
काठमाडौैं, साउन १३-
मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले नेपाल सरकारलाई सहज रुपमा नेपाली कामदार पठाइदिन आग्रह गरेका छन् । उनले हाल सरकारले लगाएको बन्देज खुल्ने अपेक्षा पनि प्रकट गरेका छन् ।
मलेसियन अनलाइन द स्टारका अनुसार मलेसियाका धेरै कम्पनी विदेशी कामदारमा भर पर्ने गरेको भन्दै नेपाली कामदार आउने बाटो बन्द हुँदा यसले समस्या निम्त्याएको छ । विशेष गरी सुरक्षा गार्डमा नेपाली जान रोकिंदा समस्या परिसकेको छ भनें कृषि र कारखानामा पनि कामदार अभाव देखिन थालेको छ ।
“नेपाली कामदार ल्याउन अन्य विकल्पमा हामी छलफल गर्न तयार छौं” मन्त्री कुलासेगरनको भनाई उधृत गर्दै लेखिएको छः अन्यथा कामदारको चर्को अभाव हुनेछ जसले हाम्रो आर्थिक प्रगतिमा बाधा पुर्याउनेछ ।
नेपाली कामदार बहादुर र ईमान्दार हुने गरेको मन्त्रीले बताएका छन् । यहि कारण रोजगारदाताको रोजाईमा नेपाली कामदार पर्ने गरेको उनले बताएका छन् । उनले विकल्पमा आफूहरु छलफल गर्न तयार रहेको भन्दै नेपालले पनि कामदार पठाउन रोक्ने निर्णयमा पुनर्विचार गर्ने आशा प्रकट गरेका छन् । एक कार्यक्रम पश्चात बोल्दै मन्त्री कुलासेगरनले आफू नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसँग भेट्ने योजनामा रहेको समेत बताएका छन् ।
नेपालले मलेसिया र नेपालका कम्पनीहरुको मनोमानीमा अवैधानिक रुपमा नेपाली कामदार माथि चर्को शुल्क लगाइएकोमा सो खारेज गर्दै त्यस्ता संस्थालाई अवैध घोषणा गरेको छ । मानव संशाधन मन्त्री एम कुलासेगरनले यो पूर्ववर्ति सरकारले गरेको निर्णयका कारण सिर्जित समस्या भएको भन्दै यो छिट्टै सुल्झिने विश्वास व्यक्त गरे । यहि हप्ता भित्रै मलेसियाको तर्फबाट केहि निर्णय हुन सक्ने अपेक्षा गरिएको छ ।
यसअघि मलेसियास्थीत कार्यवाहक नेपाली राजदूत तथा मन्त्री कुुलासेगरबीचको छलफलमा सरकारी तहबाट नै कामदार लिने विषयमा छलफल भएको उनले बताए । यसले विचौलियाको कारण सिर्जना हुने समस्या हट्ने अपेक्षा उनले प्रकट गरेका छन् ।
यो पनि पढ्नुहोस् नेपालले कामदार पठाउन रोकेपछि मलेसियामा समस्या, नेपालको निर्णय सही सावित हुँदै