
सुनिल न्यौपाने
जुनको पहिलो हप्ता । सडक छेउछाउ जिग्रिंन्छ उभिएका खजुरका बोटमा लागेका दाना कलिलै छन् । खजुर फुल्यो अर्थात यो बर्षको गर्मी विस्तारै चढ्दै छ ।
युएईको एउटा चल्तिफिर्तिको प्रान्त दुवई । शुक्रवार साप्ताहिक छुट्टीको दिन । एउटा काम विशेषले मेरा केहि हितैसीका साथमा बरदुवईस्थीत नेपाली चोक भनेर चिनिने दुवईको नेपाली धेरै भेटिने चौक चहार्दै थियौं हामी । हतारमा सक्नुपर्ने केहि कामका कारण हामी समुहको सट्टा एक्ला एक्लै यताउति दौडिन थाल्यौं ।
घामको राप केहि कम हुँदैछ । पार्क र सडक छेउमा बसेर गफिने नेपाली झुरुप्प–झुरुप्प भएर आफ्नै गन्थनमा मस्त छन् । हामी त्यहाँ नेपालका मेनपावर कम्पनी मार्फत आएका नेपाली खोज्दै थियौं । झण्डै एक घण्टाको घुमाइले हामीलाई एउटा कल्पना भन्दा बाहिरको तस्वीर देखायो ।
“एकैछिन तपाईहरुसँग कुरा गरौं है” हेर्दा १८–२० को जस्ता देखिने दुई युवालाई पहिलो लक्ष्य बनाएँ । उनीहरु केहि अकमकाए र आश्चर्यभावले हेर्न थाले । आफ्नो परिचय दिएर कामका बारेमा बताएपछि त्यसमध्ये एक युवाले आफू बर्षदिनअघि भिजिट भिषामा दुवई उत्रिएको सुनाए । उनका दौंतरीको कथा पनि उस्तै रहेछ । “किन भिजिट भिषामा आउनु भएको नी ?” प्रश्नमा उनै अलिक बोलैया युवाले भनेः नेपाल सरकारले पठाएको । अर्थात उनी उति खुसी थिएनन् सरकारसँग । तर कुरा बुझ्दै जाँदा निश्चित मेनपावर कम्पनी मार्फत युएई आइपुगेपछि यहाँको कफला प्रणालीका कारण सोही कम्पनीमा काम गर्न बाध्य हुनुपर्ने कारण रहेछ उनी भिजिट भिषामा आउनुको । अर्थात अनाहकमै नेपाल सरकारलाई गाली गर्दै थिए । हाल एउटा मोवाईल पसलमा काम गर्ने उनलाई कम्पनीले रमादान लागेपछि एक महिने बाध्यकारी छुट्टी दिएको थियो जसको तलव उनले पाउने छैनन् । काम र कमाईमा सन्तुष्ट उनी रमादानको यहि एक महिने छुट्टीमा गुमेको महिना दिनको तलवमा भनें उनी चुकचुकाई रहेका थिए ।
नजिकैको एउटा भित्तोमा अडेस लागेर गफिंदै रहेछन् बुटवलका निमलाल गैरे र नातामा दाजु पर्ने दिनेश । दाजु एउटा कम्पनीमा झण्डा बनाउने काम गर्दा रहेछन् । “कहिले काहिं नेपालको झण्डा बनाउने काम पाउँदा नी कम्ता खुशी लाग्दैन” आफ्नो कामका बारेमा बताउँदा निक्कै उत्साहित थिए उनी । हिजोआज चाहिं विश्वकप फुटवल प्रतियोगिताका कारण विभिन्न देशको झण्डा बनाउने काममा व्यस्त रहेछन् । भाइ चाहिं एउटा हाइपर मार्केटमा सामान ओसारपसार गर्ने काम गर्दा रहेछन् ।
दुवै पात्रको कथा भिजिट भिषाकै रहेछ । उनीहरु पनि मन लागे गर्ने र मन नलागे छोड्न पाइने अनी कमाई पनि हुने आश सहितको भिजिट भिषाले लोभ्याएर युएई उत्रिएका रहेछन् । दाजु दुई बर्षदेखि दुवईमा भाग्य अजमाइरहेका रहेछन्, भाइ आएको भर्खर १० महिना भएछ । दाजु कमाइबाट सन्तुष्ट, भाइले भनें दुईवटा कम्पनी फेरेर तेश्रो खोज्दै छन् । निक्कै फरासिला निमलालले भिजिटमा युएई उत्रिंदाको कथा सुनाउन खोजे ।
युएईमा एकबर्ष अघि देखि नै कार्यरत दाजु दिनेशले भिजिटमा आउँदा राम्रो हुन्छ भनेपछि दाजुले नै समातेको दलालको फेरो समात्दै निमलाल त्रिभुवन विमानस्थल पुगे । भर्खरै जुँगाको रेखी बसेका निमलालसँग दलालले १ लाख ५० हजार लिए युएई पठाउने प्रवन्ध मिलाएको थियो । साथमा १ हजार डलर दलालले नै दिएर पठाएका थिए । नेपालको अध्यागमन काटिसकेपछि हुलिया बताएको एकजनाले आएर ५ सय डलर फिर्ता लिए । बाँकी ५ सय डलरको भनें अलग्गै ५० हजार पहिले नै लिएका थिए दलालले । त्यसैले युएई उत्रिंदा साथमा थियो ५ सय डलर र अव खल्तीमा दाम खाली नहुने सपना । तर सोचे जस्तो भएन ।
