
कावासोती, असार २१-
नवलपरासी (वर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सवैको पहल जरुरी रहेको बताएका छन् । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)को आयोजना तथा जिल्ला समन्वय समितिको संयोजनमा भएको पत्रकार सम्मेलनमा उनले वढि भन्दा वढि सुचना सम्प्रेषण गरि जनतालाई सुसुचित गर्नुपर्ने धारणा राखे ।
बिदेश गएका ब्यक्ती बिभिन्न किसिमको ठगीमा परेको बताउँदै उनले सकेसम्म स्वदेशमा नै काम गर्नु पर्ने र विदेश जानैपर्ने बाध्यता भए सीप र सुचना लिएर मात्र बैदेशिक रोजगारीमा जान अनुरोध गरे ।
गैंडाकोट, कावासोती र मध्यविन्दु नगरका नगरप्रमुख, उप प्रमुख एवं प्रमुख प्रशासकिय अधिकृतको सहभागिता रहेको सो कार्यक्रममा जनतालाई सुचनाको पहँुच मात्र पुर्याउन सके पनि धेरै हदसम्म ठगी न्युनिकरण गर्न सकिने उनको भनाई थियो ।
कार्यक्रममा स्वागत गर्दै हिकोडेफका कार्यकारी निर्देशक सुरविर स्थापितले परियोजना मार्फत सुचना तथा परामर्श सेवा, निःशुल्क सीप तालिम, कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, वित्तिय साक्षरता र सामाजिक परिचालन तथा सञ्चारका माध्यमबाट धेरै भन्दा धेरै सुचना प्रवाह गरिरहेको बताए ।
सामीकी जिल्ला परियोजना संयोजक उमाकला शर्माले जिल्लामा २०७० देखी हालसम्म ५८ हजार ७ सय जनाले पासपोर्ट बनाएको जनाउँदै ५७ हजार ३ सय १९ जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएको तथ्याङ्क रहेको बताइन् । भारतको बाटो भएर कति बिदेश पुगे भन्ने एकिन तथ्याङ्क नभएपनि बिभिन्न बहानामा धेरै महिलालाई भारतीय बाटो गरि खाडीका बिभिन्न मुलुक पुर्याईएको उनको भनाई थियो । खुल्ला सिमानाको दुरुपयोग, गुणस्तरिय तालिमको कमी, अवैधानिक म्यानपावर र एजेन्ट तथा केन्द्रिकृत न्याय प्रणाली प्रमुख चुनौती रहेको शर्माले बताइन् ।
पत्रकार सम्मेलनमा जिल्लामा परियोजना शुरु भए देखी (अप्रिल २०१४ देखी जुन २०१८ सम्म ) वैदेशिक रोजगार सम्बन्धी १ हजार ८१ वटा समस्या दर्ता भएको जानकारी दिइयो । त्यसमध्ये ८३ वटा मृत्यु सम्वन्धि घटना छन् । बैदेशिक रोजगारीमा गएर मृत्युवरण गर्ने ३५ बर्ष भन्दा कम उमेरका युवाहरु छन् भने साउदी अरेबियामा सबैभन्दा बढि ३८ जनाको मृत्यु भएको जनाईएको छ । त्यसैगरि ६ सय २६ जना ठगीमा परेका, ५१ जना विभिन्न देशमा जेल परेको घटना सुचना केन्द्रमा दर्ता भएका छन् ।
६७ जना सम्पर्कविहिन भएका घटना दर्ता भएका छन् भने मेडिकल फेलका ३६, अलेखवद्ध ८७, दुर्घटना, घाईते र विरामी ८४, घरेलु कामदारको समस्या ३०, वढि काममा लगाउने १६ वटा घटना दर्ता भएको जनाईएको छ ।
दर्ता भएको समस्या मध्ये ७० प्रतिशत समस्या समाधान भएको जानकारी गराईएको छ । जिल्लामा परियोजना शुरु भएपछि सेवाग्राहीलाई बिभिन्न निकायबाट ९ करोड ५४ लाख ४४ हजार ५४ रुपैयाँ पिडितलाई क्षतिपुर्ती दिलाउन सहजीकरण गरिएको सो अवसरमा जानकारी दिइयो ।
कार्यक्रममा साउदी अरबमा ब्लड मनि तिरेर जेल जीवनबाट फर्किएका मध्यविन्दुका थानेश्वर भुषाललाई स्वागत गरिनुका साथै १५ वर्ष पछि जग्गा फिर्ता पाएका गैंडाकोटका भक्तबहादुर दर्जी र ४ वर्षपछि विमा वापतको रकम पाएका खेमबहादुर घर्तिले अनुभव सुनाएका थिए ।
वैदेशिक रोजगार विभागका अनुसार नवलपरासी (वर्दघाट सुस्ता पूर्व) वैदेशिक रोजगारीमा वढि जानेमा सातौं जिल्लामा पर्दछ ।
यसैबीच सामीको जिल्ला परियोजना समन्वय समितिको बैठक पनि सम्पन्न भएको छ । जिल्लाका नगर प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहकको बैठकमा आप्रवाशनको सवाललाई सम्बोधन गर्न आर्थिक बर्ष २०७५–०७६ को लागि बिनियोजित बजेटको बारेमा जानकारी गराईएको थियो ।