
काठमाडौं, असोज ९-
बैदेशिक रोजगारमा जाने नेपालीका लागि पछिल्लो समयमा कतार पहिलो रोजाईको मुलुक बनेको छ । मलेसियामा रोजगारीमा जान रोकिएपछि सवैभन्दा धेरै नेपाली कतार जान थालेका हुन् ।
बैदेशिक रोजगार विभागको तथ्याँक अनुसार गत भाद्रमा ३१ हजार ४ सय ८८ जना नेपाली बैदेशिक रोजगारमा गएका छन् । यसमध्ये संस्थागत(मेनपावर कम्पनी मार्फत) १५ हजार ८ सय २९ जना गएका छन् भनें व्यक्तिगत श्रम स्वीकृति नविकरण गराउँदै १३ हजार ८ सय ६२ नेपाली विभिन्न मुलुक गएका छन् । यसैगरी नयाँ व्यक्तिगत श्रम स्वीकृतिमा ६ सय ५७ जना र १ हजार १ सय ४० जना यसअघिको रोजगारीलाई वैधानिकीकरण गरेर गएका छन् ।
यसरी जाने मध्ये सवैभन्दा धेरैको रोजाईमा कतार परेको छ । संस्थागत तर्फ जाने मध्ये कतारमा ६ हजार १४ जना गएको बैदेशिक रोजगार विभागले जनाएको छ । यसैगरी दोश्रोमा युएई र तेश्रोमा साउदी अरेविया देखिएको छ ।
साउन महिनामा पनि सवैभन्दा धेरै नेपाली कतार नै गएका छन् । संस्थागत तर्फ बैदेशिक रोजगारमा गएका १८ हजार ५ सय ३९ मध्ये ७ हजार ३ सय ९७ जना कतार गएका छन् । सो महिनामा पनि दोश्रोमा युएई देखिएको छ भनें तेश्रोमा साउदी अरेविया छ । साउनमा व्यक्तिगत तर्फ १५ हजार २ सय ३९ जना बैदेशिक रोजगारमा गएका छन् भनें व्यक्तिगत श्रम स्वीकृतिमा बैदेशिक रोजगारमा जानेको संख्या १ हजार ७ रहेको छ ।
अदक्षकै भर
नेपालको अर्थतन्त्रका लागि लाइफलाइन सावित भएको बैदेशिक रोजगार नेपालका लागि संख्यात्मक रुपमा धेरै युवाका लागि रोजगारीको विकल्प भएपनि आम्दानीका हिसावले भनें तुलनात्मक रुपमा अन्य मुलुकको भन्दा कमजोर छ । भाद्र महिनामा बैदेशिक रोजगारमा गएकाहरुको तथ्याँकलाई विश्लेषण गर्दा सवैभन्दा ठूलो संख्या अदक्ष कामदारको देखिएको हो ।
भाद्रमा बैदेशिक रोजगारमा गएका मध्ये १८ हजार ६० जना अदक्ष काममा बैदेशिक रोजगारमा गएका छन् । यसैगरी १० हजार ८ सय ५७ जना केहि सीपमुलक काममा गएका छन् भनें २ हजार ५ सय १५ जना अर्धदक्ष रुपमा गएको देखिएको छ । ३३ जना दक्ष काममा गएका छन् भनें २३ जना उच्च दक्ष काममा गएको विभागको तथ्याँक छ । यद्यपी सीपमूलक काममा गएकाहरुको संख्या तुलनात्मक रुपमा केहि राम्रो देखिएपनि एउटा मागपत्रमा पठाउने र गन्तव्य मुलुकमा पुगिसकेपछि अर्कै रोजगारीमा लगाउने समस्या चर्को छ ।
यो पनि पढ्नुहोस् दशैं नजिकिंदै जाँदा बढ्यो रिंगिट, रियाल, दिराम र दिनारको मूल्य