काठमाडौ, असोज १०-
श्रम मन्त्री गोकर्ण विष्टले युएईमा भिजिट भिषामा जाने नेपालीलाई रोजगारीमा लाग्न निरुत्साहित गर्न त्यहाँको सरकारलाई अनुरोध गरेका छन् । उनले यसलाई नियन्त्रण गर्न दुवै देशका सरकारले संयुक्त प्रयास गर्नुपर्ने बताए ।
नेपालका लागि युएईका राजदूत सईद हमदम अल नाक्वीसँगको भेटमा मन्त्री विष्टले युएईमा कार्यरत नेपालीका लागि २४ घण्टे विमा, करार बमोजिम नै न्यूनतम तलव र अरु सुविधा सुनिश्चित गर्न समेत आग्रह गरे । यसैगरी निश्चित मापदण्ड निर्धारण गरी सरकारले तोकेका जुनसुकै स्वास्थ्य संस्थाबाट श्रमिकको स्वास्थ्य परीक्षण भएकोमा त्यसलाई मान्य हुने व्यवस्था सुनिश्चित हुनुपर्नेमा पनि मन्त्री विष्टले जोड दिए ।
भेटमा राजदूत नाक्वीले नेपालको मागमा युएई सरकार सकारात्मक हुने भन्दै उनले दुई देशबीचको सम्वन्धलाई उदाहरणीय बनाउन दुवै देशका सरकारहरुको प्रयास रहनुपर्ने धारणा राखेको मन्त्रालयका उपसचिव दीपक ढकालले जनाएका छन् ।
भेटमा राजदूत नाक्वीले भौतिक पूर्वाधारको विकास र आर्थिक समृद्धिसँगै यु.ए.ई मध्यपूर्वको आर्थिक केन्द्रको रुपमा विकसित हुँदै गएको र खाडी क्षेत्रका अन्य मुलुकहरु भन्दा पृथक ढंगले अगाडि बढिरहेको भन्दै नेपालबाट दक्ष जनशक्तिको माग समेत बढ्दै गएकोले त्यस्ता जनशक्तिका लागि यु.ए.ई मा उच्च पारिश्रमिकको अवसर रहेको बताएका थिए ।
सो अवसरमा दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी एमओयू परिमार्जनका लागि दुवै पक्षबाट आवश्यक तयारी गर्ने र निकट भविष्यमा नै प्राविधिक टोली गठन गरी द्विपक्षीय श्रम सम्झौता गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालका लागि साउदी अरेवियाका कार्यवाहक राजदुत अव्दुलकरिम अलसुलेमानले श्रम सचिव महेश प्रसाद दहालसँग भेट गरेका छन् । भेटमा सचिव दाहालले नेपालले साउदी अरेवियाका लागि तोकेको न्यूनतम पारिश्रमिक र सुविधा साउदी अरेविया सरकारले लागु गर्ने अपेक्षा प्रकट गरे । नेपाली कामदारलाई रोजगार करार बमोजिम दिइने सेवा सुविधाको सुनिश्चितता गरिने विषयमा पनि सो अवसरमा छलफल भएको उपसचिव ढकालले जानकारी दिएका छन् । श्रम स्वीकृति, पुनः स्वीकृति र भिषा नवीकरणको सन्दर्भमा देखापरेका समस्या समाधान गर्ने विषयमा पनि भेटघाटमा छलफल भएको थियो ।
यो पनि पढ्नुहोस् देशपरदेशका चार बर्ष
