
काठमाडौं, असार २५-
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ८ लाख नेपालीलाई ठग्ने एक दर्जन व्यक्तिको स्वार्थ रक्षा गर्न साँसदलाई नसुहाउने बताएका छन् । राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री विष्टले नेपाली युवालाई भइरहेको ठगिलाई सरकारले टुलुटुलु हेरेर नबस्ने बताए ।
मन्त्री विष्टले सरकार तमासे मात्र भएर नबस्ने भन्दै आफूले जिम्मेवारी सम्हालेको झण्डै तीनमहिना भित्रमा झण्डै डेढ दर्जन सुधारका काम गरेको बताए । उनले कानून विपरित सिमित व्यक्तिको स्वार्थपूर्ति हुने कामलाई रोक्न वर्तमान सरकार दृढ रहेको समेत बताए । मलेसियामा रोजगारीम जान रोकिएको सन्दर्भमा सरकार चुप लागेर नबसेको र परराष्ट्र मन्त्रालय मार्फत कुटनीतिक प्रयास भइरहेको मन्त्री विष्टले जानकारी दिए ।
एक अर्को प्रसँगमा मन्त्री विष्टले दुई देशबीच (श्रम)सम्झौता नभई चाहे पुरुष हुन् वा महिला, घरेलु कामदारका रुपमा नपठाउने सरकारको नीतिलाई निरन्तरता दिइने बताए । विदेशमा घरेलु काममा कतिपयले दुःख पाइरहेको स्मरण गर्दै मन्त्री विष्टले यसमा कानूनी रुपमा बलियो आधार नभई खुल्ला नगर्ने संकेत गरे ।
मन्त्री विष्टले नेपालमा नै रोजगारी सिर्जना वर्तमान सरकारको प्राथमिकतामा रहेको भन्दै युवालाई स्वदेशकै रोजगारीमा आकर्षित गर्न ७ सय ५३ वटा नै स्थानीय तहमा रोजगार सुचना केन्द्र खोलिने बताए । उनले हाल स्थानीयस्तरमा नै सिर्जना हुनसक्ने रोजगारीका बारेमा तथ्याँक संकलन गर्ने काम चलिरहेको भन्दै छिट्टै स्वदेशमा नै रोजगारीको अवस्थाका बारेमा यथार्थ चित्र आउने बताए । उनले सधैंभरी बैदेशिक रोजगारमा मात्र केन्द्रीत भएर लाग्दा कुनै समयमा मुलुक युवाविहिन हुने भन्दै त्यो खतरा आउनुपूर्व नै नेपालमा नै रोजगारी सिर्जना गर्नु आवश्यक रहेको धारणा राखे ।
यो पनि पढ्नुहोस् न्यूनतम तलव १३ हजार ४ सय ५० मा ट्रेड युनियन र रोजगारदाता सहमत