संसारका ठूल्ठूला इन्स्टिच्युट, मल्टिनेसनल कम्पनी र विश्वविद्यालयमा आबद्ध छन् । तिनीहरु विज्ञान र कृषिमा निकै अगाडि बढिसकेका छन् । तिनले नयाँ इनोभेसनलाई व्यावहारिक रुपमा कसरी ल्याउन सकिन्छ भनेर मुलुकलाई प्रशस्त योगदान गर्न सक्छन् ।

तिनको ज्ञान, सीप, अनुभवको लगानीलाई पैसासँग मात्र दाँजेर हेर्न मिल्दैन । त्यो ज्ञान, सीप र अनुभवको आधारमा हामीले केही कुरा दिन सक्यौं भने नेपाललाई धेरै ठूलो फाइदा हुन सक्छ । र, नेपालमा यसको ठूलो भविष्य छ भनेर नेपाली मित्र, गैरआवासीय मित्र र विदेशी मित्रहरु लगानी गर्न अगाडि बढ्नेछन् । विज्ञ सम्मेलनको महान् उद्देश्य यही हो ।

विभिन्न देशमा काम गरिरहेका प्राध्यापक, अनुसन्धाताका साथै विभिन्न क्षेत्रमा रहेका ठूला विज्ञहरुका लागि एउटा प्लेटफर्महुनेछ, विज्ञ सम्मेलन । नेपालमा कुन कुरा छिटो सिक्न सकिन्छ रु कुन कुरा छिटो उत्पादन गर्न सकिन्छ र नेपालको माटो, हावापानी, यहाँको संस्कृति, आवश्यकता र बजार सुहाउँदो छ ? सम्मेलनमा हामीले विदेशमा पढेका, सिकेका, कमाएका र व्यावहारिक अनुभवका आधारमा विज्ञहरुबीच छलफल चलाउने जमर्को गरेका हौं ।

पक्कै पनि वृहत् छलफलपश्चात् नयाँ कुरा, नयाँ आविष्कार र नयाँ क्षेत्रका कुरा पाइनेछ । विस्तृत अध्ययनका रुपमा आउने निश्चित कार्ययोजनालाई हामी नेपाल सरकार, नेपालमा भएका विभिन्न संघसंस्था र नेपाली लगानीकर्तालाई दिने छौं । यो अभियानमा गैरआवासीय नेपाली मित्रहरुलाई पनि आह्वान गर्नेर्छौं । त्यसले आर्थिक रुपमा दीर्घकालीन सोच पैदा गरी अगाडि बढाउन सघाउ पुग्नेछ साथै नेपालको समृद्धिमा ठूलो भूमिका खेल्नेछ ।

एनआरएनए ७९ वटाभन्दा बढी देशमा नेश्नल च्याप्टर रहेको एउटा ठूलो संस्था भइसकेको छ । पहिला विदेशमा बस्ने नेपालीहरु नेपालमा सुरक्षा छैन, भ्रष्टाचार बढी भयो, नेपाल गरिब भयो भनेर मात्र कुरा काटिरहेका हुन्थे । तर, पछिल्लो समय केही गैरआवासीय नेपालीमा मैले नेपालका लागि के गरेको छु त ? नेपालमा गरिबी छ, अशिक्षा छ र मैले बाहिर बसेर कुरा मात्र गर्नुभन्दा नेपालमा सुधारका लागि के गरेको छु त भन्ने गहन भावना समेत जागृत भएको छ । त्यो एकदमै ठूलो कुरा हो ।

साँच्चै राष्ट्रले मलाई के दियो भनेर मात्रै होइन, मैले चाहिँ के दिएको छु त भनेर सोच्ने बेला आएको छ । किनकि हिजोका दिनमा हामीसँग प्रशस्तै बहानाबाजी थिए, मुलुकको परिवेशलाई लिएर, अस्थिरतालाई लिएर । तर, आज फेरि त्यस्तै कुरा दोहो(याइरहनु गलत हो । लामो संक्रमणकालको अन्त्यपछि मुलकमा एउटा सहज वातावरण बनेको छ । सम्भावना देखिएको छ । त्यही सम्भावनाको आडमा हामी मुलुकको भविष्य निर्माणमा योगदान गर्न सक्छौं ।

बुझ्नैपर्ने अर्को महत्वपूर्ण कुरा के पनि हो भने, यस्तो ठूलो संस्थालाई भावनाका रुपमा मात्र होइन, व्यावहारिक र वैधानिक रुपमा अघि बढाउनु समेत जरुरी छ ।

एनआरएनए नेपालको संसदबाट विशेष कानुन पारित भएर दर्ता भएको संस्था हो । नेपाल सरकारले हामीलाई कति ठूलो इज्जत दिएको छ, गैरआवासीय नेपालीलाई कति मद्दत गरेको छ र उनीहरुबाट नेपालले कति ठूलो आशा राखेको छ भन्ने दर्शाउन यति नै पर्याप्त छ । 

