
काठमाडौं, भदौ ३-
नेपालले मलेसियासँग नेपाली कामदार पठाउँदा लाग्ने खर्च रोजगारदाताले तिर्नुपर्ने बटम लाइन राखेको छ । मन्त्रालयले यसबारेमा मलेसियास्थीत नेपाली दूतावासलाई सोही अनुरुप कुरा गर्न जानकारी गराइसकेको छ ।
मलेसियाले दुई देशबीच एमओयू गर्न तयार रहेको र एमओयूमा राखिएका विषयमा नेपालले सैद्धान्तिक सहमति जनाइसकेको विषय यसअघि सार्वजनिक भएको थियो । मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले छिट्टै सो एमओयू मन्त्री परिषद बैठकमा जाने र दुई देशबीच सम्झौता हुने बताएका थिए ।
मलेसियाको प्रस्तावित एमओयू मन्त्रालयमा आइसकेको हो भन्ने प्रश्नमा श्रम मन्त्री गोकर्ण विष्टले हालसम्म सो नआइसकेको बताए । “विविध ठाउँमा र विविध चरणमा छलफल जारी छ” मन्त्री विष्टले भने ।
नेपालबाट मलेसियामा रोजगारीका लागि जाने प्रकृया अहिले रोकिएको छ । सरकारले मलेसियाको भिषा प्रकृयामा सहयोग गर्ने नाममा खडा गरिएका संस्थाहरुलाई अवैधानिक ठहर गर्दै खारेज गरेपछि भिषा प्रकृया नै रोकिएको छ । प्रतिव्यक्ति १९ हजारको हाराहारीमा रकम उठाउने ति संस्थाहरुले ५ बर्ष भित्रै अरवौं रकम उठाइसकेका थिए । त्यसैले सरकारले खारेज गरेको हो ।
यसैबीच मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत कुमार राज खरेलले मलेसिया र नेपालबीच एउटा निश्चित प्रणाली मार्फत कामदार आदान प्रदान गर्ने विषयमा भइरहेको प्रगति सन्तोषजनक ढंगमा अगाडी बढेको बताएका छन् । मलेसियाको द स्टार अनलाइनका अनुसार कार्यवाहक राजदूत खरेलले दुई देशबीच हुने सहमतिले नेपाली कामदार मलेसिया आउने प्रकृयामा सहजता ल्याउने विश्वास व्यक्त गरे ।
“हालसम्म भएको प्रगति सन्तोषजनक छ” खरेलले भने “त्यसैले चाँडै अहिलेको समस्या समाधान हुनेमा आशावादी छु ।”
यो पनि पढ्नुहोस् एक महिना भित्रमा मलेसियाको रोजगारी खुल्न सक्ने, सरकारी सम्झौतामा कामदार जाने