चन्द्र राई-
जव मैले २०५९ सालमा एसएलसी उत्तिर्ण गरें त्यसपछि उच्च शिक्षा अध्ययन गर्न मैले काठमाडौंलाई रोजें । मेरो घरको आर्थिक अवस्था उति धेरै राम्रो थिएन । त्यसैले काम गर्दै पढ्नु पर्ने आवश्यकता थियो । काम खोज्ने क्रममा काठमाडौंमा मैले धेरै नै हण्डर खेपें । मेरो एकजना दाई वेल्डिङ फेव्रिकेशनको काम गर्नुहुन्थ्यो । उहाँले यो भन्दा सजिलो काम खोजिदिन निक्कै प्रयत्न गरेपनि सक्नु भएन । त्यसैले अन्ततः म दाजुसँगै वेल्डिङ फेब्रिकेशनको काममा लागें ।
म अध्ययनको उद्धेश्य राखेर काठमाडौं आएको थिए । त्यसैले मलाई काम जुनसुकै होस् त्यसले खास फरक पारेन । त्यसैले मैले काम र अध्ययनलाई सँगसँगै अगाडी बढाएँ । काम सुरु गरिसकेपछि मलाई यसको दायरा निक्कै फराकिलो रहेछ भन्ने ज्ञान भयो । यसमा भविष्य रहेछ भन्ने कुरा मैले विस्तारै बुझ्दै गएँ । सुरुमा त म कसरी काठमाडौंमा बाँच्ने भेर लागेको थिएँ । तर काम गर्दै गएपछि मैले यसैलाई पेशाको रुपमा अगाडी बढाउने निधो गरें । म जति पढ्दै गएँ मेरो कामप्रतिको आत्मसम्मान पनि बढ्दै गयो । व्यवसायसँगै मैले स्नातकोत्तर तहसम्म अध्ययनलाई पुर्याएको छु ।
मेरा थुप्रै साथिहरु एसएलसी सक्ने वित्तिकै कमाउन अरव गए । तर म नेपालमा नै पढाईलाई अगाडी बढाउने निधोले यो काममा लागेको थिएँ । त्यसैले म कामप्रति लगनशील भएर लागें । काम गर्दै गएपछि मैले सीटीईभीटीबाट सीप परिक्षण गराएर प्रमाणपत्र लिएँ । यसरी मेरो यहि पेशामा स्थायीत्व भयो ।
थुप्रैले भनेको सुन्छु नेपालमा रोजगारी नै छैन भनेर । तर म त यत्रतत्र सर्वत्र रोजगारी नै रोजगारी देख्छु । गर्ने मान्छेलाई नेपालमा धेरै अवसर छ । हाम्रो बानी कस्तो भयो भनें अरुले ठिक्क पारिदिएको काममा जागिर खान मात्र जाने । अर्को कुरा हामी नेपाली अलिकति पढेपछि यस्तो सीपमूलक काम गर्नै हुन्न भन्ने ठान्दछौं । यसले हामीलाई रोजगारीको क्षेत्रमा खुम्च्याउने काम गरिरहेको छ । यहाँ यस्तै काममा मनग्गे पैसा छ । म अहिलेसम्म यहि कामबाट मज्जले बाँचिरहेको छु । मसँग अहिले ९ जना रोजगारीमा हुनुहुन्छ । उहाँहरुको पनि जीवनयापन यहि कामबाट भइरहेको छ । दुई तीन बर्षदेखि मसँगै उहाँहरु काम गरिरहनु भएको छ । यसले उहाँहरु काम र कमाईबाट सन्तुष्ट हुनुहुन्छ भन्ने नै प्रष्ट हुन्छ । कमाई राम्रो छ । मसँग काम गर्ने ९ जनालाई क्षमता अनुसारको तलव दिएको छु । बस्ने ठाउँको पनि व्यवस्था पनि मिलाएको छु ।
मेरो अनुभवमा जागिर भन्दा पनि उद्यम गर्नु साह्रै राम्रो रहेछ । मैले छोटो समय मात्र अरुकोमा काम गरें । त्यसपछि दाजु र म मिलेर एउटा कारखाना सुरु गर्यौं । काम थपिंदै गएपछि आपसी सल्लाहमा नै मैले नयाँ कारखाना सुरु गरें । अहिले पनि एकापसको काममा हामी सघाइरहेका छौं । यो १५ बर्षमा मैले स्वरोजगार भएर गरेको अनुभवले नेपालमा उद्यम गर्नु राम्रो हो भन्ने निश्कर्ष छ ।
हामीले कुनै पनि सीपमूलक व्यवसाय गरें भनें त्यसमा चाहिं मान्छेले विज्ञता हासिल गर्नुपर्दछ भन्ने मेरो विचार हो । एउटै काममा मान्छे लगनशील भएर निरन्तर रुपमा अगाडी बढ्यो भनें पक्कै सफलता हासिल गर्न सकिन्छ । यो मेरो विश्वास हो । हामीले गर्ने जुनसुकै काम होस्, चाहे त्यो वेल्डिङ फेब्रिकेशनको काम होस्, चाहे कार्पेन्ट्रीको काम होस् वा प्लम्विङको काम होस् त्यसलाई हामीले सम्मान गर्न सक्यौं भनें हामीलाई आत्मसम्मान मिल्ने हो । श्रम प्रतिको सम्मानलाई स्थापित गर्नुपर्दछ । यहि नै मेरो उद्धेश्य हो । पैसा त आउँछ नै ।
अहिले लाखौं नेपाली युवा विदेशमा काम गरिरहनु भएको छ । तपाईहरु विदेशमा गएर हण्डर खाएर खारिएको मान्छेले स्वदेश फर्केर कुनै व्यवसाय सुरु गर्नुभयो भनें झन सफल हुनुहुन्छ । किनकी विदेशमा जति अप्ठ्यारो हुन्छ, त्यसको तुलनामा नेपालमा धेरै सजिलो छ । बैदेशिक रोजगारले छानो त फेरिएला, तर त्यसले परिवारमा ल्याएको समस्या त्यो भन्दा ठूलो छ । कतारमा तपाई ४० हजार कमाउनु हुन्छ र नेपाल फर्केर २० हजार नै कमाउनु भयो भनें पनि त्यहि २० हजारले जित्छ भन्ने मलाई लाग्दछ । किनकी यहाँ तपाईसँग पैसा मात्र होइन, परिवार पनि तपाईसँगै हुन्छ । विदेशमा तपाई निश्चित केहि बर्ष दुःख गरेर नेपाल फर्किनै पर्दछ । तर नेपालमा कुनै काम सुरु गर्नु्भयो भनें त्यो दिगो हुन्छ । त्यसैले नेपाल नै फर्किनुहोस् । हामी यहि काम गरिरहेका छौं । तपाईंलाई पनि यहाँ सम्भावनाले पर्खिरहेको छ ।
(ललितपुरको महालक्ष्मी स्थानमा वेल्डिङ फेब्रिकेशनको आफ्नै व्यवसाय गरिरहेका राईसँग सुनौलो मौका रेडियो कार्यक्रमका लागि गरिएको कुराकानीमा आधारित । यो सामग्री जेठ २४ गते प्रकाशित भएको हो ।)
यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ
