
रञ्जना लम्साल, कावासोती, बैशाख १२-
वैदेशिक रोजगारमा गएर मृत्यु हुनेहरु मध्ये अधिकाँश ४० बर्ष मुनिका हुने गरेको देखिएको छ । सुरक्षित आप्रवासन, सुचना तथा परामर्श केन्द्र, कावासोतीमा विगत चार बर्षमा दर्ता भएका ८२ वटा घटना मध्ये अधिकाँश ४० बर्ष मुनिका रहेका छन् ।
सुचना केन्द्रमा दर्ता भएका बैदेशिक रोजगारका क्रममा मृत्यु भएका मध्ये २० देखि ३० बर्ष उमेर समुहका व्यक्ति १२ जना रहेका छन् । यसैगरी ३० देखि ४० बर्ष उमेर समुहका ५५ जना र ४० बर्ष माथिका १५ जनाको रहेको सुरक्षित आप्रवासन परियोजना, कावासोतीका कार्यक्रम संयोजक रितुराम सोती थापाले जानकारी दिए । वैदेशिक रोजगारीमा गएर जोखिममा पर्नेको तथ्याङ्कमा नवलपरासी पाँचौं जिल्लामा पर्दछ भने रोजगारीको सिलसिलामा विदेशमा मृत्यु हुने जोखिमको हिसाबले तेस्रो जिल्ला हो ।
यसैबीच गएको चार वर्षमा नवलपुर क्षेत्र (बर्दघाट सुस्ता पुर्व) बाट मात्रै वैदेशिक रोजगारीमा गएका मध्ये १ हजार २० जना समस्यामा परेको देखिएको छ । यो दर्ता भएको घटना मात्र हो । काम तलब फरक परेको, जेलमा परेको, घरेलु काममा पुगेकाको मानसिक तथा शारीरिक शोषणमा परेको, मृत्यु भएको, भिजिट भिषामा पुगेर फर्किन नसकेको, पैसा र पासपोर्ट फसेको लगायतका समस्या परेकाहरुले सहयोगका लागि निवेदन दिएको हिमालयन सामुदायिक बिकाश मञ्च हिकोडेफद्धारा सञ्चालीत सुरक्षित आप्रवासन परियोजना कावासोतीले जनाएको छ ।
विशेष गरी पैसा लिएर विदेश नपठाउने, समयमा तोके बमोजिम तलव नपाइने, भनेको भन्दा जोखिमयुक्त काम गर्नु परेको भन्दै निवेदन आउने गरेको भए पनि पछिल्लो समयमा भारतको बाटो भएर घरेलु काममा पुगेका घटना देखिएको छ ।
यसैगरी भिजिट भिषामा गएर बिदेशमा अलपत्र परेको, श्रम बजारको लागि नयाँ गन्तव्य जस्तै मकाउ, पोर्चुगल, पोल्याण्ड, टर्कीमा पठाउने नाममा ठूलो धनराशी बैदेशिक रोजगारमा जान चाहनेहरुसँग उठाउने र विदेश नपठाउने समस्या पनि बढ्न थालेको कार्यक्रम संयोजक थापाले बताए । अवैधानिक बाटो हुँदै बिदेश जाने र भिजिट भिषामा खाडीका मुलुकहरुमा पुगेकाहरुको उद्धारमा केहि अप्ठ्यारो भएपनि हालसम्म सुचना केन्द्र कावासोतीमा आएका समस्याहरुमा ७ सयको हाराहारीमा समाधान गर्न सकिएको उनको भनाई छ ।
सुचना तथा परामर्श केन्द्र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगरपालिका, गाउँपालिका, सामीका राष्ट्रिय साझेदार संस्थाहरु लगायतको सहयोगमा ७ सय जनाको समस्या समाधान हुँदा ९ करोडको हाराहारीका पिडितले आर्थिक साहायता पाएको परियोजनाका जिल्ला संयोजक उमा शर्माले जानकारी दिइन् ।
बैदेशिक रोजगारीमा जानका लागि अवैधानिक बाटो हँुदै जाने क्रम पहिला भन्दा केहि घटेको भएपनि सरकारले घरेलु कामदारको रुपमा काम गर्न श्रम स्वीकृती बन्द गरेपछि भारतको बाटो हुँदै बैदेशिक रोजगारीमा जानेको संख्या बढेको परियोजनाले जनाएको छ ।
दैनीक ३५/४० जनालाई परामर्श गर्ने गरेको सुचना केन्द्रमा पछिल्ला केहि महिनायता सरदर ३ जना भारतको बाटो भएर घरेलु कामका लागि जान लागेका महिला कामदार सुचना केन्द्रमा आउने गरेको परामर्शदाता यमकुमारी रानाले बताइन । उनीहरुलाई भारतको बाटो भएर नजान आग्रह गर्दै परियोजनाले सञ्चालन गरेको निःशुल्क तालिम गार्मेन्टमा पठाउन सहजीकरण गरिने र केहि महिला सो तालिम लिएर बिदेश गएको रानाको भनाई छ ।
यो पनि पढ्नुहोस् रहरले भन्दा पनि करले विदेशिनेहरु