जगजाहेर छएनआरएनए ठूलो संख्यामा सदस्य भएको सामाजिक संस्था हो । हाम्रो विधान विभिन्न देशमा भएका नेश्नल च्याप्टर र केन्द्रसँग समन्वय गरी कसरी अघि बढ्न सकिन्छ भन्नेबारे सम्बन्धित छ । यसलाई व्यावहारिक एवं वैधानिक रुपमा कसरी अगाडि लैजान सकिन्छ भन्नेमा हामी दत्तचित्त छौँ । त्यसैले परिवर्तित परिवेशमा धेरै देशमा भएको समितिलाई सबल ढंगबाट सञ्चालन गर्नका लागि हामी एनआरएनएको विधान संशोधन पनि गर्दै छौँ ।

हाम्रो संस्थाका कार्यकारिणी समितिका नेतृत्वमा रहेका साथीहरु जो छन्, उनीहरु आफ्नै काममा व्यस्त हुन्छन् । फुर्सदको बेला सामाजिक संघसंस्थामा पनि समय दिनुपर्ने भएकाले यी सबैलाई सन्तुलन गरेर कसरी अगाडि बढाउन सकिन्छ भनेर अहिले हाम्रो विधानमा केके थप्नुुपर्छ, केके कुरा हटाउनुपर्ने छ र यसलाई प्राविधिक रुपमा पनि सरल र सहज रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिनेछ ।

विज्ञ, कानुन एवं न्यायका क्षेत्र तथा विभिन्न देशमा बटुलेका अनुभवका आधारमा एनआरएनएको विधानमा के कस्तो परिवर्तनको खाँचो देखिएको छ, त्यसलाई केलाएर संशोधन गरिने मलाई पूर्ण विश्वास छ ।

निश्चय पनि प्रत्येक दुई वर्षमा हुने संघको महाधिवेशनमा विभिन्न देशबाट आएका राष्ट्रिय च्याप्टरका प्रतिनिधिहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्नुपर्ने र नेतृत्व चयन गर्नुपर्ने भएकाले विद्यानमा विस्तृत छलफल गर्न हामीसँग समय पर्याप्त हुँदैन् ।विधान आन्तरिक कुरा हो  । त्यसकारण बन्द सत्रमा नै यसको छलफल गर्नुपर्ने हुन्छ । महाधिवेशनमा समयको अभाव भएकै कारणले नै अहिले विद्यानलाई छलफल गर्न विशेष विद्यान सभाको व्यवस्था गरिएको हो ।

कुनै पनि देशको संविधान भनौं या कुनै संस्थाको विधान अपरिवर्तनीय हुन सक्दैन । समय, आवश्यकता र परिस्थिति अनुसार छलफल गरेर संशोधन गर्न सकिन्छ । त्यसैले एनआरएनएको विधान पनि त्यही अनुसार संशोधन भइरहन्छ । विगतमा सिकेका ज्ञान र भोगेका अनुभवका आधारमा सही र विस्तृत रुपमा छलफल गरेर संशोधन गर्नुपर्छ भन्ने आवश्यकता हामीले महसुस गरेका छौं ।

गैरआवासीय नेपाली दिवसकै बेलामा विधान सभाको पनि बैठक गर्ने र बैठकमा विस्तृत छलफल गरेर त्यहाँबाट आएका कुरालाई प्राथमिकताका आधारमा एनआएनएको महाधिवेशनबाट पारित गरिने छ ।

यसपालि हामीले नेपालको विकासको बाटोमा, नेपालको समृद्धिको अभियानमा र नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई आत्मसात गरेर विभिन्न देशमा भव्यताका साथ गैरआवासीय नेपाली दिवस मनाउँदै छौं ।

हामीले पहिलेदेखि भन्दै आएका छौंव्यक्तिगत सफलता जुनसुकै उचाइमा पुगे पनि देश समृद्ध भएन भने त्यसको कुनै अर्थ रहँदैन । त्यसैले त हामी नेपालीहरुका लागि नेपालीहरुद्वाराभन्ने नारा लिएर अगाडि बढेका हौं 

म दोहोर्याउन चाहन्छुअनुसन्धानका साथै विभिन्न विधाका विज्ञ गैरआवासीय नेपाली मित्रहरुको सहभागितामा नेपालमा पहिलोपल्ट विज्ञ सम्मेलन हुन लागेको छ । विज्ञ सम्मेलनमा मैले, हामीले नेपालका लागि के गर्नुपर्छ, के गर्न सक्छौं भन्ने कुरामा छलफल हुन्छन् ।

गैरआवासीय नेपाली, नेपाल सरकार प्रतिनिधि, नेपालका विज्ञ, सामाजिक क्षेत्रमा प्रतिनिनिधिको छलफलपछि व्यावहारिक रुपमा नेपाललाई समृद्धिको बाटोमा अगाडि बढाउन हामीले के कसो गर्न सक्छौं ? त्यसमा अगाडि बढ्नका लागि म सबैसँग आग्रह गर्न चाहन्छु ।

(महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष हुन् । यो सामग्री एनआरएन ग्लोवलको विषेशांकबाट सम्पादित अंश हो ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय