
काठमाडौं, भदौ ४-
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०१९ का लागि दक्षिण कोरिया जान लिइएको भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण आज(सोमबार) देखि सुरु हुँदैछ । भाषा परीक्षा उत्तीर्ण गरेकाहरुका लागि काठमाडौँ उपत्यकामा चारवटा अस्पतालमा स्वास्थ्य परिक्षणको व्यवस्था छ ।
स्वास्थ्य परिक्षणका लागि तोकिएका अस्पतालहरुमा निजामती अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, पाटन अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल छन् । ईपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार ति अस्पतालबाट प्रत्येक दिन एक हजारको दरले स्वास्थ्य परीक्षण गरिसक्ने गरी सम्झौता भएको छ ।
स्वास्थ्य परीक्षणमा ‘फिट’ भएका र प्रहरी प्रतिवेदन आएकाले भदौ ८ गतेबाट रोजगार आवेदन फाराम भर्न पाउने छन् ।
रोजगार आवेदनका लागि आवेदकले पाँच डलर वा ५ सय ५० रुपियाँ ईपीएस शाखाको खाता भएको बैङ्क एनआईसी एसिया बैङ्कको खातामा जम्मा गर्नु पर्नेछ । शाखाले आवेदकलाई सजिलोका लागि आठ दिनसम्म ईपिएस शाखाकै कार्यालयबाट बैङ्किङ सेवा दिने गरी व्यवस्था मिलाएको छ ।
यो पनि पढ्नुहोस् नेपालको धारणाः कामदार जाँदा लाग्ने खर्च रोजगारदाताले तिर्नुपर्छ