प्रवासको बासः भाषण गर्नेलाई नाम र पदकै आश

 

सन्तोष न्यौपाने, बेल्जियम-

युरोपबाट एकजना नेपाली साथिले चलाउने अनलाइनका समाचार पढें । समाचारमा पढ्ने कुरा के थियो र, मैले ति कार्यक्रमहरुमा कस कसको नाम रहेछ र उनीहरुको मानपदवी के रहेछ भन्ने बेलिविस्तारमा जानकारी पाएँ तिनै समाचारबाट ।

समाचारका आफ्नै नियम हुन्छन् । व्यक्तिलाई भन्दा उसले बोलेका कुराको चुरो कुरो बुझ । पदलाई भन्दा विचारको ओजलाई स्थान देउ । हो, मुख्य कुरा यहि हो पत्रकारिताको । तर कष्टपूर्वक सो अनलाइका केहि समाचार पढेपछि एउटा पीडित पाठकको रुपमा सो अनलाइनका सम्पादकसँग कुरा गर्न मन लाग्यो ।

हैन तपाईको अनलाइनका समाचारमा त बोल्नेको नाम र पद बाहेक अरु केही भेटिन्न त, किन यस्तो गर्नुभएको ? दुखेसो के पोखें मैले उता मेरो भन्दा ठूलो गुनासो विसाउन तयार थिए उनी । उनी अर्थात सम्पादक । के गर्नु, मैले पनि कुरो नबुझ्या कहाँ छु र ? यहाँ समाचारमा नाम छुट्यो भने किन मेरो नाम हालिनस् भन्दै उजुरी हाल्न आउनेहरु छन् । अझ कथम् कदाचित पद छुट्यो भनें त तिनका छेउछाउ अलिक समय नपरे नै हुन्छ । त्यसैले बाध्यता हजुर बाध्यता ।बाध्यता यस्तो रहेछ उनको ।

यो सो अनलाइनको मात्र समस्या होइन । समस्या हाम्रो प्रवृत्तिको हो । समस्या हामी ठालु नेपालीको हो । आफ्नो मुलुकबाट विभिन्न कारणवस युरोप आइपुगेका र यतै जीवन गुजारा गर्न दश नङ्ग्रा खियाइरहेका हामी नेपाली नाम र पदमा भनें अचाक्ली लोभी छौं । कुनै सार्वजनिक कार्यक्रम आयोजना हुँदैछ भनें त्यहाँ आफूलाई बोलाए की बोलाएनन्, बोलाए भनें आफ्नो नाम, पद सवैले सुन्ने गरेर लिए की लिएनन्, लिए भनें बडेमानका व्याच र खादा ओढाए की ओढाएनन्, यो हाम्रो प्राथमिक चासोको विषय हो । बाँकी कुरा तपशील हुन्छन् ।

टाढाको कुरो पंक्तिकार जान्दैन । बेला वखत खाडी, मलेसिया तिर पनि खादा मोहको कुरो सुन्नमा आउँछ । तर प्रस्तुत लेखमा भनें पंक्तिकार आफू कार्यरत मुलुक बेल्जियम र यसको छिमेकी मुलुक पोर्चुगलका कुरा गर्दैछ ।

नेपालीको संख्या बाक्लै रहेको बेल्जियम र पोर्चुगलमा हरेक नेपाली परिवारको कुन नै कुनै सामाजिक संस्थामा आवद्धता नहुने कुरै भएन । परदेशमा आएपछि यो स्वभाविक पनि हो । तर सो संस्थाको मुख्य पद हत्याउन पाइयो भनें त्यसका लाभै लाभ छन् । विभिन्न कार्यक्रमहरुमा अतिथि हुन पाइने । नाम, पद अधिकाँश नेपालीलाई कण्ठ हुने । व्याच र खादा बोनस । त्यसैले यी दुई मुलुकमा ५० भन्दा बढी सामाजिक संस्थामा जोडिएका व्यक्तिको लाम लामै छ । भलै कोहि वर्तमान कार्यसमितिमा हुन्छन् र अलिक पहुँचवाला भएमा भूपू कार्यसमितिका व्यक्तिले समेत स्टेजमा आशन सुरक्षित राख्दछन् ।

दुःखको कुरा यहाँका अधिकाँश सामाजिक संस्थाको अगुवामा चाहिं उनै थोरै अनुहार दोहोरिन्छन् । एनआरएन देखि राजनीतिक दलका भातृ संगठन, जातिय संघसस्था देखि क्षेत्रिय संस्थासम्म एउटै व्यक्ति अनेकौं पदले सुशोभित भएर बस्छन् । एकातिरको पद खुस्किहालेमा अर्को ठाउँ सुरक्षित पनि त हुन्छ । तर दुर्भाग्य यसरी पद ओगटेर बस्नेहरुको पाउने भनेको उनीहरुको नाम, पद हरेक कार्यक्रममा अरुलाई कण्ठ बनाउनु र मञ्चमा ३ मिनेट भाषण बजाउनु मात्र हो । साँच्चै सामाजिक काम गर्नु परेमा भनें त्यस्ता समाजसेवीलाई धुईपत्ताल खोज्नु पर्दछ ।

नेपालबाट चल्ने अनलाइनमा नाम, पद नहाल्दा वा आवश्यक मात्रामा मात्र हाल्ने तर युरोपका अनलाइमा किन लम्वेतान पद हुन्छ ? उत्तर सजिलो छ । नेपालतिरका अनलाइनले काँटछाँट गर्दा युरोपका पत्रकारले आफ्नो सञ्चारगृह तिर देखाईदिंदा हुन्छ । तर यतैबाट सञ्चालन हुने अनलाइनका पत्रकारलाई समाचार पढेपछि तुरुन्त सच्याउन फोन मार्फत नै निर्देशन दिंदा भइहाल्यो । यदि त्यसमा अटेर गरेछन् भनें अरु उपाय पनि छँदैछन् । भलै उसले कार्यक्रम सञ्चालन गरेको वा कार्यक्रममा खादा लगाइदिने र व्याच वितरण नै किन गरेको नहोस्, आश सवैको हुन्छ, मेरो नाम पनि त आउँछ नी । अनी भएन फसाद पत्रकारलाई । 

३ घण्टा ‘बुड्ती खाता’मा

भारततिरबाट आएका मारवाडी समुदाय व्यापारमा निक्कै नाम कमाएको जात हो । तिनले कसरी व्यापार गर्नुपर्छ र कसरी पैसा उठाउनु पर्छ भन्ने राम्रोसँग जानेका छन् । उनीहरु हप्तैपिच्छे कामदार पठाउँछन् पैसा उठाउँछन् जसलाई उनीहरुको भाषामा तगाधा जानु भनिन्छ । मालिकले कामदारलाई सिकाएरै पठाएको हुन्छ, सय पचास जे हुन्छ हरेक ठाउँबाट उठाएरै ल्याउनु ।

तर यति हुँदा हुँदै पनि पैसा उठ्दैन । त्यसैले निश्चित समय प्रयास गर्दा पनि पैसा उठ्दै उठेन र सो साहुलाई अव त्यो पैसा उठ्दैन भन्ने लाग्यो भनें सो हिसावलाई उनीहरुले अर्कै खातामा लेख्न थाल्छन् जसलाई बुड्ती खाता भनिन्छ । अर्थात उठ्नु पर्ने पैसाको हिसाव त छ तर अव त्यो उठ्दैन । बेल्जियम आइपुगेको हामी नेपाली पनि त्यसरी नै बुड्ती खातामा समयको चाङ चढाइरहेका छौं ।  

