नेपालगञ्ज, भदौ ९-
स्नातकोत्तर गरेर करिब ११ वर्ष विभिन्न ठाउँमा जागिरको अनुभव लिएर हाल कुखुरापालन गरिरहेकी बाँके जानकी गाउँपालिका–२ निवासी गीता मौर्य जिल्लामै नमुना कुखुरापालक बन्न सफल भएकी छन् ।
दुईवटा विषयमा स्नातकोत्तर पास गरेकी मौर्यले सञ्चालन गरेको कुखुरा फार्म जिल्लाकै उत्कृष्ट बनेको छ । सुरुमा केही समस्या आए पनि अहिले अण्डा र कुखुरा बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएको उनले बताइन् ।
नेपालगञ्जको बीपी चोकबाट करिव नौ किलोमिटर पूर्व गीताको कुखुरा फार्म छ । करिब एक बिघा जग्गामा दुई वटा छुट्टा–छुट्टै फार्ममा छ हजार कुखरा राखिएको छ । तीन हजार कुखुरा हुर्कदैछन् भने तीन हजार कुखुराले अण्डा दिन सुरु गरिसकेका छन् ।
समय र मौसम अनुकूल औषधि खुवाउने, कुखुराको जाँच गर्ने सबै काम गीताले आफै गर्छिन् । सुरुमा उनलाई कुखुरापालनको सोच थिएन । जागिरको क्रममा दक्षिण अमेरिका पुग्दा उहाँले त्यहाँ कुखुरापालन व्यवसायबाट राम्रो फाइदा हुन्छ भन्ने थाहा पाइन् ।
तीन वर्ष त्यहाँ बस्दा उनले कुखुराको स्याहार गर्ने तरिका, बिरामी हुँदा उपचार गर्ने विधि, रोगका लक्षणलगायत धेरै कुरा सिक्ने अवसर प्राप्त गरिन् । तीन वर्षपछि नेपाल फर्केर आमा बुबासँग सल्लाह गरी पोल्ट्री फार्म दर्ता गराइन् ।
सुरुमा परिवारले २० कट्ठा जमिनलाई बैङ्कमा राखेर ऋण उपलब्ध गराइदिए । विदेशमा सिकेको ज्ञान र सीपले सहयोग गरे पनि कतिपय आवश्यक सामग्री, उपकरण उपलब्ध नहुँदा गीताले सुरुका दिनमा निकै सङ्घर्ष गर्नुप¥यो ।
चल्ला नहुर्किंदासम्म कति दिन खाना समेत खान फुर्सद नभएको स्मरण गर्दै गीताले मिहिनेत गर्दै जाँदा सफल भएको बताइन् ।
गीताको फार्ममा अहिले छ हजार कुखुरा बेच्नका लागि तयारी अवस्थामा छन् । तीन हजारले अण्डा पार्छन् भने तीन हजार कुखुरा तयार छन् । एक दिनमा करिब २६ सय कुखुराले अण्डा पार्छन् । गीताले ग्राहकलाई फार्मबाटै प्रतिअण्डा आठ रुपियाँ ५० पैसामा बिक्री गर्छिन् । यसरी अण्डाबाट मात्रै महिनामा ५० देखि ६० हजारसम्म कमाइ हुन्छ भने कुखुरा बेचेर महिनामा ५० हजारभन्दा बढी आम्दानी हुन्छ । मासिक एक लाखभन्दा बढी आम्दानी भइरहेकोले अहिले आफू निकै सन्तुष्ट रहेको गीताको भनाइ छ ।
अझै धेरै फार्म खोलेर ठाउँठाउँमा कुखुराको अण्डा र मासु उत्पादन गरी देशमा मात्रै होइन विदेशमा समेत निर्यात गर्ने उनको सोच छ । एउटा सफल महिला व्यवसायी भएर अरुलाई पनि आत्मनिर्भर बनाउने र पढेर जागिर मात्रै गर्नुपर्छ भन्ने सोच हटाउँदै स्वदेशमै बसेर केही गर्ने प्रेरणा दिने मन रहेको गीताको भनाइ छ ।
पढेलेखेकाले सरकारी जागिर र एनजीओ, आईएनजीओमा मात्रै काम गर्ने प्रवृत्ति हटाउनुपर्छ, उनले भनिन्, काम सानो र ठूलो हुँदैन तर सोच सधै सकारात्मक राखेर अघि बढेमा अवश्य सफल भइन्छ ।
मधेसी समुदायकी गीतालाई शिक्षा, चेतनासँगै आत्मविश्वासले अघि बढ्न प्रेरित ग¥यो । उनका आमाबुवाले आफ्ना छोराछोरीमा कुनै विभेद गरेनन् । तीन दिदीबहिनी र एक दाजुसँगै लेखपढ गरेर गीता अहिले सफल व्यवसायी बनेकी छन् । उनको प्रगति देखेर परिवार र छिमेकी दङ्ग छन् ।
यो पनि पढ्नुहोस् जसले परदेशमा लोभलाग्दो प्रगति गरेका छन्