
क्वालालम्पुर, असोज ९-
मलेसियाका अर्थमन्त्री लीम ग्वान ईङले १० बर्ष भन्दा बढी समय देखि मलेसियाका कार्यरत विदेशी कामदारको सवै लेभी रोजगारदाताले नै तिर्नुपर्ने बताएका छन् । उनले आगामी अक्टोवर १ देखि नै यो नियम लागु हुने अपेक्षा प्रकट गरे । यसअघि मलेसिया सरकारले त्यसरी बस्न चाहने पुराना विदेशी कामदारको प्रति व्यक्ति १० हजार रिंगिट लेभी मध्ये २ हजार रोजगारदाताले र ८ हजार कामदार स्वयंले तिर्नुपर्ने निर्णय गरेको थियो । क्वालालम्पुरमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री ईङले रोजगारदाताले केवल २० प्रतिशत तिर्ने र बाँकी ८० प्रतिशत कामदारले तिर्नुपर्ने विषय न्यायोचित नभएको बताए ।
अर्थमन्त्री ईङले अक्टोवर १ देखि नै सम्पूर्ण लेभी रोजगारदाताले नै व्यहोर्ने अपेक्षा गरिएको भन्दै भिषा थप्न विदेशी कामदारले १० हजार रिंगिट मध्ये ८ हजार तिर्न नसक्ने स्थानीय सञ्चार माध्यमले उठाएको र यसमा सरकार सहमत रहेको बताए । उनले सुरुमा मलेसिया भित्रिने विदेशी कामदारको लेभी भनें पहिलो बर्ष १ हजार ८ सय ५० रिंगिट मात्र हुने स्पष्ट पारे ।
मानव संशाधन मन्त्री कुलासेगरन सहितको कार्यक्रममा बोल्दै उनले मलेसियाले अनुभवी विदेशी कामदारलाई मलेसियामा आकर्षित गरिराख्न यसअघिको १० बर्ष भन्दा लामो समय बस्न नपाउने नियममा परिवर्तन गरिएको पनि बताए । यसअघि नाजिव प्रधानमन्त्री हुनु अघि ५ बर्षसम्म मात्र मलेसियामा बस्न पाईने नियम थियो । नाजिवको कार्यकालमा त्यसलाई बढाएर १० बर्षसम्म बस्न पाउने नियम बनाइयो । तर यसका लागि कामदारले नै चर्को शुल्क तिर्नु पर्दथ्यो । वर्तमान सरकारले १० बर्ष भन्दा बढी समय बस्न पाउने व्यवस्था गरेको छ ।
मलेसियाले १० बर्ष भन्दा कम समयदेखि कार्यरत सम्पूर्ण विदेशी कामदारको लेभी यसअघि नै रोजगारदाताले तिर्नुपर्ने व्यवस्था गरिसकेको छ । त्यसैले हाल मलेसियामा रोजगारदाताले आफ्ना कामदारसँग होष्टल तथा पानी, विजुली लगायतमा प्रति महिना ५० रिंगिट मात्र लिन पाउने व्यवस्था छ ।
यो पनि पढ्नुहोस् मलेसियाको रोजगारी अवरुद्ध भएपछि कतार तिर आकर्षित नेपाली