पोल्याण्ड र चेक रिपब्लिक जाने नेपाली माथि चर्को ठगि, पीडितद्धारा दलाललाई कारवाही गर्न माग

 

सन्तोष न्यौपाने, बेल्जियम, साउन १४-   

कपिलवस्तुका नारायण घिमिरे सहित केहि नेपाली युवाहरु केहि समय अगाडी काठमाडौको एक म्यानपावर कम्पनीलाई जनही ९ लाख बुझाएर पोल्याण्ड आइपुगे । नेपालमा उनीहरुलाई प्रतिघण्टा २ सय २ जोल्टी दिने भनिए पनि उनीहरुले त्यो तलव पाएनन् । राम्रो काम र उचित बसोवासको आश्वासन दिएको थियो मेनपावर कम्पनीले । तर भनिए अनुसारको सुविधा पाउनु त कहाँ हो कहाँ, पोल्याण्डको एयरपोर्टबाट नै ठगीमा परे उनीहरु । वर्क परमिट अलुमा एलेक्स कम्पनीबाट भएपनि सो कम्पनीले नेपालबाट आएका उनीहरुलाई पोल्याण्डकै जोबर कम्पनीलाई बेच्यो । पछि जोबरले उनीहरुलाई अर्को कम्पनि रोल्डाबरलाई बेच्यो । सो कम्पनी मार्फत काम गर्दा विरामी हुँदा समेत छुट्टी नदिने र छुट्टी बसे कामबाट निकालिदिने धम्की दिइएको उनीहरुको गुनासो छ ।

पोल्याण्ड पुगेका घिमिरे मात्रै होइन चेक रिपब्लिकमा कार्यरत नेपालीहरुको सास्ती पनि उस्तै छ । नेपालबाट स्पेस ओभरसिज मार्फत चेक रिपब्लीकमा आएका उनीहरु समस्यामा छन् । नेपालमा भनिए अनुसारको सुविधा र काम पाउन नसकेको उनीहरुको गुनासो छ । पीडित मध्येका एक हुन् टार्जन थापा । थापा लगायत ७ जनाले नेपाली दुताबास जर्मनीमा यसबारेमा निवेदन समेत हाले । उनीहरुले दलालले चाहिने भन्दा बढी रकम लिएको भन्दै बाँकी रकम फिर्ता गर्नको लागि निबेदन दिएका थिए । तर निवेदनको सुनुवाई आजका दिनसम्म हुन सकेको छैन । सोचे जस्तो नभएपछि चेक आएका केहि नेपाली पोर्चुगल तर्फ लागेका छन जहाँ पनि उनीहरुले सोचेजस्तो सहज छैन ।

नेपालबाट पछिल्लो समय पोल्याण्ड र चेक रिपब्लिक आउने नेपाली युवाहरुको जमात बाक्लै छ । यसरी आउनेहरुसँग म्यानपावर कम्पनी र कतिपय ट्राभल कम्पनीहरुले युरोपको सपना देखाएर ९ देखि १२ लाखसम्म असुलिरहेका छन् । तर चेक आउनको लागि टिकट खर्च र दुताबास खर्च सहित गरेर बढीमा १ लाख २० हजार लाग्छ । चेक उत्रिएपछि वर्क परमिटको लागि कुनै शुल्क तिर्नु पर्दैन भने मासिक आम्दानी ५० हजारको हाराहारी हुन्छ । पोल्याण्ड आउनेहरुको हकमा पनि यहि हो । तर लाखौं कमाई हुने, आरामको जीवन र सुरक्षित भविष्यको सपना बेच्दै दलालहरुले ठूलो रकम असुलीरहेका छन् । 

चितवनकी गंगा उप्रेती अहिले पोर्चुगलमा छिन । उनलाई चेक रिपब्लिकमा बस्ने प्रेम खरेलले बोलाएर १० महिनासम्म अवैधानिक रुपमा झुलाए । आज भिसा लगाउँछु, भोलि लगाउँछु भन्दै  महिनौ झुक्कायर पछि पोर्चुगल पठाएको उनको गुनासो छ । एनआरएनए, चेक रिपब्लिकका संस्थापक तथा हाल एनआरएनए बाहिर रहेका जितेन्द्र रायमाझीले गंगा लगायत अरु दुईजनालाई  सहयोग  गरेर उद्दार गरेका हुन् । जितेन्द्र रायमाझी भन्छन्ः यस विषयमा एनआरएनएले एक शब्द पनि बोलेन, मैले डेनमार्क र गएको साल जर्मनको फ्रान्क्फर्टमा राजदूत लगायत एनआरएनएका अगुवाहरुलाई समस्या समाधानको लागि जोड दिएँ तर वास्ता गरेनन । रायमाझीका अनुसार शैक्षिक योग्यताका नक्कली कागजात बनाएर थोरै पढेका मान्छेलाई पनि चेक लगायतका मुलुकमा ल्याउने र समस्यामा पार्ने गरेको देखिएको छ ।

पोल्याण्ड आउनेहरुको हकमा पनि यस्तै छ । उनीहरुलाई नेपालबाट विभिन्न सपना देखाएर ल्याउने र अन्य देशमा जान बाध्य बनाउने गरिएको छ । यसले दलालको कुरामा विश्वास गरेर आउनेहरु समस्यामा पर्ने गरेका छन् । कम्पनीहरु, एजेन्सीहरु र नेपालका दलालहरुबाट युरोप आउने नेपाली ठगिमा पर्ने गरेका छन् । 

पोल्यान्डमा आउनेहरुको कारोवार र सम्पूर्ण प्रकृया अनलाइनबाट मात्र गर्न प्रेरित गर्ने र नेपाल सरकारले पोल्याण्डसँग सहकार्य गरी सबल नीति बनाउनु पर्दछ्र’’ लामो समयदेखि पोल्याण्डमा बस्दै आएका मित्रलाल पार्दे भन्छन् नेपाल सरकारले स्पष्ट नीति बनाउने, बैदेशिक रोजगार सम्बन्धी गैरकानुनी ढंगले काम गर्ने संस्था तथा व्यक्तिलाई कडा कारवाही गर्ने र पोल्याण्डमा श्रम सहचारी नराखेसम्म समस्या कम हुन्न ।’’

परदेशमा पिडित नेपाली कामदारहरुको लागि सहयोग गर्ने भने कै नेपाली कुटनीतिक नियोग र एनआरएनए हुन् । जब यी दुबैले त्यति चासोका साथ यी समस्यालाई लिदैंनन, पीडित नेपाली जाने तेश्रो ठाउँ छैन । त्यसैले युरोपको सपना देख्नु अघि व्यक्ति स्वयं चनाखो हुन आवश्यक छ । अनी राज्य संयन्त्रले पनि यो बेथिति रोक्न बढी सकृय हुन जरुरी छ ।

यो पनि पढ्नुहोस् बैदेशिक रोजगारमा जानेलाई सरकारले नै पठाउने तयारी, जीटुजी सरकारको प्राथमिकतामा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय