दोहा, भदौ २२-
कतारले एक्जिट पर्मिट सम्वन्धि व्यवस्था हटाएपछि यसले यहाँ कार्यरत लाखौं आप्रवासी कामदारले राहत पाउने अपेक्षा गरिएको छ । कतार सरकारको सो निर्णयपछि स्वदेश फर्किन चाहने हजारौं नेपाली लाभान्वित हुने अनुमान छ ।
करार अवधि सकिएपछि पनि रोजगारदाताले एक्जिट पर्मिट नदिएका कारण बाध्य भएर बँधुवा मजदुरका रुपमा कतारमा नै बस्न बाध्य आप्रवासी कामदार अव पहिलेभन्दा सहज रुपमा घर फर्किन पाउनेछन् । यसले कतारका लागि तत्कालिन नेपाली राजदूत मायाकुमारी शर्माले भनेजस्तै कतार खुल्ला जेल जस्तै नहुने अपेक्षा गरिएको छ ।
गत बुधवार कतार सरकारले एक्जिट पर्मिट सम्वन्धि व्यवस्था हटाएको छ । एक्जिट पर्मिट हटेपछि यदि रोजगारदाताले स्वदेश फर्किन अनुमति नदिएमा आवश्यक प्रकृया पुर्याएर सरकारी निकायबाट अनुमति लिएर आप्रवासी कामदार स्वदेश फर्किन पाउँछन् ।
कतार सरकारको सो निर्णयलाई अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ) लगायतले स्वागत गरेका छन् । यसैगरी एमनेष्टि र्ईन्टरनेशनलले पनि श्रमिकलाई शोषण गर्ने बाध्यकारी स्पोन्सरसीप पद्धती हटेकोमा यो सुधारको पहिलो कदम भएको भन्दै खुशी व्यक्त गरेको छ ।
कतार सरकारको पछिल्लो घोषणाले कतारमा कार्यरत ४ लाख भन्दा धेरै नेपाली लाभान्वित हुनेछन् । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले यसले कतारमा कार्यरत नेपालीलाई सहजता आउने विश्वास व्यक्त गरे । हाल नेपालबाट प्रतिवर्ष १ लाखको हाराहारीमा नेपाली श्रम गर्न कतार आउने गरेका छन् ।
यो पनि पढ्नुहोस् हरेक दिन बढ्दैछ रियाल, रिंगिट, दिराम र दिनारको मूल्य, सवैभन्दा धेरै दिनारको मूल्य बढ्यो
