मौरीबाट बार्षिक ५ लाख आम्दानी

काठमाडौं, असोज १८-

गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आएका हुन् । 

स्थानीय जातका मौरीपालन गरी मह तथा मौरीको घर बेच्न थालेको करीब नौ वर्ष भइसकेको छ । देवकोटा माउण्टेन हनी उत्पादन तथा प्रशोधन केन्द्र खोलेर अहिले स्थानीय सेरेना जातको मौरी पाल्दै आएका छन् । उत्पादन भएको मह अहिले मानाको रु ८०० का दरले बिक्री हुने गरेको देवकोटाको भनाइ छ ।

मौसमअनुसार मौरीले मह उत्पादन गर्ने बताउँदै देवकोटाले मङ्सिर चैत लगायतको समयमा एक घार मौरीले चार पाथीसम्म मह उत्पादन गर्ने गरेको बताए । देवकोटाका अनुसार मङ्सिर र चैत महिनामा सबैभन्दा धेरै मह उत्पादन हुने गर्दछ । मह उत्पादनसँगै उनले घार पनि बिक्री गर्दै आएका छन् ।

‘‘पहिलोको तुलनामा अहिले महभन्दा मौरीसहितको घार बिक्रीबाट बढी आम्दानी हुने गरेको छ,’’ देवकोटाले भने । आजभोलि एक घारको रु १० हजारसम्ममा बिक्री हुने गरेको छ । गएको वर्ष मात्र करीब ४५ घार मौरी बिक्री गरेको उनले जानकारी दिए ।

पहिला मह मात्र उत्पादन गर्ने उद्देश्यले मौरीपालन केन्द्र खोलेको भए पनि महको बजारसँगै मौरीसहितको घारको बजार पनि बढ्न थालेपछि घार बिक्री गर्न थालेको कृषक देवकोटा बताउँछन् । 

मौरीपालन व्यवसायका लागि फूल फुल्ने जातका तरकारी बाली तथा फलफूल खेती पनि आवश्यक पर्ने भएकाले समय अनुसारका विभिन्न खेतीबालीसमेत गर्दै आएको कृषक देवकोटाको भनाइ छ । ‘‘मौरीपालनका लागि चरन क्षेत्र आवश्यक पर्ने भएकाले मौसमअनुसार घर वरिपरि तोरी खेती पनि गर्दै आएको छु,’’ देवकोटाले भने ,“चिलाउने, टाँकी, कटुसलगायतका बोटबिरुवाका फूल मौरीले मन पराउने हुँदा त्यस्ता खालका बोटबिरुवा समेत हुर्काउँदै गरेको छु ।

बढी फूल फूल्ने मौसममा राम्रो ध्यान दिन सके एक घार मौरीबाट तीनदेखि छ घारसम्म बनाउन सकिने उनले बताए । उनले मौरीलाई खानेकुराको अभाव भएमा वा घारमा केही वस्तुले दुःख दिएमा एक घारको मौरीले अर्को घारको मौरीलाई दुःख दिने भएकाले विशेष ध्यान दिनुपर्ने बताए । रासस

यो पनि पढ्नुहोस् मलेसियाको रोजगारी खुल्न अझै समय लाग्ने, मुख्य मिलाउनु पर्ने विषयमा मलेसियाले थाल्यो गृहकार्य

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय