हुन त तपाई जागिर खाने की ? विदेश जाने की ? अथवा स्वदेशमा नै स्वरोजगार पो हुने की भन्ने तपाईको रुचिमा भर पर्ने कुरा हो । तपाई स्वरोजगार बन्छु, आफैं उद्यमी बन्छु भन्ने योजना बनाउँदै हुनुहुन्छ भनें तपाईले काम सुरु गर्नु अघि केहि कुरा बुझ्नु राम्रो हुन्छ ।
उद्यमी बन्न चाहनेहरुलाई लगानी गर्ने पैसाको नभई के गर्ने भन्ने योजना अथवा कामको टुँगो लगाउनु र त्यसमा दृढ भएर लाग्नु ठूलो कुरा हो । यसैगरी आफूले गर्ने काममा सुरुमा कसै न कसैको रेखदेख, सल्लाह, सुझाव लिनु राम्रो हुन्छ । उद्यमी बन्न चाहनेहरुलाई तालिम दिने र उद्यम सुरु गर्न सघाउने सिमित संस्था मध्येको एक हो अन्तरप्रेरणा । राजधानीको डिल्लीबजारस्थीत अन्तरप्रेरणाका प्रमुख कार्यकारी निरज खनाल सँग सुनिल न्यौपाने ले गरेको कुराकानी ।
तपाईहरुले कुनै व्यक्तिलाई उद्यमी बन्न सघाउने हिसावले कस्ता कार्यक्रम गर्नुहुन्छ ?
– विशेष गरी एउटा नव उद्यमशाला भयो जसले व्यापार व्यवसायलाई अलिकति ईथिकल, हेल्दी वे भन्छौं हामी कसरी गर्ने त ? समाजप्रति उत्तरदायी सरकारप्रति उत्तरदायी र आफ्ना ग्राहकप्रति उत्तरदायी भएर कसरी हामी काम गर्न सक्छौं भनेर हामी सिकाउँछौं । त्यसैगरी नयाँ आइडिया(विचार)हरु ल्याउनुपर्यो भनेर हामी कलेजहरुमा पनि हामीले ‘ईन्फरमेसन सेण्टर’, ‘विजनेश सेण्टर’ भनेर चलाइरहेका छौं । त्यसैले विचार लेभल देखि लिएर कलिकति ‘विजनेश’ गरिसकेका व्यक्तिहरुलाई ‘कोच’ गरेर हामी उनीहरुलाई ‘मेण्टर’ गरेर उनीहरुलाई लगानी ल्याउन सक्ने अवस्थासम्म सहयोग गरेर हामी काम गरिरहेका छौं ।
यो खालको संस्थाको आवश्यकता नै किन महशुश गर्नुभयो तपाईहरुले ?
– आर्थिक समृद्धिका कुरा हामी गरिरहेका छौं । आर्थिक समृद्धिको कुरा गर्दा सानो व्यापार सुरु गर्न लागिरहेकाहरुलाई अगाडी नल्याई त्यो सम्भव छैन । विश्वव्यापी अभ्यास हेर्दा पनि रुपमा धेरैजसो रोजगार सानो व्यापार व्यवसायले सिर्जना गरेको देखिन्छ । त्यसैले नयाँ ईन्नोभेसन र प्रव्लम सल्भरर्जहरु चाहिन्छ नेपालमा । समस्या त धेरै छ नेपालमा । त्यो समस्या समाधान गर्ने भनेको को हो त भन्दा उद्यमी हो । ति समस्या समाधान गर्ने उद्यमी अझ धेरै चाहिन्छ भन्ने हामीलाई लागेर हामीले यो संस्था सुरु गरेका हौं ।
तपाईहरुको संस्थामा निश्चित समय सिकेर गएका व्यक्तिहरु आफ्नो व्यापार, व्यवसाय, उद्यममा कसरी सफल भएका छन् ?
– हाम्रो तालिममा सहभागि गएर गएकाहरुको आफ्नो उद्यम, व्यवसायमा एउटा प्रष्टता देखिएको छ । म के गरिरहेको रहेछु भन्ने बुझ्न उहाँहरुलाई सहयोग पुगेको छ । पहिले चाहिं के गरिरहेको छु भन्ने मात्रै थाहा हुन्थ्यो, त्यसको सम्भवना के छ भन्ने बुझेर नहेर्नेहरुले पनि आफ्नो त्यसमा रुचि छ की छैन भनेर बुझ्न सक्ने भएका छन् हाम्रो तालिमका सहभागिहरु । हामीकहाँ एकजनाले मःमः पसल राख्यो भनें त्यहिसँगै अर्कोले पनि गर्ने चलन छ । त्यसैले मैले के गरिरहेको वा गर्न खोजिरहेको छु भन्ने कुरामा प्रष्टता ल्याउन हामीले मद्धत गरिरहेका छौं । त्यहि प्रष्टता आएकै कारण हामीसँग तालिम लिएका मध्ये ५–७ वटा कम्पनीहरुले लगानी जुटाइसकेका छन् । १५ लाख, २० लाख, ४० लाखसम्म पनि लगानी भित्रियाइसकेका छन् उनीहरुले ।
अर्को पक्ष वास्तविक कुरा राम्रोसँग बुझेपछि यो उद्यमशीलता भनेको मेरो रुचिको क्षेत्र होइन रहेछ । बरु म उद्यमीहरुलाई नै सहयोग गर्छु । व्यापार व्यवसाय गर्नु गाह्रो काम रहेछ, म अहिले तयार भएको छैन रहेछु भनेर पनि निस्कनु भएको छ । मान्छेलाई अलमलमा राख्नु हुन्न भनेर हामी उनीहरुलाई प्रष्ट बनाउने काम गर्छौं ।
तपाईसँगको कुराकानी पढिरहेको युवा जो उद्यमी बन्न चाहन्छ तर उसलाई ज्ञान छैन कसरी उद्यमी बन्ने भनेर । त्यस्ता युवालाई तपाई के भन्न चाहनुहुन्छ ?
