काठमाडौं, असार २१-
मलेसियामा अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदार पक्रिने अभियान अन्तर्गत हालसम्म १२ सय भन्दा बढी पक्राउ परेका छन् । पहिलो तीन दिनभित्रमा १२ सय भन्दा बढी व्यक्ति पक्राउ परेको अध्यागमन कार्यालयलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।
रिहायरिंग कार्यक्रमको समयावधि सकिएसँगै सुरु गरिएको अभियानका क्रममा ति व्यक्ति पक्राउ परेको मलेसियाको अध्यागमन कार्यालयका महानिर्देशक दातुक सेरी मुस्तफार अलीले बताएका छन् । ५ हजार ३८ जनाको चेकजाँच गर्दा ति १ हजार २ सय २४ जनालाई थप कारवाहीका लागि हिरासतमा राखिएको उनले जनाएका छन् ।
यसअघि नै समयमै रिहायरिंग कार्यक्रमम सहभागि हुन वा कारवाही भोग्न तयार रहन चेतावनी दिइसकेका कारण बैधानिक हुन वा स्वदेश फर्किन पर्याप्त समय नदिइएको आरोप सही नभएको उनले पत्रकार सम्मेलनमा बताए । सो कार्यक्रम अन्तर्गत ७ लाख ४४ हजार ९ सय ४२ जनाले बैधानिकता प्राप्त गरेको भन्दै रिहायरिंग कार्यक्रम असफल भएको भन्ने तर्क सही नभएको उनको भनाई थियो । उनले अटेरी गरेर बस्ने विदेश कामदार मुक्त मलेसिया बनाउने अभियानमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।
महानिर्देशक अलीले हिरासतमा लिइएकाहरुको मुद्धा १४ दिन भित्रै टुँग्याईने बताए । यसअघि मलेसियाले अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदार पक्राउ अभियान सुरु गरेपछि ९० वटा संस्थाले त्यसको विरोध गर्दै रिहायरिंग कार्यक्रम झण्झटिलो भएको, आप्रवासी कामदारले पर्याप्त समय नपाएको लगायतका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै पक्राउ अभियान रोक्न र छलफलमा बस्न आग्रह गरेका थिए ।
यो पनि पढ्नुहोस् श्रीमान परदेशमा बेखवर भएपछि रामकुमारीलाई घर चलाउनै समस्या
