
काठमाडौं, साउन १-
बैदेशिक रोजगार व्यवसायीबीचको द्धन्द चरम अवस्थामा पुगेको छ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले आफ्नो संस्थाका पूर्व अध्यक्ष प्रज्ञान न्यौपानेलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमले विज्ञप्ती नै निकालेपछि द्धन्द बजारमा आइपुगेको हो । तर नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङले भनें विज्ञप्ती निकालेर आरोप गलत भएको बताएका छन् । फोरम नेपाली काँग्रेस निकटको संस्था हो भनें संघमा तत्कालिन नेकपा एमाले निकटले जितेको थियो । त्यसैले राजनीतिक रुपमा नै देखिएको विभाजन चरम स्थीतिमा आइपुगेको छ ।
फोरमका तर्फबाट अध्यक्ष विष्णु प्रसाद गैरेले निकालेको विज्ञप्तीमा फोरमका तर्फबाट राखिएका मागका बारेमा अध्यक्ष गुरुङको ध्यानाकर्षण गराउँदा तल्लो स्तरमा उत्रेर गाली गलौच गरेको र कुटपीटको धम्की दिएको उल्लेख छ । फोरमले अध्यक्ष गुरुङलाई क्षमायचना गर्न भनेको छ ।
तर संघका अध्यक्ष गुरुङले भनें आफूले कुनै त्यस्तो व्यवहार नगरेको, टेलिफोनमा गरिएको सवै कुराकानी नेपाल टेलिकमसँग रेकर्ड हुने भन्दै त्यो सुन्न आग्रह गरेका छन् । उनले यो निराधार हल्ला भएको भन्दै प्रमाण ल्याए आफू अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् । संघद्धारा जारी विज्ञप्तीमा अनावश्यक प्रचारको भ्रममा नपर्न समेत आग्रह गरिएको छ ।
केहि समययता नेपाली काँग्रेस निकटको लोकतान्त्रीक फोरमले सरकारी रवैया ठिक नभएको भन्दै आन्दोलन गर्नुपर्ने बताउँदै आएको छ । तर आफ्नै पार्टी नेतृत्वको सरकार विरुद्ध संघको वर्तमान नेतृत्व भनें उभिन तयार छैन । त्यसैले दुई खेमाबीच चर्को द्धन्द चलिरहेको छ ।
यो पनि पढ्नुहोस् लाखौं खर्च गरेर युरोपको सपना देख्न छोड्नु आवश्यकः दहाल