युएई उत्रिएपछि उनले दुई कम्पनी फेरिसके । तेश्रो खोज्दै छन् । अर्थात उनको कमार्ई भएन । त्यसैले युएईको भिजिट भिषा उनका लागि नखाउँ त दिनभरीको शिकार खाउँ त कान्छा बाउको अनुहार भएको छ । तर पनि तकदीर अजमाउँदै छन् उनीपनि । नेपालीको हुलमा जता पुगेपनि र जोसँग कुरा गर्दा पनि उहि भिजिट भिषावालाकै बाहुल्यता थियो । केहि चाहिं तनुवा भिषामा आएकाहरु भेटिए ।
भिजिट भिषामा आएका मध्ये कतिपय सन्तुष्ट रहेछन् । मेनपावर कम्पनीले राम्रै कमाईको आश देखाएर पठाएकाहरु युएई उत्रिएपछि साह्रै न्यून तलवमा बँधुवा मजदुर भएको देखेका उनीहरु आफूहरु भिजिट भिषामा आएर राम्रै गरेको ठान्दा रहेछन् । तर आफूहरु नेपालको कानून अनुसार अवैध भएको चाहिं प्राय:लाई हेक्का हुँदो रहेछ । त्यसबाट आइपर्ने सम्भावित जोखिमका बारेमा थोरैतिनो जानकार उनीहरु भिजिट भिषाको यात्रालाई ‘बाध्यताको उपज’ ठान्दा रहेछन् ।
तर हिजोआज भिजिट भिषाको जोेखिम पनि उति फलिफापपूर्ण भनें छैन । “काम नै पाईंदैन” त्यहि नेपाली चोकमा भेटिएकाहरु भन्दै थिए । त्यसरी भिजिट भिषामा नै आएकाहरु शुक्रवारे भेटमा आफ्नो फोन नम्वर छोड्दै हिंड्दा रहेछन् । “आज मात्र दुईजनाले सीभी(व्यक्तिगत विवरण) दिएर गएका छन्, काम भए खवर गरिदिनु भनेर” निमलालले हाँस्दै भने “आफैं त महादेव, उत्तानो टाङ ।”
बरदुवईमा हामीले खोजेजस्तो नेपाली साह्रै थोरै भेटिएपछि पत्रकार साथिहरु लक्ष्मण खनाल, भूपराज बस्याल, मोहन बस्याल र पंक्तिकार सारजहाको ईण्डष्ट्रियल एरिया १५ तिर दौडियौं । त्यहाँको एक नेपाली सुपरमार्केटमा केहि नेपाली काम गर्ने सुचनाका आधारमा उनीहरुलाई भेट्न । तर त्यहाँपुगेपछि थाहा भयो, त्यहाँ कार्यरत शतप्रतिशत नेपाली भिजिट भिषामा आएका रहेछन् । सुन्दै अचम्म । त्यहाँका एक सुपरभाइजरले यसो भनेपछि त्यहाँ काम गर्ने नेपाली युवतीहरुलार्ई पनि सोध्यौं । उनीहरु सवैको उत्तर आयो “हामी त भिजिटमा आएको ।”
भिजिट भिषाको जोखिमका बारेमा नेपालमा र युएईमा उत्तिकै छलफल चल्छ । सञ्चार माध्यमहरुले यसका बारेमा पर्याप्तमात्रामा लेखिरहेका पनि छन् । तर पनि युएईको एउटा असाध्य रोग भएको छ भिजिट भिषा । युएईमा कार्यरत नेपाली समुदायका अगुवाहरु यसले निम्त्याएको समस्यामा चिन्तित छन् । दुतावास, एनआरएनए लगायतले पनि भिजिट भिषामा आएकाहरुलाई आइपर्ने समस्यामा केहि गर्न सकिन्न भनेर बेला बेलामा तर्साउँछन्, यसमा केहि कमि होला की भनेर । तर भिजिट भिषा खोलोबाट खहरे भएको छ तर बाढी रोकिएको छैन । अनेक उपाय गरेर भिजिट भिषामा उत्रिनेहरु उत्रिरहेकै छन् । यसले सम्भावित जोखिम अझ बढाएको छ ।
एउटा शुक्रवारे दौडधुपमा देखिएको तस्वीरले भिजिट भिषाको कारोवार रोक्न गरिएको हालसम्मको प्रयत्न पर्याप्त भएन भन्ने देखाउँछ । हालसम्मको प्रयत्नले समस्या बीसको उन्नाइस त भएको होला तर धेरै ठूलो परिवर्तन देखिन्न । यसका लागि सचेतनामूलक कामसँगै नेपालमा अझ धेरै प्रयत्न गर्न जरुरी देखिन्छ ।
यो पनि पढ्नुहोस् छोरा, आमाबाबुको मुख हेर्न भएपनि घर फर्क