
काठमाडौं, साउन १५-
मलेसियामा जेल परेका एक नेपालीलाई मोरङको पथरी शनिश्चरे नगरपालिकाले प्लेन टिकट दिएर स्वदेश फर्काएको छ । अवैधानिक रुपमा मलेसियामा बसिरहेको अवस्थामा पक्राउ परेका पथरी शनिश्चरेका लोक बहादुर खड्का नगरपालिकाको सहयोगमा स्वदेश फर्किन सफल भएका हुन । उनी अहिले नेपाल आइसकेका छन् ।
सो प्रकृयामा सहजिकरण गरेका पत्रकार अर्जुन काफ्लेका अनुसार खड्काको आर्थिक अवस्था कमजोर भएका कारण नगरपालिकालाई सहयोगका लागि अनुरोध गरेपछि नगरपालिका टिकट उपलव्ध गराउन सहमति भएको हो । खड्काले मलेसियामा कमाएको रकम उनका बाबुको उपचारमा सकिएका कारण उनीसँग स्वदेश फर्किने टिकट काट्ने रकमको समेत अभाव थियो । पहिले मलेसियामा नै रोजगारी गरेर फर्केका काफ्लेले नगरपालिका र मलेसिया स्थीत नेपाली दूतावासका कर्मचारी प्रेमराज गौतमबीचको सहजिकरणको काम गरेका थिए ।
पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख किशोर राईले आफ्नो ठाउँको बासिन्दालाई अप्ठ्यारो पर्दा सहयोग गर्नु नगरपालिकाको दायित्व भएको बताए । यस्तै अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न नै नगरपालिकाले आर्थिक सहायता कोष बनाएको भन्दै उनले भविष्यमा पनि आफ्नो नगरपालिकाका कुनै बासिन्दा परदेशमा अप्ठ्यारोमा परेमा आवश्यकता हेरेर सहयोग गर्ने बताए ।
यो पनि पढ्नुहोस् मलेसियाको मन्त्री परिषदमा नेपाली कामदार आउन रोकिएको विषयमा छलफल हुँदै