
काठमाडौं, भदौ २४-
सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ ।
कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका लागि आवश्यक सफ्टवेयरको परिक्षण गर्ने कार्य चलिरहेको बताए । उनका अनुसार बालाजु औद्योगिक क्षेत्रका केहि उद्योगहरुमा यसको परिक्षण समेत गरिएको छ । सो क्रममा अत्यन्तै थोरै समस्या देखिएको भन्दै त्यसलाई पनि सुधार्ने काम भइरहेको र श्रमिक तथा रोजगारदाता सूचिकरणका लागि कोष तयार रहेको अधिकारीले बताए । सरकारले सूचिकरण सुरु गर्ने घोषणा गर्नासाथ आफूहरु त्यसलाई व्यवहारमा लागु गर्न तत्पर रहेको उनको भनाई थियो ।
अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ, नेपाल आवद्ध परिषदले आयोजना गरेको श्रमिक भेलामा बोल्दै कार्यकारी निर्देशक अधिकारीले रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षिय समन्वयमा कोषको योजनाहरु लागु हुने बताए ।
सो अवसरमा जिफन्टका उपाध्यक्ष समेत रहेका अविक्ता रमेश बडालले विना सूचिकरण सामाजिक सुरक्षा कार्यक्रम लागु हुन नसक्ने बताए । उनले हरेक श्रमिक र रोजगारदाता अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा सूचिकरण हुनै पर्ने भन्दै यो यसअघि ट्रेड यूनियनले उठाउँदै आएको पञ्जिकरणकै राष्ट्रिय स्तरको कार्यक्रम भएको जानकारी गराए । सूचिकरण भएपछि हरेक श्रमिक तथा रोजगारदाताले आफ्नो पहिचान नम्वर प्राप्त गर्ने र कुनै कम्पनीको रोजगारी सकिएर अर्को कम्पनीमा रोजगारीमा जाँदा पहिलेकै पहिचान नम्वरका आधारमा सामाजिक सुरक्षा कोषमा श्रमिकको योगदान जारी रहने जानकारी दिए ।
अधिवक्ता बडालले सामाजिक सुरक्षा कोष ऐनको नियमावली हाल कानून मन्त्रालयमा छलफलका क्रममा रहेको र सो नियमावली पारीत हुनासाथ ऐन कार्यान्वयनमा आउने बताए । त्यसपछि रोजगारदाता र श्रमिक सूचिकरणको काम सुरु हुने उनको भनाई थियो । हरेक श्रमिकको बैंक एकाण्ट हुनु अनिवार्य रहेको भन्दै अधिवक्ता बडालले श्रमिकको बैंक खाता मार्फत नै सवै सुविधा प्रदान गरिने प्रष्ट पारे ।
जिफन्टका महासचिव जनक चौधरीले नेपालको श्रम बजार श्रम ऐन र नियमावली भन्दा धेरै टाढा रहेको भन्दै त्यसलाई व्यवस्थीत गर्न सामाजिक सुरक्षा कोष ऐनले सहयोग गर्ने धारणा राखे । कतिपय उद्योग, प्रतिष्ठानले यसअघि श्रमिकसँग कट्टी गरेर राखेको सञ्चयकोष रकम समेत हिनामिना गरेको भन्दै कोषले त्यसलाई पनि अव रोक्ने बताए । लामो समयको प्रयत्नपछि आएको सामाजिक सुरक्षा कोष ऐनका बारेमा आम श्रमिकको बुझाईमा एकरुपताका लागि श्रमिकको बृहत भेला आयोजना गरिएको उनको भनाई थियो ।
नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले सामाजिक सुरक्षा कोष ऐन अन्तर्गत प्रदान गरिने ५ वटा प्रस्तावित सुविधाका बारेमा जानकारी दिए । उनका अनुसार सो कोषबाट पहिलो चरणमा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना तथा वृद्ध अवस्था सुरक्षा योजना सञ्चालनको प्रस्ताव तयार पारिएको छ । यद्यपी ति योजना पारीत हुन भनें बाँकी नै छन् ।
कार्यक्रममा अण्टुफका सचिवालय सदस्य समेत रहेका अधिवक्ता युवराज लुईंटेलले श्रमिकले सरल र सहज तरिकाबाट सुविधा प्राप्त गर्ने बताए । जसले बढी योगदान गर्दछ उसले बढी लाभ प्राप्त गर्नेगरी नीति बनाइएको उनले प्रष्ट्याए । योगदानमा सहभागि गराउन आफ्ना रोजगारदातालाई झक्झक्याउने काममा लाग्न उनले श्रमिकलाई आग्रह समेत गरे ।
कार्यक्रममा देशभरीबाट तीनवटै युनियनमा आवद्ध अगुवा श्रमिक सहभागि थिए ।
यो पनि पढ्नुहोस् अव मेनपावर कम्पनीले पासपोर्टको भपाई दिनुपर्ने, कति समय पासपोर्ट राख्ने भन्ने सुरुमै जानकारी दिनुपर्ने