
रञ्जना लम्साल, कावासोती, असार २८-
नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित गर्न युवाहरुलाई सचेतना अत्यावश्यक रहेको बताएका छन् ।
हिमालयन सामुदायिक विकास मञ्च(हिकोडेफ)को आयोजनामा भएको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँगको समन्यात्मक बैठकमा उनले बैदेशिक रोजगारमा युवाहरु सीप नसिकी जाने र भाषाको ज्ञान नहुनाले बढि समस्यामा परेको बताए ।
यसैगरी जिल्ला प्रहरी कार्यलयका नवलपुरका प्रमुख एसपी रमेश थापाले नेपालीहरुले स्वदेशमा काम गर्न लाज मान्न मात्र छोडेमा खाडीका मुलुकमा कमाउने पैसा नेपालमा नै कमाउन सक्ने बताए ।
अन्य देशबाट नेपाल आएर बिभिन्न काम गरि पैसा कमाईरहेको परिप्रेक्षमा नेपालीले नेपालमा नै काम गर्न चाहेमा बिभिन्न अवसर रहेको भन्दै एसपी थापाले ठगी न्यूनीकरणका लागि प्रहरी प्रशासन हरसम्भव काम गर्न प्रतिबद्ध रहेको बताए ।
हालसम्म काम गर्ने क्रममा जिल्ला प्रशासन कार्यलय र प्रहरी कार्यलयले गरेको सहयोगको प्रशंसा गदै जिल्ला परियोजना संयोजक उमाकला शर्माले आगामी दिनमा सेवाग्राहीलाई सेवा दिने क्रममा त्रिपक्षीय समन्वयमा काम गर्न सकेमा अझ धेरै सफलता प्राप्त गर्न सकिने बताइन् ।
कार्यक्रममा हिकोडेफका कार्यकारी निर्देशक सुरविर स्थापितले परियोजना मार्फत सुचना तथा परामर्श सेवा, निःशुल्क सीप तालिम, कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, वित्तिय साक्षरता र सामाजिक परिचालन तथा सञ्चार माध्यमबाट धेरै भन्दा धेरै सुचना प्रवाह गरिरहेको जानकारी दिए ।
सामी परियोजना संयोजक रितुराम सोती थापाले जिल्लामा २०७० देखी हालसम्म नवलपरासी (वर्दघाट सुस्ता पूर्व) जिल्लाबाट ५८ हजार ७ सय जनाले पासपोर्ट बनाएको बताए । उनले वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार नवलपरासी सुस्ता पुर्व र पश्चिम दुवै जिल्लाबाट ५७ हजार ३ सय १९ जनाले श्रम स्विकृत लिएको तथ्याङ्क रहेको बताए ।
उनले भारतको बाटो भएर कति बिदेश पुगे भन्ने यकिन तथ्याङ्क नभएपनि बिभिन्न बहानामा महिलाहरुलाई भारतीय बाटो गरि खाडीका बिभिन्न मुलुक पुर्याईएको बताए । उनले खुल्ला सिमानाको दुरुपयोग, गुणस्तरिय तालिमको कमी, अवैधानिक म्यानपावर र एजेन्ट तथा केन्द्रिकृत न्याय प्रणाली प्रमुख चुनौती रहेको धारणा राखे ।