जसले परदेशमा लोभलाग्दो प्रगति गरेका छन् 

रामप्रसाद ढुंगेल, युएई, भदौ ८-

नेपालको अर्थतन्त्रमा रेमिट्यान्स मार्फत् भित्रिने पैसाको ठूलो भूमिका छ । वैदेशिक रोजगारीमा देशबाट बाहिर रहेका लाखौं नेपालीका परिवार रेमिट्यान्सकै भरमा जीवनयापन गरिरहेका छन् । नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको योगदानलाई कसैले कम आँक्न सक्दैन ।

वैदेशिक रोजगारीका लागि युएईमा वैधानिक तरिकाले आएका करिब २ लाख ५० हजार नेपालीहरु पनि रेमिट्यान्ससँग प्रत्यक्ष सम्बन्ध राख्छन् । भिजिट भिसा र भारतीय मार्ग हुँदै रोजगारीका लागि आएका  र युएईको सरकारी निकायमा वैधानिक रुपमा दर्ता भएका व्यवसायी र तिनका परिवार गरेर करिब तीन लाखभन्दा बढी नेपालीहरु युएईमा रहेको अनुमान छ । यसरी विविध उदेश्यले युएईमा कार्यरत नेपालीहरुलाई सुरक्षित तरिकाले नेपाल पैसा पठाउन वैधानिक रेमिट्यान्सका पक्षमा सन् २००४ देखि युएईमा रहेका लाखौं नेपालीहरुलाई उत्पे्ररित गरिरहेका क्रियाशिल व्यक्ति हुनसन्तोष प्रसाई । युएईको भरपर्दो र विश्वासिलो एक्सचेन्ज कम्पनी युएई एक्सचेन्जमा नेपालको मार्केटिङ विभागको प्रमुखको जिम्मेवारी बहन गरिरहेका प्रसाई रेमिट्यान्स सरोकार समूह युएईका एक जिम्मेवार अभियन्ता पनि हुन् ।

२०५२ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तिर्ण गरेर शंकरदेव क्याम्पस, काठमाडौंमा वाणिज्य शास्त्रमा भर्ना भएका सन्तोष झापाबाट उच्च शिक्षाको सपनामा नै काठमाडौं पसेका हुन् । काठमाडौं पसेपछि उनले परिवारलाई आर्थिक बोझ दिनु हुन्न भन्ने सोचेर भुकुटीमण्डपमा दाजुले सञ्चालन गरेको पसलमा काम गर्न थाले । पढाईलाई निरन्तरता दिंदै कहिले शिक्षण पेशा अंगाले त कहिले नीजि कम्पनीमा काम गरे ।

समकालीन साथिहरु अष्ट्रेलिया, युरोप, अमेरिका गइरहेको देखेका सन्तोषको ध्यान भने युएईको एक रेमिट्यान्स कम्पनीको विज्ञापनले तान्यो । युएईको एक प्रतिष्ठित रेमिट्यान्स कम्पनी युएई एक्सचेन्जले युएईमा बढ्दै गएको नेपालीको संख्यालाई मध्यनजर गर्दै नेपाली कर्मचारीहरु माग गरेको विज्ञापन नेपालको एक दैनिक पत्रिकामा देखेपछि सन्तोष पनि युएई जाने सपना बोकी एक मेनपावर कम्पनीमा अन्तर्वार्ता दिन पुगे । ६/७ सय युवाहरुको भीडमा अन्तर्वार्ता दिन मिसिएका उनी विभिन्न चरणका अन्तर्वार्तामा पास हुँदै युएई एक्चेन्जमा काम गर्न जाने आठ जना मध्ये एक भए ।

स्थापित कम्पनीले कामदार भर्ना गर्दा भिषा, टिकट सबै आफै व्यवस्था गरेको हुन्छ । विज्ञापनमा पनि सबै निःशुल्क भनिएको थियो । तर मेनपावर कम्पनीले रकम बुझाउन दबाब दिन थालेपछि अन्तर्वार्ता पास भएका आठै जनाले युएई एक्सचेन्जलाई सो कुराको जानकारी गराए । अन्ततः युएई एक्सचेन्जका प्रतिनिधि रवि पण्डित आफै काठमाडौं आएर अन्तर्वार्ता पास भएका आठै जनालाई व्यक्तिगत रुपमा काठमाडौंको अन्नपूर्ण होटलमा भेटेर भिसा दिने र कुनै पनि रकम कसैलाई नबुझाइकन युएई आउने बाटो सुझाएर युएई फर्किए । यही बाटो पहिल्याउँदै ललितपुरका सुरज क्षेत्री, गोरखाका कुलप्रसाद ढकाल, झापाका अनुप मुखिया, लतितपुरकै श्याम बजगाईं, चितवनका हरि शर्मा, सोलुका लाक्पा शेर्पा र काठमाडौंका कृतिमान तामाङका साथमा सन्तोष प्रसाई सन् २००४ जनवरीको ४ तारिख युएई एक्सचेन्जमा काम गर्नका लागि युएई आईपुगेका थिए ।  

