
काठमाडौं, बैशाख २७-
नेपालमा कृषि विकासका लागि विभिन्न क्षेत्रमा सहयोग गर्न इजरायल सरकार सहमत भएको छ । नेपाली प्राविधिक तथा कृषकको क्षमता अभिवृद्वी गर्न, नयाँ प्रविधिमा आधारित अध्ययन र तालिम तथा प्राविधिक सहयोग गर्न इजरायल सरकार सहमत भएको हो । इजरायल भ्रमणमा रहेका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल र इजराली समकक्षी उरी एरियलबीच भएको भेटमा यस्तो सहमति भएको हो ।
त्यसका लागि थप छलफल गरी सम्झौता गर्न आगामी एक महिना भित्र दुई देशका कृषिसँग सम्बन्धित विज्ञहरूको संयुक्त टोलीको संलग्नतामा नेपालले आफ्नो कार्ययोजना सहितको खाका तयार पार्नु पर्नेछ । उक्त खाकामा दुबै पक्षबीच छलफल भई कृषि विकासको सहयोग आदानप्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर हुने भेटमा सहभागि कृषि मन्त्रालयका उपसचिव अर्जुन भण्डारीले जानकारी दिए ।
त्यसका साथै नेपालको कृषि विकासलाई व्यवसायिक र आधुनिकिकरण गरी उत्पादकत्व वढाउने विषयमा पनि दुई देशका मन्त्रीबीच छलफल भएको छ । भेटमा मन्त्री खनालले नेपालका सबै प्रदेशमा एक एक वटा इजरायलको कृषि विकासमा सफल भएका नमूना र एकिकृत आधुनिक कृषि फर्म सञ्चालनका लागि आर्थिक र प्रविधि सहयोग गर्न पनि आग्रह गरेका छन् ।
भेटमा कृषि यान्त्रिकिकरणको लागि नेपालमा एक ठूलो यन्त्रशाला निर्माण, साना सिंचाई प्रविधि, कृषि उपजको क्षति न्यूनिकरण, कोल्ड चेन, ग्रेडिङ र प्याकेजिङ प्रविधि स्थापना तथा क्षमता अभिबृद्धि लगायतका विषयमा पनि छलफल भएको छ । इजरायलमा नेपालको बजार पहुँच र दुई देश बीचको अन्तराष्ट्रिय कृषि व्यापार प्रवद्र्धन लगायत विषयमा पनि छलफल भएको सहभागि उपसचिव भण्डारीले बताए ।
सम्झौतापछि इजरायलमा कृषि प्रविधिमा नयाँ व्यवहारिक ज्ञानको प्रयोगको सिकाई नेपाली किसानहरूले सिक्नेछन् । नेपालको साना किसान विकास बैंक र ईजरायलको सेदोत नेगेभ क्षेत्रीय परिषद् बीचको समझदारीअनुसार नेपाली युवायुवतीलाई ईजरायली कृषि प्रविधिको विषयमा तालिम प्रदान गरी दक्ष बनाउने काम जारी रहेको छ । सन् २०१६ मे महिनासम्ममा २ हजारभन्दा बढी नेपाली युवायुवती लाभान्वित भई स्वदेश फर्केर कृषि व्यवसाय सञ्चालन गरिरहेको कृषि मन्त्रालयले जनाएको छ ।
२० औं अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी ‘एग्रीटेक २०१८’ मा सहभागि हुन मन्त्री खनाल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, राजदुत निरञ्जन थापा, मन्त्रालयका नीति तथा बैदेशिक सहायता डिभिजनका सहसचिव, उपसचिव लगायतको टोली अहिले इजरायलमा छ । सम्मेलनमा विश्वका ४० देशका कृषि मन्त्री र ३०० भन्दा वढी कृषि विज्ञहरुको सहभागिता रहेको छ ।
यो पनि पढ्नुहोस् घर गएर पुनः युएई फर्किन पाउने खवरले दियो उत्साह