
काठमाडौं, जेठ २२-
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बैदेशिक रोजगारी बाध्यताको नभई स्वेच्छिक हुनुपर्ने बताएका छन् । स्वीजरल्याण्डको जेनेभामा जारी १०७ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा बोल्दै मन्त्री विष्टले स्वदेशमा नै रोजगारी सिर्जना गर्न वर्तमान सरकार केन्द्रीत रहेको बताए ।
स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सहित अन्य रोजगारमुलक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरिरहेको छ मन्त्री विष्टले सम्वोधनका क्रममा भने युवाको दक्षता अभिवृद्धिका लागि सीपमुलक तालिम विस्तार गर्ने तथा पिछडिएको र सिमान्तकृत वर्गलाई लक्षित गर्दै न्यूनतम रोजगारी प्रत्याभूत गरिने छ ।
नेपाल कोलम्वो प्रोसेसको अध्यक्ष समेत रहेको उल्लेख गर्दै मन्त्री विष्टले आपसी परामर्श सहयोग र समझदारीको माध्यमबाट श्रम आप्रवासन क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थीत बनाउन सदैव प्रतिवद्ध रहेको बताए ।
श्रमिकहरुको हकहित रक्षा गर्न एवं श्रम क्षेत्र नियमनका लागि समग्र श्रम क्षेत्रलाई कानूनी दायराभित्र ल्याउने गरी नेपालले श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ जारी गरी महत्वपूर्ण उलपव्धी हासिल गर्ने दिशातर्फ अग्रसर भएको मन्त्री विष्टको भनाई थियो ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रारम्भ भएको भन्दै मन्त्री विष्टले नेपालले केहि बर्षभित्रै अनौपचारिक क्षेत्रलाई समेत कानुनी दायरामा ल्याउने गरी आवश्यक गृहकार्य गरिरहेको जानकारी गराए । सम्मेलन आगामी शुक्रवारसम्म चल्नेछ ।
यो पनि पढ्नुहोस् भिजिट भिषामा दुवई उत्रिनेहरु