
काठमाडौं, साउन २८-
नवलपरासीका कृष्ण राईको युएईमा गत बैशाख ७ गते बेलुकी ड्युटी सकेर आफू बस्ने कोठातर्फ फर्किंदै गर्दा दुर्घटनामा परेर मृत्यु भयो । लुलु हाईपर मार्केटमा कार्यरत उनी ड्युटी सकेर साईकलमा कोठा फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।
कम्पनी राम्रो थियो । त्यसैले उनी दुर्घटनामा पर्ने वित्तिकै घरमा खवर पठाईयो । मृतकका दाजु ज्ञानु कम्पनीकै खर्चमा युएई गए र भाइको शव लिएर चार पाँच दिनमै नेपाल फर्किए । कम्पनीकै सहयोगका कारण यति छिटो यो सवै सम्भव भयो ।
दुर्घटनामा मृत्यु भएका कृष्णको क्षतिपूर्ति लिने प्रकृयामा उनी कार्यरत कम्पनी र युएईस्थीत नेपाली दूतावासले प्रकृयालाई द्रुत गतिमा अगाडी बढाए । जसका कारण तीन महिना भित्रैमा अदालतले मृतक कृष्णको परिवारले २ लाख दिराम(झण्डै ५८ लाख) क्षतिपूर्ति पाउने फैसला गरिसकेको छ ।
स्वयं हकदार युएईमै उपस्थीत भएर रकम लिन नसक्ने भएका कारण त्यसका लागि आवश्यक कार्य गर्न परिवारको मञ्जुरीनामा(पावर अफ अटर्नी) नेपाली दूतावासको नाममा दिनु पर्दछ । यसैगरी पारिवारिक नाता खुल्ने कागजात समेत चाहिन्छ । ति कागजात कन्सुलर सेवा विभाग हुँदै काठमाडौंस्थीत युएईको दूतावासमा बुझाईन्छ । युएई दूतावासले प्रमाणिकरण गरेपछि ति कागजात पुनः कन्सुल सेवा विभागमा बुझाएपछि गन्तव्य मुलुकको दूतावास पठाइन्छ । ति कागजातका आधारमा क्षतिपूर्तिको थप प्रकृया अगाडी बढ्दछ । प्रमाणिकरणका लागि राई परिवारले एक महिना भन्दा अगाडी नै ति कागजात काठमाडौंस्थीत युएईको दूतावासमा बुझाएका थिए ।
नेपालमा दूतावास खोलेको केहि महिनासम्म यस्ता कागजात निःशुल्क प्रमाणिकरण गर्ने दूतावासले हाल यसका लागि दुईटा प्रावधान बनाएको छ । छिट्टै चाहिने भएमा प्रति पेज रु. ४ हजार ६ सय तिर्नु पर्दछ । निःशुल्क रुपमा प्रमाणिकरण गराउने भएमा त्यसका लागि केहि महिना पर्खिनु पर्दछ । निःशुल्क रुपमा नै कागजात प्रमाणिकरण गराउन एक महिना अगाडी नै दूतावासमा कागजात बुझाएको राई परिवारले त्यसका लागि अझै लामो समय लाग्ने भएपछि अन्ततः आइतवार ९ हजार २ सय शुल्क बुझाएर कागजात प्रमाणिकरण गर्यो ।
मृतकका दाजु ज्ञानुले यस्तो दुःखको कुरामा सहयोग गर्नुपर्नेमा पैसा लिनु राम्रो नभएको बताए । उनले भनेः हामीले पैसा नतिरी नै कागज बनाउन भनेर पर्खिएको, तर उता(युएई) बाट छिटो रकम लैजानु भनेर कम्पनीले ईमेल गरेपछि पैसा तिरेर भएपनि कागज बनाएर(प्रमाणिकरण गरेर) पठाउने निधो गर्यौं ।
कन्सुलर सेवा विभागका कानून शाखा प्रमुख किरण कुमार गुरुङले पहिले निःशुल्क भएपनि पछि नेपालस्थीत युएईको दूतावासले कागजात प्रमाणिकरण छिट्टै आवश्यक पर्नेले शुल्क तिर्नुपर्ने र निःशुल्क रुपमा गराउन चाहनेले आवश्यक समय पर्खिनु पर्ने जानकारी गराएको बताए । सामान्यतया मृतकको क्षतिपूर्तिका लागि प्रमाणिकरण गर्ने कागजात दुई देखि तीन पृष्ठको हुने गर्दछ ।
राईको क्षतिपूर्ति घटनामा सघाएको संस्था सिएमआईआरका कार्यक्रम अधिकृत वसन्त घिमिरेले सार्वजनिक सुचना समेत नदिई यसरी रकम उठाउनु ठिक नभएको बताए । घिमिरेले मलेसिया जाने कामदारसँग उठाइने रकम रोक्न बलियो कदम चालेको सरकारले मृतकको क्षतिपूर्ति लिने कागजात प्रमाणिकरणमा उठाइने गरेको शुल्क हटाउन कुटनीतिक पहल गर्नुपर्ने धारणा राखे । “सवै घटनमा पीडितले क्षतिपूर्ति पाउँदैनन्” घिमिरेले भने “त्यो अवस्थामा १२/१३ हजार भनेको पनि परिवारका लागि ठूलो रकम हो ।”
यो पनि पढ्नुहोस् रमादानमा विदेशमा हराएको छोरोको फोन पर्खिंदै बाबु आमा