विश्वका हरेक देशमा वैधानिक तरिकाले रकम आदानप्रदान गर्ने युएईको स्थापित युएई एक्सचेन्जको कस्टमर रिप्रेजेन्टेभिभ काउन्टर स्टाफका रुपमा बरदुबई शाखाबाट काम शुरु गरेका सन्तोषले नेपालीहरुका अतिरिक्त सबै देशका ग्राहकलाई सेवा गर्दै गए । बरदुबई युएईका नेपालीहरुको लागि छुट्टीमा भेटघाट गर्ने, आफन्तलाई पठाएको कोसेली आदानप्रदान गर्ने तथा विभिन्न सामाजिक, सांगीतिक लगायत सबै प्रकारका कार्यक्रम हुने केन्द्र बिन्दुमै सन्तोषसको कार्यस्थल परेका कारण उनलाई सबै नेपालीसँग घुलमिल हुन धेरै समय लागेन ।

रोजगारीका क्रममा युएईमा रहेका हजारौं नेपालीहरु सन्तोषको सरल व्यवहार र सेवाबाट प्रभावित उनैलाई खोजीखोजी नेपालमा रहेका आफन्तलाई पैसा पठाउन युएई एक्सचेन्ज आउन थाले । पैसा पठाउनेमात्र नभएर नेपालका बैंकहरुमा युएईबाटै खाता खोलेर आफ्नै नाममा पैसा जम्मा गरिदिने, कामदारको मासिक तलब भुक्तानी दिने लगायत अन्य बैंकिङ सेवाहरु प्रदान गर्दै जाँदा युएई एक्स्चेन्जले सन्तोषको कामको मूल्याङकन गर्दै गयो । सन्तोषले पनि यस क्षेत्रका प्राविधिक र विषयगत तथ्यहरुमा विशेषज्ञता हासिल गर्दै गए । काउन्टर स्टाफबाट काम सुरु गरेका सन्तोषले २ वषभित्रै सुपरभाइजरमा पदोन्नति पाए ।

सुपरभाइजर पदमा रहँदा उनी कार्यरत शाखाले राम्रो व्यापार गरेपछि उनले टप परफरर्मिङ, बेस्ट सुपरभाइजर जस्ता विभिन्न अवार्डहरु पाउँदै गए । काममा लगनशीलता, दक्षता, नियमितता र अनुशासनका कारण सन्तोषले सन २००८ मा ब्राञ्च मेनेजरको पदमा पदोन्नति पाएर अबुधाबीको मुसाफा ३४, रुइस र दुबईको मुसल्ला टावर, ओल्ड मेथा, गोल्डसुक, सारजाको नेसनल पेन्टमा रहेका युएई एक्सचेन्जका शाखाहरुमा काम गर्दै गए ।

सबै शाखाहरुमा राम्रो छाप छोडेका उनलाई युएई एक्सचेन्जले नेपालीहरुको सबै काम सम्पन्न गर्ने नेपालको मार्केटिङ प्रमुखको ठूलो जिम्मेवारी सन् २०१७  जनवरीदेखि उनैलाई दियो । हाल उनले नेपाल र नेपालीसँग सम्बन्धित सबै कामहरु सम्हालिरहेका छन् ।

उनकै परिकल्पनामा युएई एक्सचेन्जले नेपाल र नेपालीहरुलाई लक्षित गर्दै विभिन्न परियोजनाहरु लागू गरिरहेको छ । यसरी नै नेपाली चाडपर्वहरुको अवसर पारेर नेपाली श्रमिकहरुलाई लक्षित गर्दै विभिन्न पुरस्कारहरु लागू गर्न सन्तोषले प्रेरित गरिरहेका हुन्छन् । नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर युएई एक्सचेन्जले बनौ लखपति उपहार योजना सार्वजनिक गर्नमा पनि सन्तोषले योगदान गरेका थिए । हिमालयन बैंक र ग्लोबल आईएमई बैंकको सहयोगमा सञ्चालित यस योजनामा ३ जना नेपालीहरुले क्रमशः तीन, दुई र एक लाख गरी जम्मा ६ लाख रुपैयाँ पुरस्कार हात पारेका छन् ।

वैदेशिक रोजगारीमा विभिन्न देशमा गएका नेपालीहरु अधिकांशको आफ्नो व्यक्तिगत बैंक खाता नहुने र कमाएको पैसा अरुकै नाममा पठाउनु पर्ने जसले फजुल खर्च बढ्ने, रेमिट्यान्सको रकम विलासितामा खर्च भइरहेको परिप्रेक्ष्यमा सन्तोषले धेरै नेपालीहरुलाई नेपालका विभिन्न बैंकहरुमा खाता खोलिदिएका छन् ।

वैधानिक तरिकाले युएईबाट आफन्तहरुलाई पैसा पठाउन काउन्सिलिङ गर्दै, नेपालीहरुलाई पैसा बचत गर्न उपायहरु सुझाउँदै, जनसम्पर्क बढाउँदै, रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रशिक्षण दिँदै र नेपाली समुदायमा युएई एक्चेन्जका योजनाहरुका बारेमा व्याख्या गर्दै हिजोआज सन्तोषको समय बित्ने गर्छ । सन्तोषको साथमा सोही विभागमा करिब १ सयजना नेपाली कर्मचारीले युएई एक्सचेन्जको नेपालतर्फको व्यापारमा साथ दिइरहेका छन् । एउटा नेपालीले परदेशमा गरेको यो लोभलाग्दो प्रगति हो ।

यो पनि पढ्नुहोस् विदेशमा नेपालीले विताएको जवानीको पनि हिसावकिताव गरिनु पर्छः मन्त्री विष्ट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय