‘व्लड मनी’का लागि उठाएको रकम जथाभावी खर्च, अव कसरी उठाउने ?

काठमाडौं, साउन २७-

साउदी अरवमा जेल परेका प्रेम राईको रिहाईका लागि संकलित व्लड मनी बापतको रकम खर्चको हिसावले एउटा गम्भीर प्रश्न उठाएको छ । अव भोलीको दिनमा यसरी नै कुनै अमुक उद्धार समितिलाई पैसा उठाउन दिने की नदिने ? अनी कुनै व्यक्तिको रिहाईका लागि आफ्नो खल्तीबाट रकम सहयोग गर्ने की नगर्ने ?

राईको रिहाईका लागि प्रेम राई बचाउन अभियान सञ्चालन गरिएको थियो । विश्वभरी छरिएका नेपालीले संकलन गरेको रकमबाट आवश्यक रकम तिरेर प्रेम राई नेपाल आइपुगेका छन् । यहिबीचमा अभियान मुल समितिले सार्वजनिक गरेको आम्दानी खर्चको विवरणले आगामी दिनमा अन्य अभियानहरु यसरी नै सञ्चालन गर्न दिने विषयमा समेत प्रश्न उठाएको छ ।

मुल समितिका तर्फबाट सार्वजनिक गरिएको खर्चमा सञ्चार तथा कार्यालय व्यवस्थापनमा ६ लाख ९ हजार १५ रुपैंया खर्च भएको देखाइएको छ । जवकी सो अभियानका क्रममा कुनै कार्यालय नखोलिएको स्वयं मुल समितिकी कोषाध्यक्ष निता ताम्वूछाले स्वीकारेकी छन् । उनले खर्चका शिर्षक राख्दा केहि नमिलेको भएपनि आफूहरुले एकपैसा पनि गलत ठाउँमा खर्च नगरेको दावी गरिन् । उनले सो रकम विभिन्न ठाउँमा फोन सम्पर्क गर्दा खर्च भएको बताएपनि दुई बर्षभित्रमा ६ लाख भन्दा बढीको फोन गरिएको मान्न गाह्रै पर्दछ ।

समन्वय खर्च(साउदी) शिर्षकमा पनि ३ लाख खर्च गरिएको छ । तर कसलाई कुन प्रयोजनमा यति ठूलो रकम दिइयो भन्ने कुरा मुल समितिले प्रष्ट पार्न सकेको छैन । 

यसैगरी बैठक तथा अतिथि सत्कार खर्च शिर्षकमा १ लाख ८८ हजार ७ सय ४७ रुपैंया खर्च भएको उल्लेख छ । जेलमा थुनिएको एक बेकसुर व्यक्तिलाई रिहा गराउन विभिन्न देशमा पसिना चुहाएर नेपालीले १० ५ रियाल, दिराम दिनार वा रुपैंया संकलन गरेर उठाएको रकम यसरी खर्च गर्नु के जायज हो ? झण्डै दुई लाख रुपैंया यसरी खर्च हुनुले मुल समितिको नियतमा नै शंका उव्जाएको छ ।

यसैगरी प्रेम परिवार खर्च शिर्षकमा ८ लाख ८० हजार खर्च देखाइएको छ । यति ठूलो रकम कुन काममा खर्च गर्नुभयो भन्ने प्रश्नमा मुल समितिकी कोषाध्यक्ष नीताले प्रेमको परिवार काठमाडौं आउँदा होटलमा बस्न र प्रेमका बाबुआमालाई सहयोग स्वरुप दिइएको रकम भएको बताइन् । “हामी अरवपति, खरवपति होइनौं” देशपरदेशसँगको कुराकानीमा “नीताले भनिन् प्रेमको परिवार आउँदा पनि हामीले होटलमा नै राखेका हौं ।” उनका अनुसार विभिन्न कामले प्रेमको परिवारका सदस्यहरु काठमाडौं आउँदा चावहिल स्थीत जिमि गेष्ट हाउसमा राख्ने गरिएको थियो । उनले सोही गेष्ट हाउसमा गएर त्यहाँ तिरिएको विल हेर्न आग्रह गरिन् । यसैगरी ‘जनमानस’कै आग्रहमा प्रेमका बाबुआमालाई दुई लाख सहयोग दिइएको समेत उनको भनाई छ ।

संकलित ९२ लाख ८ सय ५१ मध्ये २५ लाख ३३ हजार ५ सय ४७ रुपैंयाँ बैंकमा मौज्दात देखाइएको आम्दानी खर्चले विविध प्रश्नहरु उठाएको छ । के अव यसरी नै केहि व्यक्तिलाई रकम उठाउन र खर्च गर्न स्वतन्त्र छोडिदिने ? वा कुनै राज्यले व्यवस्था गरेको वैधानिक प्रकृया अनुसार चलाउने ? बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड बैदेशिक रोजगारको क्षेत्रमा कल्याणकारी काम गर्ने जिम्मेवार निकाय हो । भविष्यमा यस्तै अभियान चलाउँदै सोहि निकाय मार्फत जानु पर्ने बाध्यकारी व्यवस्था गर्ने वा अन्य कुनै स्थायी संरचना बनाउने ? यसमा छलफल गर्न ढिला भइसकेको छ । यसअघि अनिश खालिङ राई तथा रामचन्द्र तिमल्सीनाको घटनामा पनि यसरी नै उठाइएको ठूलो रकम बेखवर बनाइएको थियो । ठूलो दवाव पछि सो मध्ये केहि रकमको पत्तो लागेको छ। अहिले प्रेम राईको घटनामा पनि सोही पुनरावृत्ति भएको छ ।

कोहि रहरले वैदेशिक रोजगारमा जाँदैन । त्यसरी दुःख गरेर कमाएको पैसा कसैलाई पनि जथाभावि खर्च गर्ने मन हुन्न । एउटा नेपाली विना कसुर विदेशको जेलमा मर्दैछ भन्ने सुनेपछि नै हो आफ्नो गाँस काटेर दुईचार रुपैंयाँ सहयोग गर्ने । तर आफूले गरेको सहयोग यसरी दुरुपयोग भएको थाहा पाएपछि त्यो मान्छेको मनमा कस्तो लाग्दै होला ? के त्यहि व्यक्तिले भोलीको दिनमा अरु कसैलाई यस्तै आपत आइपरेपछि सहयोग गर्ला ? यी गम्भीर प्रश्नहरु हुन् जसको उत्तर अव प्रेम राई बचाउ अभियान मुल समितिले देला भन्ने अपेक्षा छैन । तर एउटा कुरा प्रष्ट छः यो अभियानका क्रममा आर्थिक रुपमा जुन जथाभावी खर्च गरिएको सार्वजनिक गरिएको छ, यसले भविष्यमा अर्को बेकसुरलाई स्वदेश फर्काउन समस्या निम्त्याउने छ ।       

यो पनि पढ्नुहोस् मलेसियाले आउँदो हप्ता विदेशी कामदार सम्वन्धि नयाँ नीति ल्याउने

हेर्नुहोस् आम्दानी खर्चका शिर्षकहरु 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: