काठमाडौं, साउन १५-
साउदी अरवमा परिवन्दले दुर्घटनामा दोषि ठहर्याइएका प्रशान्त लिम्वूको उद्धारका लागि व्लड मनी जुटाउने अभियान सुरु भएको छ । लिम्वू एक साउदी नागरिकको मृत्युको घटनामा आँशिक दोषि ठहरिंदै हाल साउदी छोड्न नपाउने गरी बाध्यतापूर्वक साउदी अरवमा छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका ४ का प्रशान्त २०७३ साउन २६ गते ड्राइभरको रुपमा काम गर्न साउदी अरव पुगेका थिए । उनले नेपालमा सामान्य गाडी चलाएपनि नेपालमा उनको लाइसेन्स नभएको परिवारले जनाएको छ । हेभी ड्राइभरको भिषामा साउदी अरव पुगेपछि लिम्वूलाई उनको कम्पनी करिम अल खालिज फर व्ल्याक एण्ड प्रिकाष्टिङले लाइसेन्स नबनाई जवर्जस्ती गाडी चलाउन लगाएको थियो । लाइसेन्सका लागि आजभोली आवेदन गर्ने भन्दै विना लाइसेन्स गाडी चलाउन लगाइएका लिम्वू परिवन्दको शिकार भएका हुन् ।
साउदी अरवमा काम थालेको करिव ९ महिनापछि २०१७ अप्रिल २९ का दिन उनले चलाएको ट्रकमा स्थानीय एक साउदी नागरिकले चलाएको कार ठोक्किन आइपुगेको थियो । सो दुर्घटनामा ति साउदी नागरिकको ज्यान गएपछि लिम्वूलाई प्रहरीले पक्राउ गरी कारवाही अगाडी बढाएको थियो । ८ महिना जेल सजाय भोगेका लिम्वूलाई अदालतले घटनामा आँशिक दोषि ठहर्याउँदै पीडित परिवारलाई व्लडमनी तिर्न आदेश दिएको थियो । सो घटनामा लिम््वू र उनलाई काममा लगाउने कम्पनीको् ७५ प्रतिशत दोष भएको भन्दै गाडीको क्षतिपूर्ति सहित कुल २ लाख ४० हजार साउदी रियाल व्लडमनी तिर्नुपर्ने अदालतले ठहर गरेको छ । अदालतको आदेश पश्चात रिहा भएका लिम्वूले आफ्नो भागमा परेको १ लाख ४० हजार रियाल(झण्डै नेरु ४१ लाख) नतिरेसम्म साउदी अरव छोड्न पाउँदैनन् ।

प्रवासी नेपाली समन्वय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा भिडियो कलमा कुरा गर्दै प्रशान्तले कम्पनीले आफूलाई फसाएको बताए । आफूहरुले विना लाइसेन्स काम गर्दैनौं भन्दा पनि नदिएको र गाडी चलाउन बाध्य बनाएको उनको भनाई छ । “केहि भएमा हामी जिम्मेवार हुन्छौं भनेर कम्पनीले जवर्जस्ती गाडी चलाउन लगायो” उनले भने “दुर्घटना अघिका ट्राफिक नियम उल्लंघनका घटनाको जरिवाना पनि कम्पनीले नै तिर्ने गर्दथ्यो । तर अहिले भनें मलाई कम्पनीले कुनै सहयोग गरेन ।” उनले आफ्नो समस्या राख्दा कपिल(मालिक) उल्टै कुट्न आउने गरेको दुखेसो पोखे । कम्पनीले काम र तलव नदिएपछि रियादमा साथिहरुको सहयोगमा खाएर बसिरहेको उनले बताए ।
पीडितकी श्रीमति कमला लिम्वूले श्रीमानलाई स्वदेश फर्काउन आफूहरुसँग कुनै आर्थिक उपाय नभएको भन्दै सवैसँग हारगुहार गरिरहेको बताइन् । उनले एक बर्ष अघिदेखि विभिन्न निकाय र मेनपावर कम्पनीमा धाउँदा पनि कुनै सहयोग नमिलेको बताइन् । लिम्वू परिवारले उनको उद्धारका लागि २०७४ साउन २५ गते नै बैदेशिक रोजगार विभागमा निवेदन हालेको थियो । नेपालबाट उनलाई पठाउने मेनपावर कम्पनी रोभ ईन्टरनेशनललाई कारवाही गरिपाउँ भनेर आफूहरुले हालेको उजुरीको समेत विभागले सुनुवाई नगरेको प्रशान्तका बाबु उत्तर सिंह लिम्वूले बताए ।
प्रशान्तको उद्धारका लागि आवश्यक व्लड मनी जुटाउन प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) ले ग्लोवल आइएमई बैंकमा खाता खोलेको छ । उनको उद्धारमा सहभागि हुन अपिल गर्दै पिएनसीसीले यथासक्य सहयोग गरिदिन सवैलाई अनुरोध गरेको छ । यसअघि नवलपरासीका थानेश्वर भुषालको पिएनसीसीले नै सञ्चालन गरेको अभियान मार्फत नै साउदी अरवबाट उद्धार भएको थियो । हाल उनी स्वदेश फर्किसकेका छन् ।
लिम्वूको उद्धारमा सहयोग गर्न चाहनेहरुका लागि बैंक खाताको विवरण यसप्रकार छः
बैंकको नामः ग्लोवल आइएमई बैंक
शाखाः अनामनगर काठमाडौं
खाता वालाको नामः प्रवासी नेपाली समन्वय समिति
खाता नम्वरः ३९०१०१०००००४०९
स्वीफ्ट कोडः GLBBNPKA
