काठमाडौं, साउन २९-
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले नेपालसँग छिट्टै कामदार लिने विषयमा एमओयुमा हस्ताक्षर हुने बताएका छन् । उनले सो सम्झौताले हाल देखिएको समस्या हल गर्ने समेत बताए ।
हामी नेपालसँग सरकारी तहमै सम्झौता गर्न चाहन्छौं उनले भने यो बंगलादेशसँग यसअघि गरिएजस्तै हुनेछ । संसदमा आयोजित पत्रकार सम्मेलनमा मलेसियाली प्रधानमन्त्री महाथिरले मलेसियाले अव विदेशी कामदार भित्रियाउने विषयमा एउटै प्रणाली अपनाउने जानकारी दिए ।
गत जुलाई देखि नेपालबाट मलेसियामा कामदार गएका छैनन । नेपाली कामदारमाथि चर्को आर्थिक शोषण गर्दै आएका संस्थाहरुलाई सरकारले अवैध ठहर गर्दै बन्द गरिदिएपछि मलेसियामा विदेशी कामदार लिने नीति पुनरावलोकनका लागि ठूलो दवाव परेको छ । श्रम मन्त्री गोकर्ण विष्टले श्रमिक ठगिने गरी कुनै सम्झौता नगरिने बरु मलेसियाको रोजगारी बन्द भएपनि कुनै फरक नपर्ने अडान लिंदै आएका छन् ।
मलेसियाले विदेशी कामदार लिने एउटै प्रणाली अपनाउने प्रधानमन्त्री महाथिरले बताए । उनले हाल मलेसियाले अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारको समस्या झेलिरहेको भन्दै कामदार लिने एउटै प्रणाली बनाइने बताएका हुन् ।
बंगलादेश, नेपाल र अन्य मुलुकले एउटै प्रणाली अपनाउने छन् संसदमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री महाथिरले भने । उनले हाल बंगलादेशी कामदार लिन अपनाइएको १० वटा आधिकारीक एजेण्टलाई खारेज गरिएको जानकारी समेत गराए । यसले कामदार लिने विषयमा एकाधिकार कायम गरेको छ । उनले आगामी दिनमा सवै एजेण्टलाई प्रतिस्पर्धामा कामदार लिन दिने वातावरण निर्माण गरिने जानकारी दिए ।
प्रधानमन्त्री महाथिरले हालको कामदार लिने नीतिमा पुनरावलोकन जरुरी रहेको भन्दै त्यसका लागि स्वतन्त्र कमिटी बनाउनु आवश्यक रहेको बताए । यसका लागि गृह मन्त्रालय र मानव संशाधन मन्त्रालय बीच संयुक्त कार्यदल बनाएर काम गर्नु आवश्यक रहेको उनको भनाई थियो ।
यो पनि पढ्नुहोस् मन्त्री विष्टले व्यवसायीलाई भनेः धरौटी घट्दैन, मर्जरमा जानुस्
