
इलाम, जेठ ८–
इलाम नगरपालिका–१० गोदकका भाष्कर भारद्वाज पेसाले शिक्षक हुन्। तर, स्थानीय आधारभूत विद्यालयको प्रधानाध्यापक रहेका भाष्कर अहिले मौरीपालक किसान पनि भएका छन्।
घरपरिपरि २० भन्दा बढी घार राखेर व्यावसायिक मौरीपालन गरिरहेका भाष्करले मौरी पालेवापत विद्यालयमा गयल पनि हुनुपर्दैन। आफ्नो पूरा समय उनी विद्यालयलाई नै दिन्छन्, घरमा राखिएका मौरीको चाहिँ रेखदेख मात्रै गरे पुग्छ। ‘मौरीपालन सबैभन्दा सजिलो व्यवसाय रहेछ,’ उनले भने, ‘घार किनेर राखेपछि मह काढ्न मात्र पुग्दा हुन्छ, मौरीलाई न कुनै स्याहार गर्नुपर्छ, कुनै मलजल नै।’ एकपटक घार किनेर राखेयता बिहान–बेलुका, त्यो पनि कहिलेकाहीं हेरचाह गरेकै भरमा मौरीपालन आफैं व्यवसाय बनेको उनले सुनाए।
२ वर्षअघि उनको घरमा २ घार मौरी मात्रै थिए। तिनै घार फुटाएर अर्कोमा विस्तार गर्दै उनी मौरीपालनलाई व्यवसाय नै बनाउन सफल भएका हुन्। ‘थप ३ घार मौरी इलामबाट किनेर ल्याएँ, अहिले पुरानै घारबाट बढाएर २१ घार पु¥याएको छु,’ उनले भने, ‘घरपरिपरि अहिले मौरीका घार छन् ।’ मौरीसहितको प्रतिघार ८ हजार र खाली घार किन्न ४ हजार रुपैयाँ लाग्ने गरेको भारद्वाजले बताए। ‘मौरीका लागि लगानी गर्ने भनेको घार किन्न मात्रै हो,’ उनले भने, ‘आफूले गरिरहेकै खेतीमा फलफूल, फूललगायतका बिरुवा अलि बढी रोपिदिँदा मौरीलाई रस चुस्न सजिलो हुन्छ तर अन्य लगानी यसलाई गरिरहनुपर्दैन। मौरीकै लागि दिनहुँ खटिरहनु पनि पर्दैन।’
अहिले उत्पादन भइरहेको मह मेची राजमार्गको किनारमै रहेको उनको घरबाटै प्रतिकिलो १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ।एउटा घारबाट वर्षमा १५ किलोसम्म मह उत्पादन हुने गरेको उनले बताए। एउटा घारबाट वर्षमा ३ पटकसम्म मह काढ्न सकिन्छ। २१ वटै घारबाट पूरा मह उत्पादन हुन थालेपछि वार्षिक करिब ३ लाख रुपैयाँ आम्दानी गर्न सक्ने उनको अनुमान छ। नागरिकबाट