
काठमाडौं, जेठ १५-
हाल रोक्का रहेको घरेलु कामदारको श्रम स्वीकृति तत्काल नखुल्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा यस विषयमा पछिल्लो समयमा भएका केहि छलफल पश्चात अझ गम्भीर गृहकार्य गर्नुपर्ने निश्कर्ष निस्किएका कारण घरेलु कामदार सम्वन्धि विषयमा तत्काल नयाँ निर्णय हुने सम्भावना कमजोर छ ।
मन्त्रालय श्रोतका अनुसार पछिल्लो समयमा मन्त्री गोकर्ण विष्टले केहि विज्ञहरुसँग यस विषयमा छलफल गरेका थिए । तर छलफलमा सहभागिहरु मध्ये अधिकाँशले बलियो संयन्त्र नभई बन्देज खुल्ला गर्दा समस्या हुने सुझाव दिएपछि मन्त्री विष्ट पनि यसलाई तत्काल कुनै नयाँ निर्णय नगर्ने निश्कर्षमा पुगेका हुन् । छलफलका एक सहभागिका अनुसार मन्त्री विष्टले एक पटकका लागि पुनः श्रम स्वीकृति दिने विषयमा पनि सुझाव मागेका थिए । त्यसमा पनि राम्रोसँग अध्ययन गरेर मात्र निर्णय गर्नु उपयुक्त हुने सुझाव दिइएको थियो । एक पटकका लागि पुनः श्रम स्वीकृति दिंदा घरेलु कामदारका रुपमा जान दिइनु पर्ने पक्षमा लविईङ गर्दै आएका राष्ट्रियस्तरका गैरसरकारी संस्थाहरु र व्यवसायी तथा अन्तराष्ट्रिय संघसंस्थाको दवाव अझ बढ्ने मन्त्रालयको बुझाई छ ।
यसबारेमा मन्त्री विष्टले भनें आवश्यक परामर्श भइरहेको र तत्काल कुनै निश्कर्षमा पुगि नसकेको बताए । यसअघि झण्डै एक महिना अघि मन्त्री विष्टले छिट्टै एक पटकका लागि पुनः श्रम स्वीकृति दिने योजना सुनाएका थिए । तर उनको पहिलेको प्रतिवद्धताका विषयमा पनि उनले थप बोल्न चाहेनन् ।