
काठमाडौं, असोज १-
यात्रु सेवालाई स्तरीय बनाउने र सडक दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्यले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले म जिम्मेवार यातायात मजदुर अभियानको थालनी गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) आवद्ध युनियनले देशभरीका यातायात मजदुरहरुलाई अनुशासित र जिम्मेवार बनाउने उद्धेश्यले सबै यातायात मजदुरहरुलाई प्रतिवद्धता सहितको स्टिकर वितरण गरेर अभियानको थालनी गरिएको संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउन्न, सवारी चलाउँदा मोवाईल फोन प्रयोग गर्दिन, महिला, बालबालिका, अशक्त र बृद्धबृद्धालाई सम्मान गर्छु, तिब्र गतिमा सवारी चलाउँदिन, बाल श्रमको प्रयोग गर्दिन, तोकिएको भन्दा बढी भाडा लिन्न, ट्राफिक नियमको पालना गर्दछु र सबैसँग सभ्य भाषाको प्रयोग गर्दछु भन्ने प्रतिवद्धता स्टिकरमा उल्लेख गरिएको छ ।
देशव्यापी अभियान अन्तरगत पहिलो चरणको कार्यक्रम सोमबार प्रदेश नम्बर ३ को कलंकी चोकमा एक कार्यक्रमको आयोजना गरि जिफन्टका उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, संगठनका अध्यक्ष भीमज्वाला राई, उपाध्यक्षहरु ठाकुरकुमार श्रेष्ठ, विष्णु लामा, महासचिव नवराज घिमिरे लगायतका नेताहरु तथा यातायात मजदुरहरुले संयुक्त रुपमा सुरु गरेका थिए ।
अभियान अन्तर्गत संगठनका विभिन्न तहका कमिटीहरुले लगनखेल बसपार्क, सुन्धारा, एनएसी पार्क, कालिमाटी, अन्तराष्ट्रिय विमानस्थल, बालाजु, स्वयम्भुमा स्टिकर वितरण तथा मजदुरहरुका बीचमा अभियान चलाएका थिए ।
यसैगरी भक्तपुरको कमलविनायक, दोलखाको भीमेश्वर नगरपालिका, धादिङको नौविसे, चितवनको मुग्लिङ, काभ्रेको पनौति, काठमाडौंको पुरानो बसपार्क, काभ्रेको धुलिखेल, बनेपा, सिनामंगल, चावहिल, गोल्फुटार लगायतका स्थानका पार्कहरुमा अभियान सञ्चालन गरेका थिए ।
देशव्यापी रुपमा सञ्चालन गरिने यस अभियानबाट एक वर्षमा १ लाख यातायात मजदुरहरुलाई प्रतिवद्ध बनाईने संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।
यातायात मजदुरहरुको व्यवहार, भाषा शैली तथा गतिविधिका सम्बन्धमा आम नागरिकबाट गुनासाहरु आईरहेको र सडक दुर्घटना बढ्दै गईरहेकाले मजदुरहरुलाई अनुशासित बनाउने अभियान संगठनको तर्फबाट सञ्चालन गरिएको राईको भनाई छ ।
यो पनि पढ्नुहोस् मेनपावर कम्पनीको धरौटी बृद्धि प्रकरणः हात्ति आयो, हात्ति आयो फुस्सा