घर गएर पुनः युएई फर्किन पाउने खवरले दियो उत्साह 

राजा बगर, युएई, बैशाख २६

सरकारले छिट्टै घरेलु कामदारका लागि एकपटकका लागि पुनः श्रम स्वीकृति दिने खवरले युएईमा घरेलु कामदारका रुपमा कार्यरतहरुलाई खुशी तुल्याएको छ । उनीहरुले घर गएर पुनः काममा फर्किन पाउने भन्दै खुशी व्यक्त गरेका छन् ।

श्रम। रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हप्ता दशदिन भित्रै कुनै महत्वपूर्ण निर्णय हुने भन्दै घरेलु कामदारका लागि एकपटकका लागि पुनः श्रम स्वीकृति दिने तयारी भइरहेको समाचार मंगलवार देशपरदेशले लेखेको थियो । सो समाचारले घरेलु कामदारका रुपमा कार्यरत र पुनः रोजगारीमा फर्किन नपाउने बाध्यताका कारण घर फर्किन नपाएकाहरुलाई धेरै राहत दिएको छ ।

हेर्नुहोस् यस बारेमा व्यक्ति केहि विचारहरु, जस्ताको तस्तै

संगिता सोति, तनहुँ, हाल दुवई

नेपाल सरकारले घरेलु कामदारका रुपमा काम गर्न आएकाहरुलाई दिएको सजाय भनिसाध्य छैन । आफ्ना श्रीमान र छोराछोरी विरामी पर्दा वा मृत्यु हुँदा समेत आफ्नो देश गएर पुनः रोजगारमा आउन दिएको छन । यो ठूलो अन्याय हो । हामी दोषि छौ भने अझै सजाए देउ सरकार । हैन भने हाम्रो अधिकारको हनन गर्नु भएन ।

कि हामीलाई देशमै रोजगार देउ हामी महिलाहरु पासपोर्ट र आँखा भरि छोराछोरीको मायाको आँसु बगाउदै खाडि मुलुक आउने रहर पक्कै होइन। काम गरेर खान देउ सरकार ।

दलालहरुले केहि महिलाहरुलाई बेचेको र ठगेको पनि छ । दलाल नियन्त्रण गर्ने काम सरकारको हो। २/४ जना महिलाहरुले दुःख पाए भन्दैमा आम घरेलु कामदार माथि श्रमको रोक्का लगाउनु कहाँसम्मको न्याय हो सरकार ?

सक्छौ भने दलाललाई कारबाहि गर, हामी गरिखान आउनेहरुलाई होइन । त्यसैले हाम्रो आग्रह पुनः श्रम खोलियोस । यो असार साउनमा घरेलु कामदारहरुको बिदा हुन्छ । हामी सबै हाँसीखुसी घर फर्केर काममा आउन पाउँ ।

सरस्वति गैरै, पाल्पा, हाल दुबई

घरेलु कामदारलाई सरकारले निक्कै अन्याय गरेको छ। न स्वदेशमा रोजगारी छ न बिदेशमा आएर काम गरेर घर बिदामा जान दिएको छ। २/४ बर्षसम्म एउटी आमाले आफ्ना सन्तानहरु भेट्न नपाउँदाको पिडा सरकार चलाउनेहरु र सरकारी पुरुष कर्मचारीका श्रीमतिहरुलाई सोध्नु न ।

सरकारमा बस्नेहरु सबै बाउआमा भएका मान्छे हुन् । सन्तानको माया के हो भन्ने उनीहरुलाई पनि थाहा छ । तर हामी हाम्रो गाउँघरमा राम्रो भविष्य नदेखेर बिदेश आएर आफु खुसी नेपाल जान र आउन नपाउनु निक्कै दुर्भाग्य हो। सरकारले श्रम छिटो खुलोस र आम जनताहरुको खुसीमा सामेल होस। 

देवी दाहाल, स्याड्जा हाल दुबई 

सरकारले घरेलु कामदारको श्रम स्वीकृति रोकेर यहाँ विकराल समस्या निम्त्याएको बन्देजकै कारण धेरै मेहनती तर नेपालमा कमाउने अवसर नपाएका महिला दिदीबहिनीहरु जोखिम मोलेर अवैधानिक बाटो हुँदै विदेशिक खोज्दा कतिको ज्यान गएको भने कतिपय शारिरीक शोषणको सिकार भएका छन यदि सरकारले पुनः श्रम स्वीकृति दिएमा थुप्रै महिलाले विदेश आएर आफ्नो गुजारा चलाउने थिए उनीहरुले कमाएर पठाउने रेमिट्यान्स पनि मुलुक भित्रिने यति मात्र नभई श्रम स्वीकृतिलाई सहज बनाउने हो भनें दलालको फन्दामा परेर नेपाली महिलाहरु बेचिनु पर्ने थिएन

मिना खड्का, पोखरा, हाल दुबई

सरकारले पुनः एकपटक मात्र श्रम स्वीकृति खोल्ने नभई बैदेशिक रोजगारको उचित कानुन मुल्याकन गर्न जरुरी छ। अशक्त श्रीमानका कारण धेरै महिला बिदेशिएका हुन्छन आफ्नो सन्तानलाई राम्रो खुवाउन उचित शिक्षा दिन कुन आमा पछि परेको हुन्छ ?

सरकारले तुरुन्त श्रम खुलोस आफ्नो इच्छाले पुनः रोजगारमा आउन चाहने महिलाहरुलाई श्रम स्वीकृति दियोस् नयाँ कामदारलाई उचित तालिम दिएर दलाल मार्फ़त होसियार रहने गरी तयारी गरेमा राम्रो हुन्छ

मञ्जु कँडेल, पाल्पा, हाल युएई

श्रम, रोजगार मन्त्रिज्यू दुर्इ हात जोडेर नमस्कार। के भनेर शुरु गरौ खै ? बिगत ९ बर्षदेखि दुबईमा रोजगारीको शिलशिलामा छु । यहाँ म जस्तै हजारौ दिदिबहिनी काम गरिरहनु भएको छ। यहाँ नेपाली मात्र हैन हरेक देशका नारिहरु आफ्नो योग्यता अनुसारको काम गरिरहेका छन् । तर हाम्रो देशको सरकारबाट समय समयमा फेरिरहने कानुनले हामीहरु धेरै पिडित छौ।सजाय त गल्ती गर्नेले पाउने हो हैन र मन्त्रि ज्यू ?

मन्त्रि ज्य, सरकारले लगाएको बन्देजले कतै दलालहरुले मौकाको फाइदा लिइरहेका त छैनन ? विचार गरौं । हामि छुट्टीमा नेपाल आएर फर्किन पाउँदैनौं । फर्किन सक्छौ त केवल दलाल र एअरपोर्टका कर्मचारीलाइ पैसा बुझाएर ।

बालबच्चा, परिवार, जन्मभूमि छोडेर परदेशी हुनुमा हामी खुशी छैनौ । खुशी त यहि कुराको छ केवल हामीले अर्काको देशमा दुःख गरेका छौ र आज हाम्रा छोराछोरीको बिहान साँझ पेट भरिएको छ । स्कुलको ढोका खोलिएको छ ।  भाडामा भएपनि बास मिलेको छ। श्रम खुल्ने समाचारले हामी हर्षित छौं । हामी घर पुगेर फेरी काममा फर्किन्छौं । श्रम खोलिदेउ सरकार । 

यो पनि पढ्नुहोस् घरेलु कामदारलाई एकपटकका लागि पुनः श्रम स्वीकृति दिने सरकारको तयारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय