
काठमाडौं, जेठ २७-
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) र जोर्डनको ट्रेड युनियन जेटीजीसीयूबीच जोर्डनमा नेपाली कामदारको संरक्षण सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । जेटीजीसीयू जोर्डनको गार्मेण्ट, टेक्सटायल क्षेत्रको यूनियन हो । जोर्डनमा हाल गार्मेण्ट क्षेत्रमा नेपाली रोजगारीका लागि जाने गरेका छन् । जोर्डनमा हाल ५ हजार भन्दा धेरै नेपाली गार्मेण्ट, टेक्सटायल क्षेत्रमा कार्यरत छन् जसमा महिलाको संख्या धेरै छ । यसले जोर्डनमा कार्यरत नेपाली श्रमिकको अधिकार संरक्षणका लागि सहज बनाएको छ ।
जोर्डको राजधानी अम्मानमा आयोजित एक कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ र जेटीजीसीयूका अध्यक्ष फताह अल ओमरानीले सो सम्झौता पत्रमा हस्ताक्षर गरे । दुई देशका युनियनहरु बीचको समझदारी पत्रमा हस्ताक्षरसँगै नेपाली श्रमिक अव जेटीजीसीयूको स्थानीय कमिटीमा संलग्न हुन र नेपाली श्रमिकलाई कुनै समस्या परेमा त्यसलाई सुल्झाउन स्थानीय युनियनले सघाउनेछ । यसैगरी जिफन्टले आफ्नो संयन्त्र मार्फत जोर्डनमा कार्यरत नेपाली श्रमिक र स्थानीय युनियनबीच जोड्ने काम गर्नेछ ।
हस्ताक्षर समारोहमा बोल्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले एकताले सदैव शक्ति दिने भन्दै दुई देशका युनियनबीचको सहकार्यले जोर्डनमा श्रमिकलाई आइपर्ने समस्या समाधान गर्न सहयोग पुग्ने धारणा राखे । जेटीजीसीयूका अध्यक्ष फताहले नेपाली श्रमिक लगनशील, आफ्नो दायित्वप्रति सदैव जिम्मेवार रहने गरेको भन्दै उनीहरुले सदैव आफ्नो जिम्मेवारी पुरा गर्ने गरेको बताए । सम्झौता बमोजिमको अधिकार नेपाली श्रमिकले प्राप्त गर्नुपर्ने भन्दै उनीहरुलाई कुनै समस्या आइपरेमा परिवारको सदस्यले झैं सहयोग गर्ने फताहले बताए ।
हस्ताक्षर समारोहमा विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै २० भन्दा बढी नेपाली श्रमिक उपस्थीत थिए । सो अवसरमा जिफन्टका उपाध्यक्ष रमेश बडालले प्रवासमा जिफन्टले नेपाली श्रमिकलाई संगठित बनाउन गर्दै आएको काम तथा उनीहरुको अधिकार रक्षाका लागि गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा जेटीजीसीयूका प्रतिनिधि असरद अलिले कुनै समस्या परेमा आफूलाई ०७९६१७५३३० वा ०७८८७९१२४७ मा सम्पर्क गर्न आग्रह गरे ।
यो पनि पढ्नुहोस् मलेसियाबाट रित्तो हात फर्केर नेपालमा सुरु गरेको कामबाट भयो उन्नती