यहाँ कार्यक्रमको समय तोकिएको हुन्छ ठिक १२ बजे । केहि गरी कोहि व्यक्ति १२ बजे पुग्यो भनें त्यसले अव सजाय पाउनु पयो । किनकी ३ नबजि कार्यक्रम सुरु हुनेवाला छैन । ३ घण्टा गयो बुड्ती खातामा । बल्ल सुरु भएको कार्यक्रममा आमन्त्रित अतिथिहरुको नाम र पद क्रमैसँग भन्दा, उनीहरुलाई खादा, व्याच पहिर्याउँदा ४ त बजिहाल्छ । कनिकुथी भाषण सवैले गर्नै पर्यो । यदि आज कसैले बोल्न पाएन भनें उसले मच्चाउने होहल्लाको कष्ट कसले झेलोस् । फेरी यसरी बोल्न दिनु पनि पैंचो जस्तै त हो भोली उसको कार्यक्रममा यताको आयोजकले गम्म परेर भाषण गर्नु पर्ने नै हुन्छ । यसोउसो गर्दागर्दै ६ बज्छ र बल्ल प्रमुख अतिथि बोल्ने बेला हुन्छ । हामी युरोपमा आइपुगेको नेपालीले कसरी आफ्नो समयलाई बुडेती खातामा चढाउँदै छौं भन्ने बुझ्न यो पनि एउटा उदाहरण हो ।

हामी धेरैजसो अरु कसैको काम गर्छौं । कार्यक्र ३ घण्टा ढिलो सुरु गरेजस्तै ३ घण्टा ढिलो काममा पुग्ने हो भनें नतिजा के हुन्छ ? पैसा काटिन्छ र सके जागिरबाट पनि हात धुनु पर्दछ । त्यसैले हामी १५ मिनेट छिटो नै काम गर्ने ठाउँमा पुग्छौं । तर आफ्नै कार्यक्रममा चाहिं ? उहि बुड्ती खाताको चलन हरेक पटक दोहोरिईरहन्छ ।

स्वयं बेल्जियममा रहेका  बेल्जीक संघ संस्थाहरुको कार्यक्रम भनें फरक छ । कार्यक्रम आयोजना गर्नु ३ हप्ता अगाडि सबैलाई मेल वा चिठीद्वारा निमन्त्रणा गरिन्छ । सबैलाई सो कार्यक्रममा आउने वा नआउने बारेमा पहिले नै जानकारी मागिन्छ । सोही अनुरूप कार्यक्रम तय हुन्छ । कार्यक्रम भनेको समयमा सुरु हुन्छ र समयमा समाप्त हुन्छ । कसैको समय नष्ट पनि हुँदैन र व्यक्तिगत काम पनि विथोलिंदैन । अनी वक्ता पनि एकदमै कम हुन्छन् । सबै अतिथिलाई खादा लाउने कुरै भएन । सम्बोधन गर्यो सक्कियो । तर यही देशमा बसेका नेपालीहरूको कार्यक्रमको तरिका भनें सधैं उस्तै छ । हामीले कहिले सिक्ने ?

के हामी देश देखि परदेशसम्म नाम, पद, खादा र व्याचको भोका छौं ? हामीले मञ्चमा गएर बोल्न पाउँदा गर्व गर्छौं ? बोल्न नपाउँदा आक्रोशित हुन्छौं ? कार्यक्रम पछि समाचारमा नाम र सवै पद सहित समाचार आएन भनें वा कार्यक्रममा भाषण गर्ने सूचीमा आफ्नो नाम परेन भनें रिसाउँछौं ? हो हामी यस्तै गर्छौं । हामी जुन देशमा आएर बसेका छौं त्यो देशको राम्रो कुरा हामी कहिले सिक्छौं होला ? के हामी सिक्नै नसक्ने भइसक्यौं त ? पंक्तिकारलाई लाग्छ, हामी त्यति गएगुज्रेका पनि छैनौं, सिक्दै नसिक्ने । तर यसको लागि कसै न कसैले, कुनै न कुनै संघसंस्थाले नेतृत्व गर्नुपर्दछ । कसले सुरु गर्ने यो असल काम ?   

यो पनि पढ्नुहोस् दुबईका एक नेता तथा समाजसेवी डमरुलाल प्रसाद चतुर्वेदी उपाध्यायको शुक्रबारे दैनिकी 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय