गाउँ घुम्दै, विदेश जानेले तिर्नुपर्ने पैसा घटाउँदै विदेशबाट फर्केकाहरु

सन्तोष कुमार राई खोटाङ्ग, साउन ८-

खोटाङका जगन्नाथ आचार्य बैदेशिक रोजगारीका क्रममा मलेसिया पुगे । उनले ६ बर्ष त्यहाँ काम गरे । कामसँगै उनले मलेसियाको अनुभव पनि हासिल गरे र स्वदेश फर्के । उनले त्यहाँ हासिल गरेको ज्ञान अहिले नेपालमा नै काम लागेको छ । उनी बैदेशिक रोजगारमा जानुको साटो स्वदेशमा नै अवसर खोज्न सुझाव दिन्छन् । यदि विदेश जाने मनसाय नै बनाएर कोहि ठिक्क परेमा सीप र सामान्य भाषा सिकेर जान अनी सुरक्षित रुपमा जान, सुरक्षित भएर काम गर्न र सकुशल फर्किन आग्रह गर्छन । खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का धेरै युवालाई उनले यसरी नै सचेत बनाइसकेका छन् ।

रामकुमार श्रेष्ठ एजेण्ट वा मेनपावर कम्पनीले भनेजत्तिनै पैसा खुरु खुरु नतिर्न आफ्नो ठाउँका युवालाई सल्लाह दिन्छन् । उनी स्वयं बैदेशिक रोजगारका क्रममा ८ बर्ष विताएर स्वदेश फर्केका हुन् । उनी कुवेत र मलेसियामा रोजगारी गरेर फर्केका हुन् । उनी बैदेशिक रोजगारमा जाँदा यसका बारेमा जानकारी दिने कोहि थिएनन् । थिए त गाउँ वा नजिकको गाउँका एजेण्ट, शहरका मेनपावर कम्पनीका शाखा कार्यालय वा शाखाको नाममा धेरै पैसा कुम्ल्याउन बसेकाहरु वा काठमाडौंका मेनपावर कम्पनीहरु । तिनिहरुले दिने सुचनामध्ये अधिकाँश गलत हुन्थे । तर आफूले भोगेको दुःख अरुले भोग्नु नपरोस् भनेर उनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ का बासिन्दालाई बैदेशिक रोजगारका बारेमा आफूले जाने बुझेका कुरा बताउने काम गर्छन् ।

पहिले त गाउँघरबाट बिदेश जाने भने पछि ऐजेन्ट, मेनपावरले जति पैसा माग्यो त्यति नै दिने चलन थियो रामकुमार स्मरण गर्छन् तर हिजोआज हामी जस्तै बैदेशिक रोजगारबाट फर्केकाहरुले दिने जानकारी पाएपछि धेरैले मागेजत्ति पैसा खुरुखुरु दिन छोडेका छन् । यस्तै अनुभव छ आचार्यको पनि । उनी भन्छन्ः जति धेरै पैसा घटाउनको लागि मोलमलाई गर्याे त्यति धेरै पैसा घटाउन सकिंदो रहेछ ।

आफ्नो गाउँठाउँका धेरै मान्छे बैदेशिक रोजगारका नाममा ठगिएको देखेका, भोगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७, चिउरी डाँडाका मानबहादुर भुजेल यसरी नै जानकारी घरघरमा पुर्याउन जुटेका छन् । विदेश जानेहरु जतिसक्दो पैसा घटाएर मात्र बिदेश जाउन् भन्ने लागेर हामी वडामा घरदैलो गरिरहका छौ उनी भन्छन् यसले धेरैको पैसा जोगिएको छ । स्वयं मलेसियामा ६ बर्ष विताएर फर्केका मानबहादुर आफूहरुले अहिले गरिरहेको कामले आत्मसन्तोष मिलेको बताउँछन् ।

खोटाङ्ग जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ७ वटा वडाहरुमा यसरी नै बैदेशिक रोजगारीबाट फर्केर आएकाहरुले घरदैलोमै पुगेर दिने जानकारीले धेरैलाई लाभ पुगेको छ । यसक्रममा विदेश जान चाहनेहरुसँग सुरुमा एजेण्ट वा मेनपावर कम्पनीले मागेको रकममा ८ लाख ९५ हजार जोगिएको तथ्याँक छ । यो विदेश जान लागेका ४० जनाको तथ्याँक हो ।

बैदेशिक रोजगारमा जानेहरुलाई सुचना दिन सुरक्षित आप्रवासन परियोजना(सामि)ले खोटाङ जिल्लामा नवकिरण सेवा समाज नेपालसँग साझेदारी गर्दछ । सोही परियोजना अन्तर्गत बैदेशिक रोजगारबाट फर्केकाहरु आफ्नो ठाउँमा यथार्थ सुचना दिन खटिएका छन् । जिल्लामा रोजगारीका लागि विदेशिनेहरुलाई सुचना दिन सुचना केन्द्र पनि सञ्चालनमा छ । 

सामीले ७ र नगरपालिकाको तर्फबाट ४ गरि जम्मा ११ वटा वडाहरुमा बैदेशिक रोजगारबाट फर्केका ११ जना हलेसि तुवाचुङ्ग नगरपालिकामा परिचालित छन् । यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं.३, , , , , ९ र १० मा गरी ७ वटा वडाहरुमा ७ जना रिटर्नी स्वयम्सेवकहरु परिचालित छन् । उनीहरुले बैदेशिक रोजगार सम्बन्धि आफ्नो अनुभवका साथै नयाँ सुचना तथा जानकारीहरु गाउँबस्तीमा पुर्याउने काम गर्दै आएका छन् । यसका साथै बैदेशिक रोजगारमा जाने सम्भावित युवालाई भेटेर सीप तालिम लिएरमात्र बिदेश जानको लागि प्रेरित गर्ने, बिदेश जानेहरुले आफुसँग भएकोे काजगपत्रहरुको फोटोकपी छोडेर जान र बिदेशमा भएकोहरुको मगाउन पनि उनीहरुले सुचित गर्दछन् । यसैगरी सकेसम्म थोरै लगानीमा बिदेश जान र बैदेशिक रोजगार सम्बन्धि केही समस्या भएमा सुचना केन्द्रसम्म पुर्याउने काम उनीहरुले गर्छन् ।

आफ्नै गाउँमा बसेर काम गर्ने भएका कारण उनीहरुको पहुँच पनि बलियो छ । पछिल्लो एक बर्षको अवधिमा ७ जना रिटर्नीहरुले ३ सय ३२ जनासँग प्रत्यक्ष ब्यक्तिगत भेटघाट, ३ सय ७७ वटा घरभेट गरेर सुरक्षित बैदेशिक रोजगार सम्बन्धि सुचना तथा जानकारीहरु पुर्याएको नवकिरण सेवा समाज नेपालले जनाएको छ । यसैगरी उनीहरुले निःशुल्क सीप तालिममा ११ जनालाई पठाउने काम पनि गरेका छन् ।

कागजपत्रको महत्वका बारेमा बुझेपछि विदेश जानेहरुले घरमा एकप्रति कागजात छोडेर जान थालेका छन् । हालसम्म ६० जनाले कागजपत्रहरुको फोटाकपी घरमा छोडेको देखिएको र यसअघि नै बैदेशिक रोजगारमा गइसकेका मध्ये १ सय ८३ जनाको बिदेशबाट कागजपत्रहरुको फोटोकपीहरु मगाई घरघरमा पुर्याई दिएको नवकिरण सेवा समाज नेपालले जानकारी दिएको छ ।

बैदेशिक रोजगारलाई सुरक्षित बनाउन सकृय उनीहरुले सुरक्षित बैदेशिक रोजगार टोल बनाउने अभियानको लागि २१ वटा टोलको सामाजिक नक्सा बनाएका छन् भनें ८ वटा टोलहरु सुरक्षित टोल हुने क्रममा छन् ।

सरकारले फ्रि भिषा फ्रि टिकट लागु गरेको बारेमा रिटर्नीहरुले समुदायमा जानकारी गराए पछि ३ जना फ्रि भिषा फ्रि टिकटमा विदेश गएका छन् । आफूले भोगेको दुःख र आफूले धेरै पैसा अरुले पनि तिर्नु नपरोस् भनेर यो अभियानमा संलग्न भएको रिटर्नी भोलेण्टीयर जगन्नाथ आचार्य बताउँछन् ।

यो पनि पढ्नुहोस् दुबईमा बसेर नेपाल चिनाउँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय