
प्रेमनाथ वाग्ले, काठमाडौं-
नेफ्स्कुन बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संस्था हो । हामीले विभिन्न संघसंस्थाहरुसँग मिलेर पनि काम गरिरहेका छौं । बैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारलाई नै लक्षित गरेर हामीले हेल्भेटासको सामी परियोजनासँग मिलेर विप्रेषण प्राप्त गर्ने परिवारको सदस्यलाई पैसा भनेको के हो, यसलाई कसरी प्रयोग गर्यो भनें भविष्य राम्रो हुन्छ भनेर सिकाउन हामीले वित्तिय साक्षरताका कक्षाहरु प्नि चलाइरहेका छौं ।
वित्तिय साक्षरताले बैदेशिक रोजगारको मात्र कुरा गर्दैन यसले समग्रमा पैसा व्यवस्थापनको कुरा गर्छ जुन सवैलाई जरुरी छ । त्यसैले सहकारीका सदस्यहरुलाई यो ज्ञान दिन तालिम निर्देशिका पनि बनाएका छौं । हामी हाम्रा सदस्य सहकारी मार्फत आम सदस्यसम्म पुगिरहेका छौं ।
फजुल खर्च भन्ने हिजोआज धेरै सुनिन्छ । आम्दानी बढीसकेपछि खर्च गर्ने मन बढ्नु चाहिं स्वभाविक नै हो । शिक्षाका लागि होस्, स्वास्थ्यका लागि होस् वा सुविधाका लागि होस् आन्तरिक बसाई सराई असाध्यै बढेको पाइन्छ । गाउँमा हामी वित्तिय साक्षरताका कक्षा चलाउन जाँदा काम गर्ने उमेर समुहका मान्छे एकदमै कम पाउँछौं र अर्धशहरी क्षेत्रमा बसाई सराई बढी भएको पाउँछौं ।
गाउँबाट शहर पस्ने वित्तिकै नुनदेखि सुनसम्म किनेर चलाउनु पर्दछ । बालबालिकाको शिक्षा लगायतमा खर्च पनि बढी नै हुन्छ शहरमा । त्यसैले स्वभाविक रुपमा खर्चमा बृद्धि हुन्छ । यसमा हामीले ध्यान दिनुपर्ने कुरा चाहिं के छ भनें अपेक्षा बढेको छ तर त्यो अपेक्षा पुरा गर्न सधैं बैदेशिक रोजगारमा मात्र निर्भर हुनु परेको छ । विदेशबाट पैसा आयो चल्यो, नत्र चलेन । त्यसैले जहाँ बसेपनि कमाउने केहि उपाय खोज्नु पर्दछ । विदेशको कमाई साह्रै दुःखको कमाई हो भन्ने कुरा नेपालमा बस्नेहरुले बुझ्नु पर्यो । एकल कमाईले घरपरिवारको सम्पूर्ण आवश्यकता पुरा हुन मुस्किल हुन्छ । त्यसैले पनि नेपालमा बस्नेहरुले पनि आम्दानीका कुनै न कुनै काम गर्नुपर्दछ । विदेशको कमाईमा मात्र भर पर्नु भनेको सो व्यक्तिलाई सधैंभरी विदेशमा नै राखिरहनु हो । बढेको खर्च धान्न नेपालमा बस्नेले केहि न केहि कमाईको अवसर सिर्जना गर्नै पर्दछ । श्रीमान् विदेशमा हुनुहुन्छ भनें नेपालमा बस्ने श्रीमतिले वा श्रीमति विदेशमा हुनुहुन्छ भनें नेपालमा बस्ने श्रीमानले यसरी काम गर्न जरुरी छ । हामी यहि कुरा वित्तिय साक्षरताका कक्षामा सिकाइरहेका छौं ।
कुन खर्च नगरी नहुने हो र कुन खर्च नगर्दा पनि हुने हो भन्ने कुरा सहज रुपमा सिकाउन हामीले खर्चका रंगहरु भन्ने विधि प्रयोग गर्दछौं । खर्चका तीनवटा रंगहरु हुन्छन् भन्ने गर्दछौं हामी । जीविकोपार्जनका लागि नगरी नहुने खर्चहरु जस्तै गाँस, वास र कपासका खर्चलाई हामी हरियो रंगमा राख्दछौं । भोजभतेरमा जाने, बर्थ डे मनाउने खर्चलाई हामी पहेंलो खर्चमा राख्छौं अर्थात यी खर्च नियन्त्रित रुपमा गर्नुपर्ने खर्चहरु हुन् । अनी जसले स्वास्थ्यको हानी गर्दछ र पैसा पनि खर्च हुन्छ त्यसलाई हामी रातो खर्चमा राख्दछौं । तास खेल्नु, जाँड, रक्सी, चुरोट खानु यस अन्तर्गत पर्ने खर्चहरु हुन् । व्यक्तिको आम्दानी अनुसार कहिले काहिं पहेंलो खर्चहरु रातो खर्चमा पनि पर्नै सक्दछ । खानपानको कुरामा पनि असाध्यै धेरै माछामासु खाने, मिठो नै खानु पर्ने कुरालाई पनि नियन्त्रण गर्नुपर्दछ । खर्चको रंग विधिले असाध्यै राम्रोसँग काम गरेको छ । हामीसँग तालिम पश्चात आएको परिवर्तन साह्रै राम्रो छ । तालिम पश्चात आम्दानी, खर्च लेखेर राख्नेहरुको संख्या ९५ प्रतिशतसम्म पुगेको छ, योजना बनाउने गरेको देखिएको छ । यो धेरै सकारात्मक कुरा हो ।
मेरो अनुभवमा जुन परिवारले विदेशबाट आफन्तले पठाएको रकम लगानी गरेर केहि काम गर्न थालेको छ, त्यस्तो व्यक्ति पुनः विदेश जान रोकिएको पाएको छु । जस्तो परिवारको सदस्य विदेशमा हुँदा दुईवटा गाई पाल्न थालेको छ भनें विदेशबाट आएको व्यक्तिले नेपाल आइसकेपछि त्यो देखेर ओहो, अरु दुईवटा गाई थप्दा त मैले विदेशमा कमाएजति नेपालमा पनि कमाउन सक्ने रहेछु भन्ने अनुभुत गरेर नेपालमा नै काम थालेको देखिएको छ । तर जसको परिवारले नेपालमा थप काम केहि गरेको छैन त्यस्तो व्यक्तिको बैदेशिक रोजगारका चक्र चलिरहेको देखिन्छ ।
विदेशमा भएका व्यक्तिसँग उपहार ल्याइदेउ भनेर माग नगरौं । उपहारमा नै धेरै खर्च हुने गरेको छ । त्यसैले उपहारको सट्टा पैसा नै पठाउन प्रेरित गरौं ताकी उ नेपाल फर्केपछि स्वदेशमा नै कुनै रोजगारीको अवसर प्राप्त होस् ।
(वित्तिय साक्षरताका प्रशिक्षक वाग्लेसँग गरिएको कुराकानीको सम्पादित अंश शनिवार विहान ९:१५ देखि १० बजेसम्म प्रशारण हुने कार्यक्रम सुनौलो मौकामा प्रशारण गरिएको छ । प्रकाशित मिति २०७५ बैशाख ३०)
यो पनि पढ्नुहोस् विदेशमा मन मिल्यो, नेपालमा सुरु भयो सामुहिक व्यापार