काठमाडौं, जेठ १२-
नेपाली श्रमिकलाई रोजगारीका लागि मलेसिया पठाउन व्यवसायीले लिने पूर्व स्वीकृति रोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्कालका लागि पूर्व स्वीकृति दिन रोकेको हो ।
मन्त्रालयले बैदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै बायोमेटिक, ओएससी, जिएसजी, माइग्राम लगायतका संस्थाहरु खारेज गरेपछि हालका लागि पुर्व स्वीकृति पनि बन्द गरेको हो । मन्त्रालयले श्रमिक ठग्ने काम नियन्त्रण गर्न कडा रुप अपनाएपछि सुरुमा व्यवसायीले मलेसियाको नेपालस्थीत दूतावास मार्फत दवाव दिन खोजेका थिए । तर श्रम मन्त्री गोकर्ण विष्ट र गृहमन्त्री रामबहादुर थापा, वादलले कडा कदम चालेपछि कामदारसँग रकम उठाउन विभिन्न संस्था खोलेर बसेका व्यवसायीको भागाभाग भएको छ ।
नेपालले अवैधानिक भन्दै ति संस्था खारेज गरेपनि हालसम्म मलेसियाले खारेज गरेको छैन । मलेसियाको सरकारी निकायसँग पहुँच बनाएर नै रकम उठाउन संस्था खडा गरिएका कारण हाल मलेसिया जाने नेपाली कामदारको जाने प्रकृया यसअघि नै अवरुद्ध भइसकेको छ । हाल मलेसिया नेपाली श्रमिकका लागि पहिलो गन्तव्य मुलुक हो ।
