
अछाम, साउन २२-
घरको आर्थिक अवस्था कमजोर भएपछि मंगलसैन–४ का रोहित विक पढाइ अधुरै छाडेर भारतको मुम्बई गए । त्यहाँ मजदुरी गर्दै आएका उनी ४ वर्षपछि फर्केका छन् । नगरपालिकाले युवालाई गाउँमै रोजरागारी दिन लागेको खबर सुनेर उनी घर आएका हुन् ।
‘नगरपालिकाले रोजगारी दिने कुरा थाहा पाएपछि घर फर्केको छु,’ रोहितले भने, ‘पढाइ अधुरै छाडेर कामको खोजीमा भारत गएको थिएँ ।’ रोहित मात्रै होइनन्, उनीजस्तै कामको खोजीमा भारत पसेका युवा धमाधम घर फर्कंदै छन् ।
मंगलसैन नगरपालिकाले विकास निर्माण कार्यदल गठन गरेर ७ सय युवायुवतीलाई गाउँमै रोजगारी दिने योजना अघि बढाएको छ । कामको खोजीमा अछामका अधिकांश युवा भारत जाने गरेका छन् ।
स्थानीय तहमै काम दिएर उनीहरूलाई बिदेसिनबाट रोक्न कार्यदल गठनको योजना ल्याएको नगरपालिकाले जनाएको छ । इच्छुक युवा छनोट गर्न कार्यालयले आवेदनसमेत लिन थालेको छ । विकास कार्यदलमा १८ वर्षदेखि ५० वर्ष उमेर समूहका महिला–पुरुष छनोट गर्ने नगरपालिकाको योजना छ । कान्तिपुरबाट