– उद्यमशीलता भनेको आफूले के समस्या देखिरहेको छु आफैं, आफ्नो घर परिवार वा समाजमा त्यसको समाधान दिन खोज्ने उपाय हो । विचार कहिले काहिं ठूलो हुनसक्छ त्यसलाई ठिक आकार दिएर भोलीका दिनमा त्यसलाई व्यवसायीक बनाउने उपायका बारेमा हामी तपाईलाई सहयोग गर्न सक्छौं । सानो सानो चरण पार गर्दै कसरी अगाडी बढ्न सकिन्छ भनेर हामी उहाँलाई उत्प्रेरित गर्न सक्छौं । हाम्रो त नाम नै अन्तरप्रेरणा हो । विस्तारै उहाँको प्रतिवद्धता, लगनशीलता, परिश्रम हेरेर हामी लगानी पनि गर्न सक्छौं ।
त्यो त तपाईहरुको तर्फबाट गर्ने भइहाल्यो । कुनै व्यक्ति उद्यमी बन्न चाहन्छ भनें उसले आफूले गर्नुपर्ने प्राथमिक तयारी चाहिं के हो ?
– सुरुमा आफूले त्यो काम किन गर्न खोज्दै छु भनेर प्रष्ट हुनुपर्यो । अरुले गरेको देखेर सम्भावना रहेछ भनेर मात्र लाग्नु भएन । म भित्रै देखि यो काम गर्छु भनेर मेरो अन्तरप्रेरणा नै यहि हो भनेर आएको छ भनें चाहिं त्यो मान्छे अगाडी बढ्न सक्छ । ठूलो कुरा सोच्नु भन्दा पनि तपाईको योजनालाई कार्यान्वयन गर्न आजकै दिनमा सानो भन्दा सानो काम के गरेर त्यसमा केन्द्रीत भएर अगाडी बढ्न सक्नुभयो भनें त्यहि नै उद्यमशीलता हुन्छ ।
उद्यमी बन्न चाहने सुरुवाती चरणका मान्छेहरुलाई पर्ने चुनौतिहरु के हुन् ?
– विचारमा नै प्रष्टता हुँदो रहेनछ । उहाँ चाहिं पैसा भएन भनेर आउनुहुन्छ तर पैसा होइन विचार नै प्रष्ट हुँदो रहेनछ । उत्पादन त एकदमै राम्रो हुन्छ तर मेरो सामान किन्ने प्राथमिक ग्राहक को हो भनेर समेत निक्र्यौल गर्न नसकेको अवस्था हुँदो रहेछ । अर्को कुरा आफ्नो व्यवसायीक साझेदार अर्थात समुहको सदस्य छनौट गर्न पनि गाह्रो भइरहेको हुँदो रहेछ । र, कहिलेकाहिँ चाहिं एकदमै धेरै विचारहरु भएर एउटामा केन्द्रीत हुन नसकिरहेको अवस्था पनि हुँदो रहेछ । यसैगरी यी सवै काम गर्न एउटा उपयुक्त सल्लाह र नियमित रुपमा अनुगमनको आवश्यकता आवश्यक पर्दछ । त्यो पनि नपाइरहेको हामीले देखेका छौं । सही मान्छेलाई गएर भेट्ने, सही सल्लाह लिने अवसर कम भएको देखिन्छ ।
तपाईहरुको संस्थामा त सवै मान्छे आइपुग्दैनन् । त्यसैले त्यस्ता व्यक्तिलाई तपाईको सुझाव के छ ?
– जसले व्यवसाय सुरु गर्ने योजना बनाउनु भएको छ तपाईले एकजना प्रशिक्षक(कोच) राख्नुस् जसले तपाईको कुरा र काममा सल्लाह, सुझाव दिन सकोस् । आफूले गरेका काममा यो ठिक छ र यो वेठिक भयो भनेर त्यो व्यक्तिले तपाईलाई सही बाटो देखाउन मद्धत गरोस्, हौसला दियोस् ।
उद्यमशील हुनु आफैंमा कत्तिको सजिलो, गाह्रो काम हो ?
– आफू जान खोजेको लक्ष्यमा आफू प्रष्ट छ, त्यसमा केन्द्रीत छ भनें गाह्रो केहि हुन्न । उद्यमी भनेकै समाधान दिने मान्छे हो । त्यसैले समाधान त खोज्दै जाँदो रहेछ । तर उ आफूले गर्न खोजिरहेको कुरामा प्रष्ट छैन, अरुले गरेको देखासिकि गरेर, यसमा भविष्य छ वा पैसा छ भनेर लागेको छ भनें त्यो पक्कै गाह्रो हुन्छ । तर आफू एकदमै प्रतिवद्ध छ, यो कुरा चाहिं मैले नै गर्नुपर्छ भनेर लाग्ने मान्छेहरुले चाहिं गरेको देख्छु ।
व्यक्तिगत रुपमा उद्यमी हुनु एउटा कुरा हो । तर हामीकहाँ त्यति धेरै प्रचलनमा नरहेको र हालसालै सुरु भएको अभ्यास सामुहिक लगानीको हो । यसको सजिलो, अप्ठ्यारो कस्तो देख्नुहुन्छ ?
– सामुहिक रुपमा काम गर्दा म कोसँग काम गर्दैछु भनेर एकदमै हेरेर काम गर्नुपर्दछ । हामीसँगै आइपुगेका कतिपय साथिहरु एकदम राम्रो उत्पादन लिएर आउनुहुन्छ तर त्यसको बजारमा विक्रि गर्न सकिरहेको हुनुहुन्न । किन भनेर खोज्दा सवैजना ईञ्जिनियरको समुह हुन्छ । उहाँहरुले राम्रो सामान त बनाउनुहुन्छ तर त्यो समुहमा बजारमा गएर बोलेर बेच्ने मान्छे हुन्न । त्यसैले समुह बनाउँदा फरक फरक सीप भएको व्यक्तिहरुको समुह बनाउँदा राम्रो हुन्छ ।
अहिले बैदेशिक रोजगारमा थुप्रै मान्छेहरु छन् जसले केहि पैसा कमाएका छन्, सीप आर्जन गरेका छन् । उनीहरुको फर्किने क्रम पनि बढेको छ । उनीहरुले नेपालमा काम गर्न सक्ने क्षेत्रहरु के हुनसक्न् ?
– हामीले त्यस्तै केहि साथिहरुलाई पनि लगानी गरेका छौं । पहिले उहाँहरुको एउटा दुःखद अनुभव रहेछ । पत्रकार साथिहरुले कृषिमा लगानी गरेर राम्रो आम्दानी गरेकाहरुको थुप्रै समाचारहरु प्रकाशन प्रशारण गर्नुभयो । त्यहि देखेर साथिहरुले बाख्रा, गाई पालनमा लगानी गर्नुभएछ जवकी विदेश बस्दा ५–७ बर्ष उहाँहरुले त्यहि काम गरेको थिएन भन्ने कुरा चाहिं विचार गर्नु भएनछ । त्यसैले नराम्रोसँग आफ्नो पैसा डुवाएर साथिहरु हामीकहाँ आइपुग्नु भएको थियो । पैसा छ भनेर मात्र हात हाल्नु हुन्न, त्यसअनुसार आफ्नो सीप पनि चाहिन्छ । विदेशमा बस्दा आफूले गरेको काम अनुरुप नै नेपालमा सम्भाव्यता देखेर काम गरिरहेका साथिहरु चाहिं खुशीसाथ काम गरिरहेको देखिन्छ र त्यस्ता साथिहरुलाई चाहिं हामी पनि सहयोग गरिरहेका छौं । त्यसैले आफूलाई के गर्न मन छ,, त्यो अनुसारको सीप छ की छैन आफूसँग, त्यो काम गर्न आफू कत्तिको प्रतिवद्ध हो भन्ने कुरा पहिले निक्र्यौल गर्नुपर्दछ । त्यसपछि त्यहि अनुसारको विविध क्षमता, सीप भएका साथिहरुको समुह बनाएर काम गरेमा सफलता प्राप्त हुन्छ ।
(काठमाडौं, डिल्लीबजारमा अन्तरप्रेरणा नामको संस्थाका प्रमुख कार्यकारी अधिकृत निरज खनालसँग गरिएको यो कुराकानीको संक्षिप्त अंश शनिवार विहान ९ः१५ देखि १० बजेसम्म प्रशारण हुने कार्यक्रम सुनौलो मौकामा गत हप्ता प्रशारण गरिएको छ । प्रकाशित मितिः २०७५ बैशाख २१)
यो पनि पढ्नुहोस् ‘मासिक ३०–३५ हजार कमाउँछु, ४ जनालाई १५–२० हजारको रोजगारी दिएको छु’
