स्वदेशमै महिनामा डेढ लाख आम्दानी

 

काठमाडौं, भदौ १०-

सीप र जागर भयो भने सानो लगानीले स्वदेशमै मासिक एक लाखदेखि दुई लाखसम्म कमाउन सकिन्छ, भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका छन् , झापा अर्जुनधारा९ का उद्यमी दिनानाथ शिवाकोटी ।

उनले आफ्नै घरमा शिव बाबाअचार उद्योग सञ्चालन गरेर विभिन्न २० परिकारका उत्पादन बजारमा ल्याएका छन् । दश वर्षअघि पाँच लाख पूँजी लगानी गरेर साना तथा घरेलु व्यवसायको रुपमा शुरु गरिएको अचार उद्योगबाट उनले अहिले कम्तीमा मासिक एक लाख ५० हजार आम्दानी गरिरहेको बताए ।

उनको उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर हेटौँडा, पोखरा र काठमाडौँका बजारमा समेत बढ्दै गएको छ । उद्योगबाट वार्षिक १० हजार किलोग्राम विभिन्न ब्राण्डका अचार उत्पादन हुँदै आएको छ ।

अहिलेसम्म ५० लाख लगानी भइसकेको सो उद्योगमा आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने भएकाले महिला दिदीबहिनीले सीप सिकेर यस्ता आयमूलक व्यवसायमा लाग्नुपर्ने उनको सुझाव छ ।

अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको उनको धारणा छ ।

पाँचवर्ष अघिसम्म विर्तामोड देवीबस्तीमा भाडाको घरमा सञ्चालन हुँदै आएको उक्त अचार उद्योगलाई सञ्चालक शिवाकोटीले अहिले आफ्नै घरमा सारेका छन् ।

उद्योगकै लागि भनेर ठूला ठूला दुई कोठे पक्की भवन उनले निर्माण गरेका छन् । एउटा भवनमा अचार उत्पादन हुन्छ र अर्कोमा तालीम सञ्चालन हुने गरेको छ । उनको उद्योगमा अकबरे दाना, अकबरे पेस्ट, टिमुरलसुनको पेस्ट, अकबरेतामा, मिक्स अचार, कागती दाना, कागती पेस्ट, किबी, स्याऊ, मेथीको पेस्ट, करेला लगायतका विभिन्न फ्लेवरका अचार बन्ने गरेको छ ।

उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, किबी, बासको तामा, टिमुर, लसुन, करेला लगायतका फलफूल झापा र इलामस्थित कृषकको खेतबारीबाटै ल्याइने गरिएको उनले बताए ।

उद्योग खोल्नु अघि उनी इटहरीको प्रसिद्ध रिजाल टासी इण्डस्ट्रिज प्रालिलाई झापाबाट कच्चा पदार्थको रुपमा फलफूल पठाउने व्यापार गर्दथे । त्यही क्रममा अचार बनाउने सीप सिक्न पाएपछि शिवाकोटीले रिजाल टासी उद्योगका मेनेजर केडी शर्मा र पर्चेज मेनेजर विष्णु न्यौपानेको प्रेरणाले अचार उद्योगमा होमिएको बताए ।

अर्जुनधारा नगरपालिकाका कृषि अधिकृत सालिकराम भट्टराईले शिवाकोटी झापाको अचार उद्यमी मात्र नभएर एउटा कुशल प्रशिक्षक भएको बताए । शिवाकोटीले विगत पाँच वर्षदेखि पूर्वाञ्चलका विभिन्न जिल्लामा सय भन्दा बढी समूहलाई अचार बनाउने तालिम प्रदान गरिसकेका छन् ।

उनीसँग तालीम लिएकाहरुले झापामा दर्जनौं घरेलु उद्योग सञ्चालन गर्न थालिसकेका छन् । म आफू मात्र उद्योगी भएर हुँदैन, अरुलाई पनि सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोचाइले तालीमलाई प्राथमिकता दिइरहेको छु’–शिवाकोटीले भने ।

झापाको मेचीनगर, विर्तामोड, कनकाई, दमक लगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा अचार उद्योग सञ्चालनमा आइरहेका छन् जसको श्रेय शिवाकोटीलाई नै जान्छ ।

हालसम्म हातले अचार उत्पादन गरिरहेको जनाउँदै अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन थाल्ने हो भने थोरै अवधिमा धेरै उत्पादन गर्न सकिने उनी बताउँछन् । उनले अर्जुनधारा नगरपालिकासँग अचार बनाउने हाइड्रोलिक मेसिन खरिदका लागि अनुदान माग गरिएको बताए । भद्रपुरस्थित साना तथा घरेलु उद्योग कार्यालय झापाले आर्थिक वर्ष २०७४७५ मा सात वटा अचार उद्योग दर्ता भएको जनाएको छ । (रासस)

यो पनि पढ्नुहोस् कुखुराबाट महिनामा एक लाख कमाउँछिन् गीता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय